बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

नेकपा एकीकरण : पुरानै जिल्ला ईञ्चार्जले निरन्तरता पाउने !

जिल्ला ईञ्चार्जमा सहमति गरेर माधव नेपाल श्रीलंका उडे

दैनिक नेपाल २०७६ असार २४ गते १७:०९

काठमाडाैँ, २४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पूरानैलाई फेरि जिल्ला इन्चार्ज तोक्ने सहमति जुटेको छ।

सोमबार बिहान जुटेको सहमति अनुसार ७७ जिल्लाका इन्चार्जमध्ये पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशत रहने गरि जिल्ला इन्चार्ज तोकिने छन् ।

यसअघि जिल्ला अध्यक्षमा एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व लिने सहमति गरेका थिए । जिल्ला इन्चार्जमा पनि करिब यही अनुसार भागबण्डा हुनेछ।

उनीहरू दुई पार्टी एकताअघि साविकको पार्टीबाट जिल्ला इन्चार्ज रहेकाहरू नै हुने सहमति जुटेको नेकपा स्राेतले जनाएको छ ।

सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपालबीच भएको दुई घण्टा लामो छलफलपछि जिल्ला इन्चार्ज पूरानैलाई बनाउने समझदारी जुटेको हो ।

जिल्ला ईञ्जार्जमा सहमति जुटाएर नेता नेपाल श्रीलंका भ्रमणमा निस्किएका छन् । उनी २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेता नेपाल स्वदेश फर्केपछि ३० गते सचिवालय बैठक बसेर जिल्ला ईञ्जार्जहरु औपचारिक रुपमा तोकिने नेकपा स्रोतले जनाएको छ ।

समझदारी अनुसार संघ र प्रदेशमा रहेका मन्त्रीहरु पनि जिल्ला इन्चार्ज तोकिनेछन् । ‘एक व्यक्ति एक पद’ को सिद्धान्त अस्वीकार गरिएकाले संघ र प्रदेशमा मन्त्री वा संसाद रहेकाहरू पनि इन्चार्ज हुन सक्नेछन् ।

तीन नेताबीच छुट्टाछुट्टै भएका भेटघाटहरूमा जिल्ला इनचार्ज तोक्नेबारे पटक पटक छलफल भएका थिए । सोमबार बिहान पनि राजनीतिक प्रतिवेदनमाथि छलफल भएको थियो, जसलाई अब अन्तिम रुप दिएर प्रेसमा पठाउने जिम्मा महासचिव विष्णु पौडेललाई दिइएको छ।

यसअघि के आधारमा जिल्ला इन्चार्ज तोक्ने भन्ने विषयमा खासगरी अध्यक्ष ओली र नेता नेपालबीच विवाद देखिँदै आएको थियो । वरिष्ठ नेता नेपालले वरिष्ठताका आधारमा जिल्ला इन्चार्ज तोक्न प्रस्ताव गरेका थिए भने अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दै आएका थिए।

विभिन्न विकल्पमा छलफल हुने क्रममा सोमबार पूरानैलाई जिल्ला इन्चार्ज बनाउने सहमति जुटेको हो ।

प्रतिक्रिया
सम्बन्धित