बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

पाँच नम्बर प्रदेशका अधिकांश खेत बाँझै

दैनिक नेपाल २०७६ असार २६ गते १८:२२

-प्रतिक पौडेल
भैरहवा, २६ असार । असार महिना सकिन अब केही दिन बाँकी रहँदा पनि प्रदेश नं ५ का अधिकांश खेत बाँझै छन् । मनसुन ढिलो सक्रिय हुनु र सिचाइ अभावले प्रदेशमा रोपाइ प्रभावित भएको हो । अहिलेसम्म आकाशेपानीको भरमा रोपिने सबै खेत बाँझै छन । केही दिन देखि पानी परे पछि किसानलाई केही राहत भएपनि खडेरीका कारण धेरैजसो किसानले धानको ब्याडसमेत राख्न पाएका छैनन् । प्रदेश नं ५ कृषी विकास निर्देशनालयका यस वर्ष असार २५ नाघिसक्दा पनि मुस्किलले १७ प्रतिशत रोपाइ भएको छ भने गत आर्थिक बर्षको तुलनामा ३५ प्रतिशत मात्र रोपाई भएको छ ।

सिचाइ सुविधा भएका खोलानजिकका खेत बाहेक अन्य खेतमा रोपाइ हुन सकेको छैन । असाध्यै थोरै ठाउका खेत मात्र रोपिएका छन्, सिचाइ सुविधा नभएका खेतहरू सबै बाँझै छन्  ।

असार बित्नै लाग्दा समेत राम्रोसंग पानी नपरेपछि खेत बाँझै राख्नुपरेको किसान बताउँछन । आकाशे पानीमा निर्भर पर्ने किसानहरूको समस्या त छदै थियो । प्रदेश नं ५ मा मल अभाव भएपछि किसानहरु झनै मर्कामा परेका छन् । धान रोप्न चाहिने डिएपी मल सरकारले प्रयाप्त रुपमा उपलब्ध गराउन सकेको छैन ।

प्रदेश नं ५ कृषि विकास निर्देशनालयको तथ्याङ्क हेर्ने हो भने प्रदेश नं ५ मा ६ लाख ४१ हजार ७७ हेक्टर खेती योग्य जमिनमा १ लाख १२ हजार १ सय ७८ हेक्टरमा रोपाई भएको छ । गत आर्थिक बर्षमा ३ लाख १८ हजार ९ सय १० हेक्टरमा रोपाई भएको थियो । वरिष्ठ कृषि अर्थ विज्ञ भिमनाथ शर्माका अनुशार अहिले केही दिन देखी निरन्तर बर्षा भैरहेकोले रोपाई द्रुत गतिमा भएको जसका कारण बढ्ने संभावना रहेको बताए ।

प्रदेश नं ५ मा सबैभन्दा धेरै खेतीयोग्य जमिन कपिलवस्तु र रुपन्देहीमा रहेको छ । कपिलवस्तुको ८३ हजार हेक्टर खेतीयोग्य जमिन मध्य हाल सम्म १६ हजार ६ सय ५० हेक्टर (२०.१ प्रतिशत) मा मात्र रोपाई भएको छ जुन गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशत मात्र हो । यस्तै रुपन्देहीको ८२ हजार ६ सय २२ हेक्टर खेतीयोग्य जमिन मध्य हाल सम्म १८ हजार ५ सय २० हेक्टर (२२.४ प्रतिशत) मा मात्र रोपाई भएको छ जुन गत आर्थिक वर्षको तुलनामा २७ प्रतिशत मात्र हो ।

प्रदेशमा हाल सम्म बर्दिया जिल्लामा सबैभन्दा बढी ५६ प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम गुल्मी जिल्लामा ६ प्रतिशत रोपाई भएको छ । प्रदेश नं ५ का सबै जिल्लाको हेर्ने हो भने पाल्पा ९.६, अर्घाखाची ११.४, नवलपरासी पश्चिम १५.६, दाङ्ग १६.४, बाके १६.१, रुकुम पुर्व ७.७, प्युठान ११.४, रोल्पा ८.८ प्रतिशत रोपाई भएको छ ।

प्रतिक्रिया
सम्बन्धित