आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

आइजी खनाललाई प्रश्न– न्याय खोज्दा ‘मिटरव्याज’मा पीडा भोग्नुपर्ने हो ?

विनोद ढकाल २०७६ असार २६ गते ११:४०

-विनोद ढकाल

केही दिन अघिमात्र ओम अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको गलत उपचारका कारण निधन भएको खबर आयो । पीडितले न्याय माग्नका लागि प्रहरी गुहारे । तर, प्रहरीले पीडितको उजुरी हैन, अस्पतालको सुरक्षा दियो । त्यसक्रममा पीडित परिवार र आफन्तको आन्दोलन दबाउनका निम्ति लाठीचार्ज पनि गरेको थियो । त्यतिमात्र होइन, एक सर्वसाधारणको घाँटी समातेर नै गरेको दमनको तस्बिरले सबैतिर हल्ला पिट्यो । प्रहरीले नामको होइन, बदनामको बर्को ओढ्न पर्यो ।

गत वैशाखमा गलत रगत चढाउँदा मृत्यु भएकी आकृति कुमारी साहको प्रहरीले उजुरी नलिएका कारण अनुसन्धान अघि बढेन । उपचारमा लापरबाही भएको भन्दै महाराजगन्जस्थित चक्रपथ प्रहरी कार्यालय जाँदा उजुरी नलिएको मृतकका आफन्तले गुनासो गरे । उपचारमा संलग्न चिकित्सकमाथि शंका लागेको व्यहोरासहितको निवेदन दिँदा प्रहरीले उजुरी लिन नमानेको उनीहरूको भनाइ थियो । बालिकाका आफन्त सुरेन्द्र साहले वकिल नै लिएर जाँदा पनि उजुरी लिन नमानेको गुनासो गरेका थिए । वैशाख १७ गते सर्लाहीबासी ५ वर्षीया बालिकाको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गर्दा मृत्यु भएको थियो । बालिकाको मृत्युबारे नेपाल मेडिकल काउन्सिल र गंगालाल अस्पताल आफैंले पनि छानबिन गरेको थियो ।

केही दिन अघि मात्र नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालको सचिवालय, हेल्लो सरकारलगायतमा दाङकी कान्ति गिरीले एउटा निवेदन चढाएकी छन्न्याय पाउँ भनेर । उनको निवेदन ललितपुर प्रहरीले नलिएको, पीडकले उल्टै पीडित बनाएर प्रहरीको अधिकारीको आदेशमा पीडा दिएको भन्ने उल्लेख छ । गिरी र उनका पति रुपेश श्रेष्ठलाई पक्राउ गरी सातदोबाटो वृत्तमा राखिएको छ । यसको कानुनी उपचार चलिरहेको होला । तर न्याय खोज्न हिँडेकालाई ललितपुर प्रहरी परिसरबाटै पक्राउ गरियो, यसको उत्तर दिइएको छैन । किन ?  

जब न्याय खरिदबिक्रीको शिलशीला चल्न थाल्छ, न्याय कुनै अमुक व्यक्तिको स्वार्थको शरणमा पर्न थाल्छ । पीडित पीडितमात्र हुँदैन, प्रताडित हुन थाल्छ । प्रताडित भएको व्यक्ति न्यायका निम्ति प्रशासनिक निकायको असहयोग पाएपछि सार्वजनिक ठाउँमा पुग्छ

यी र यस्ता धेरै घटना र परिघटनाको प्रश्नबाट घेरिएका छन् आइजी खनाल । उनीसँग यसका ठोस जवाफ दिने ताकत छ छैन, उनी नै जानुन । यसबाहेक राजनीतिक गैरराजनीतिक प्रकरणमा पनि उनले प्रतिनिधि सभा वा राज्य सभाका विभिन्न समितिमा उत्तर दिइरहनु परेको छ । प्रश्नका फोहरा कम छैनन् । तिर्थ घिमिरे हत्या, कुमार पौडेल हत्या होस् वा भोजपुरमा हालै मात्र भएको प्रहरी जवान सन्जिव राई र नेकपा विप्लव समूहका नीरकुमार राईको मृत्यु प्रकरण होस्, प्रश्नको घेराबन्दीमा छन् ।

खासगरी प्रहरीमाथि प्रश्न उठ्ने एउटै मात्र कारण हुन्छ – न्यायका लागि पीडित पक्षका तर्फबाट उचित कार्य सम्पादन नगरिदिने । दबाब र प्रभावमा परी घटनालाई तोडमोड गरिदिने र पीडितलाई अझ दुख दिने । यस्ता घटनामाथि आइजी खनाल कति जानकार होलान् या नहोलान् त्यो अर्को विषय हो । तर, प्रश्नको सामना उनले गर्नपर्छ, किनभने त्यस संगठनको प्रमूखको जिम्मेवारी लिएपछि हर घटनाको जवाफदेहिता उनमा हुनुपर्छ । जसरी मुलुकका अनेक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिनुपर्छ ।

हाल नेपालको शान्ति सुरक्षाका विषयमा नै गम्भिर प्रश्न उठेका छन् । यो कुनै मिडियाले मात्र होइन, सरकारलाई सन्तुलित राख्ने सदन, सदनभित्र पनि सरकार सञ्चालन गर्ने पार्टीबाटै उठेपछि यसलाई अस्वभाविक मान्न भएन ।

खनालको नियुक्ति प्रहरीभित्र रहेको बेथितिको अन्त्य हुने अपेक्षाको कडी थियो ।

‘प्रहरी संगठनभित्र नै चरम बेथिति, आन्तरिक राजनीति र रणनीतिको लडाई ज्यादा चलिरह्यो । राजनीतिक प्रभावको बलमिच्याईमा नियुक्ति र जिम्मेवारी दिइयो नकी संगठन प्रमूखको हैसियतमा आफ्ना निर्णय अटल भएर लागू गरियो । यसो हुँदा समाजका ससाना घटनामा पनि प्रहरीमाथि प्रश्न तेर्सिनु स्वभाविक हुन्छ ।’

यो प्रश्न नतेर्सिने वा न्युनिकरण हुने अवस्थाको अपेक्षामा खनालले पार लाएको सतहमा देखिँदैन । उनीमाथिको अपेक्षाको परिणाम के त ? सर्वसाधारणले प्रश्न गरेका छन् ।

हो, न्यायका लागि प्रहरी गुहार्न जाँदा, त्यसको खरिदविक्रिको शिलशीलाका कयन पीडा मिडियासम्म आएका छन् । पीडित खुल्न सक्तैनन्, पीडक स्वतन्त्र छ, पीडित प्रहरीबाटै लाचार बनिरहेको छ । त्यहाँबाट बेथितिको फिल्म सुरु हुन्छ तर त्यसको अन्त्य हुँदैन । त्यो चलिनै रहन्छ, अनेक पक्ष र विपक्षको बहसमा ।

जब न्याय खरिदबिक्रीको शिलशीला चल्न थाल्छ, न्याय कुनै अमुक व्यक्तिको स्वार्थको शरणमा पर्न थाल्छ । पीडित पीडितमात्र हुँदैन, प्रताडित हुन थाल्छ । प्रताडित भएको व्यक्ति न्यायका निम्ति प्रशासनिक निकायको असहयोग पाएपछि सार्वजनिक ठाउँमा पुग्छ । र, त्यो सार्वजनिक निकाय भनेको मिडिया बनिरहेको छ, आजको सन्दर्भमा । मिडिया माध्यम हो, निकाय होइन ।

उसले जहाँ न्याय मर्न सक्तैन भन्ने आश पाउँछ त्यसैको शरणमा जीतका निम्ति भगिरथ प्रयत्न जारी राख्छ । कुनै व्यक्तिले चलाएको टेलिभिजन कार्यक्रम अथवा कुनै अखबारमा दैनिक जसो आउने समस्याका चाङ यसैका उदाहरण हुन् । यस विषयमा आइजी खनालले हेक्का राखेका छन् कि छैनन् ? एउटा पीडित कस्टडीमा बसेर भगिरथ प्रयासमा लागिरहेको छ । तर, उसको उजुरी किन लिँदैन उनको प्रहरी ?

समाचार र अनेक प्रकारका खबरका शिलशीला हेर्दा खनाल संगठन प्रमूखका हिसाबमा भन्दा पनि नेताको शैलीमा काम गरिरहेका छन् । उनलाई सम्मान थाप्न हतार छ, अपराध अनुसन्धानअघि । त्यसैले फूलमाला लगाएर जिल्ला दौडाहामा हिँडेका तस्बिर ज्यादा देखिन थाले । उनलाई आमसाधारणका ठूला चासोका घटना सामान्य लाग्छन् किनभने उनी यहि समाजका अनेक घटना हेरिरहेको संगठनका प्रमूख हुन् । यस्तो भइरहन्छ, चलि नै रहन्छ भन्ने साधारण विचार आउन सक्ला । तर, आमसाधारण प्रश्न गर्न छाड्नेवाला छैन ।

संसदीय समितिमा पुगेर जवाफ दिन सजिलो छ । किनभने ति समितिका सदस्य कुनै न कुनै भ्रष्ट राजनीतिज्ञबाट गाइडेड छन् । त्यो लुप प्वाइन्टको कसी समातेर दिएको उत्तरले वैधानिकता पाउला । तर, आम साधारण र पीडितको प्रश्न कुनै समितिको सदस्यले होइन, आम सर्वसाधारणको आशा र भरोसाको त्यान्द्रो बाँकी रहेको मिडियाले गर्छ, माध्यम बनेर । यो, कुनै बन्द कोठामा होइन । आम साधारणको दैलोमा पुग्नेगरी उठाइन्छ । आम साधारणलाई साक्षी राखेर यहि प्रश्न गर्छुुएउटा साधारण उजुरी दर्ता गर्नका लागि मिटरव्याजमा पीडा भोग्नुपर्ने हो ?

सुरक्षा सम्बन्धी जानकार स्टेभेन म्यागीले भनेका छन्– प्रहरीले आफूलाई नागरिकको सेवाग्राही हो भन्ने सत्यको एउटा पाटो विर्सन्छ । त्यसैले उ पथ भ्रष्ट भएको ठहर्छ

प्रहरीको काम आएको उजुरी उपर सत्यतथ्य बुझेर दर्ताको प्रक्रिया कानुनसम्मत ढंगबाट अघि बढाउने हो । जब, प्रहरी कानुनकै धारा प्रक्रिया कार्यान्वयनमा आएको छैन भनेर पीडितलाई निराश बनाउँछ भने प्रहरी मेरो साथी भनेर कसरी विश्वास गर्नु ? नारा र भाषणले प्रहरी साथी हुने भए, यो देशमा प्रहरीमाथिको आक्रोश कहिल्यै हुने थिएन । कानुन कार्यान्वयनका निम्ति नेता, कार्यकर्ता वा पहुँचवाला, त्यसो पनि नभए सार्वजनिक दबाबका निम्ति मिडिया वा सडक रोज्ने थिएन । यो, तथ्यलाई नकारेर आइजी खनाल अघि बढ्न सक्लान् ? या रिटायर्ड पछिको जीवनमा थकथकिएर घोत्लिएलान् ? आखिर उनी पनि आउने यहि समाजमा हो, क्यार ।

जब प्रहरी नेतृत्व परिवर्तनको समय आउँछ, आमसाधारणले न्याय दिलाउने काममा उसको सक्रियता बलियो हुन्छ भन्ने आश हुन्छ । खनाल नियुक्तिका बेला पनि त्यो आश थियो । त्यो आशले गति नलिएको हो की लय नसमातेको हो, त्यसको उत्तर उनले नै दिनेछन् । तर निर्मला पन्त बलात्कार र हत्या प्रकरण, नेकपा विप्लव समूहका गतिविधि नियन्त्रणमा कमजोरी, समाजका आपराधिक घटना न्युनिकरण, आपराधिक मुद्दामा असफल हुँदै जानुमा सरकारका अन्य संयन्त्र मात्र दोषी देखाउनु सर्वथा गलत हुन्छ, यसमा प्रहरी संगठन आफ्नै पनि अनेक कमजोरी छन् ।

सुरक्षा सम्बन्धी जानकार स्टेभेन म्यागीले भनेका छन्प्रहरीले आफूलाई नागरिकको सेवाग्राही हो भन्ने सत्यको एउटा पाटो विर्सन्छ । त्यसैले उ पथ भ्रष्ट भएको ठहर्छ । नेपालमा भएको पनि त्यहि छ ।

आम साधारणको समस्या, आम साधारणको चासो र गुनासोका विषयमा प्रहरी अधिकारीहरूले समाजको त्यो तहसँग न प्रत्यक्ष न परोक्ष संवाद गरेका छन् । तर, शक्ति केन्द्रका व्यक्ति जस्तै प्रधानमन्त्री, गृहमन्त्री अथवा अन्य विशिष्ट भनिएका व्यक्तिको कार्यक्रममाचाहिँ अनिवार्य सुरक्षा र सहभागीता जनाएको देखिन्छ । यसले उनीहरू आम साधारणप्रति भन्दा शक्ति केन्द्रप्रति बढी उत्तरदायी देखिन्छ । एउटा सत्य नभुलौं, शक्ति केन्द्रमा पुगेका अनेक व्यक्ति यहि समाजबाट निर्वाचित भएर पुगेका हुन् । तिनलाई सुरक्षाको खाँचो छैन, तिनलाई जिताउने आम साधारणलाई सुरक्षासहितको न्याय दिलाउने काममा लाग्नुपर्छ, ति आफैं सुरक्षित हुन्छन् । यदि, त्यति गर्दा पनि छैनन् भने तिनले नागरिक उत्तरदायी काम केही गरेका छैनन् भनेर बुझ्नुपर्छ ।

अतः मेरा केही सुझाव पनि छन् । यो देशको जो कोही उच्च तहका व्यक्ति हुन् वा सामाजिक काममा लागेका व्यक्ति । सबैको जिम्मेवारी आम साधारण, पीडित र न्याय नपाएकाहरूको वकालत गर्ने हो । उसको न्यायका लागि लडिदिने हो । न की उसको पीडालाई घन्टा, मिनेट र निमेषमा अझ बढी बनाउने ।

यथार्थको धरातलमा उभिएर साधारण मानिसको जीवन जोगाउने दायित्व सबै क्षेत्रमा हुन्छ । प्रहरीमा अझ विशिष्ठ ढंगले । त्यसैले उसलाई नागरिकले विश्वास गर्ने वातावरण बनाउने हो । आइजी खनालको अहिलेसम्मको कार्यकालमा कति प्रतिशत विश्वास प्रहरीले कमायो ? अथवा कति गुमायो भन्ने विषयकै जनमत संकलन गरेर हेरे हुन्छ । गोप्य ढंगबाट गरेर हेरे हुन्छ । यसले आफ्नै मापन हुन्छ । आत्म मुल्यांकन पनि हुनुपर्छ । आइजी खनाल त्यो मुल्यांकनका निम्ति तयार भएर एउटा गतिलो सन्देश दिन सफल हुन् । मिठो नारा प्रहरी मेरो साथी भने जस्तै, हरेकले प्रहरीलाई साथी ठान्ने वातावरण बन्यो कि बनेन वा बन्ने क्रममा छ कि छैन ? यसको पनि लेखाजोखा होस् । उत्तर त्यहिँ छ ।

प्रतिक्रिया
सम्बन्धित