बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

काँग्रेसलाई सरकारका प्रवक्ताको प्रश्न : दिनभरि वीपी, रात परेपछि विप्लव हो ?

दैनिक नेपाल २०७६ असार २६ गते १७:०४


काठमाडौँ, २६ असार । सरकारका प्रवक्ता एवं सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई कडा प्रहार गरेका छन् ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको र पछिल्लो समय प्रहरीसँग भइरहेका मुठभेडका विषयमा काँग्रेसको धारणा स्पष्ट नभएको भन्दै उनले कडा प्रहार गरेका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा हिंसाबारे प्रमुख प्रतिपक्षको के हो भन्दै उनले भने, ‘दिनभरि वीपी, रात परेपछि विप्लव हो ?’

हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई काँग्रेसले एउटै नजरले हेर्ने हो भने काँग्रेस बेलैमा स्पष्ट हुनुपर्ने बताए । प्रवक्ताले बोलेपछि पार्टीकै कुरा हुने भन्दै उनी काँग्रेसप्रति आक्रामक भएका हुन् ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन काँग्रेसलाई आग्रह गरे ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाको समर्थनमा काँग्रेसले सदन अवरोध गरेको आरोप लगाउँदै उनले काँग्रेसलाई बेलैमा प्रष्ट हुन आग्रह गरे । उनले भने, ‘घेराबन्दीमा सरकार होइन । हिँसालाई प्रोत्साहन गर्ने र रमाएर जानुको अर्थ छैन । शान्तिपूर्ण रुपमा गर्न पाईने काम संविधानले प्रष्ट पारेको छ ।’

हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने उनले बताए । सत्ता पक्षले मृत्युको व्यापार होइन जीवनको निरन्तरता खोजेको पनि मन्त्री बाँस्काेटाले स्पष्ट पारे ।

यस्तै, उनले वर्तमान सरकारलाई ढालेर वा नेकपालाई फुटाएर फाइदा लिउँला भन्ने कसैले सोचेको छ भने त्यो सपना मात्र हुने उनको टिप्पणी छ ।

‘नेकपा फुट्ला र भ्यागुताको धार्नी पुर्याउँला भनेर कसैलाई लाग्या छ भने पाँच वर्षसम्म नकस्सिए हुन्छ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित