मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

विषादी परीक्षणमा गल्ती स्वीकार्दै प्रधानमन्त्रीले भने : मलाई झुक्याइएको रहेछ

दैनिक नेपाल २०७६ असार २६ गते १२:१७

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा क्षेत्रमा तरकारीलगायतका खाद्यान्नको प्रवेशका बारेमा भारतबाट पत्र नआएको भनेको प्रसंगमा गल्ती स्वीकार गरेका छन् ।

विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको बताउँदै प्रधानमन्त्री ओलीले पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको बताएका हुन् ।

‘अब एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन’,  नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा (बुधबार राति प्रसारित) बोल्दै प्रधानमन्त्री ओलीले भनेका छन्,  ‘कुटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने ओलीको आशंका छ । ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ । र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुर्थ्यो ।’

उनले एउटा यथार्थ आफूबाट लुकेको रहेछ भन्दै आफूले आएको छैन भन्दा जनतामा भ्रम पर्ने अवस्था उत्पन्न भएको र विरोधीले प्रचार गर्ने अवसर पाएको समेत जनाए । प्रधानमन्त्रीले सीमा क्षेत्रमा परीक्षणका लागि आवश्यक जनशक्ति र साधन नभएकाले अहिलेलाई स्थगन गरिएको बताउँदै यो कदम कुनै देश लक्षित नभएको समेत जनाए ।

उनले भारतका राजदूततर्फ संकेत गर्दै राजदूतबाट नै भित्रभित्रै कुरा भएको पछि थाहा पाएको तर आफूले बोलेको बेलामा जानकारी नभएको समेत उल्लेख गरेका छन् ।

विषादी परीक्षण स्थगितको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पनि पत्रकार सम्मेलन गरी कर्मचारीहरूले आफूलाई गुमराहमा राखेको बताएका थिए ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले खासगरी भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्राउन सुरु गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ गरेपछि भारतले पत्र पठाएरै र कर्मचारीहरुलाई भेटेर विषादी परीक्षण नगर्न दबाव दिएको थियो ।

यता, प्रधानमन्त्री ओलीले जनशक्ति र सो सम्बन्धी यन्त्र नभएको र त्यसको तयारी गर्नुपर्ने भएकोले अहिलेलाई परीक्षण गर्न नपाइएको जनाए । पहिला परीक्षण नगरी तरकारी रोक्नुमा भने मन्त्रालयले अनुपयुक्त सूचना र त्यहीअनुसार प्रस्ताव ल्याएको र अलिकति झुक्किएको बताएका थिए ।

उनले भारत तर्फ संकेत गर्दै कुनै देशलाई मात्रै लक्षित गरेर यो प्रक्रिया नचालिएको उल्लेख गर्दै थाइल्याण्ड, बंगलादेश, अमेरिका, ब्राजिल लगायतका सबै राष्ट्रबाट आउने सामानको परीक्षण हुने जनाए । उनले अहिले विष भित्र्याउन लागेको भनेर आफ्नो आलोचना गर्दै कोही राष्ट्रवादी पल्टिन खोजेपनि अहिलेकै सरकारले विश्व व्यापार संगठन (डब्ल्युटीओ)लाई पत्र पठाएर सबै सदस्य राष्ट्रलाई परीक्षण सम्बन्धी विषयमा भन्न आग्रह गरेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा पनि विषादी प्रकरणमा आफूलाई झुक्याइएको दोहोर्याएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताए ।

‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भनेका छन्, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’

प्रतिक्रिया
सम्बन्धित