बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

ओली–प्रचण्ड ‘लिभ इन रिलेशन’ नेकपाको अल्पायुको कारण त बन्दैन ?

विनोद ढकाल २०७६ असार २४ गते १५:२६

आधुनिक सहरमा ऐंजेरु जस्तो बनिरहेको लिभ इन रिलेशनका असरका फिचर कयन लेखियो होला । तर ति फिचरहरूमा लिभ इन रिलेशनले बनेको सम्बन्ध, त्यसको प्रगतिले देखाएको उदाहरण र सफलताको कथाचाहिँ मुस्किलले एकाध सुनियो, पात्र भेट्न सकिएन । तर, यहि सम्बन्धको प्रवित्ति र अपराधका कथाचाहिँ आइजी सर्वेन्द्र खनाल माथाहतका मझौला र साना इकाइमा पनि पर्याप्त भेटिए ।

लिभ इन रिलेशनलाई प्रभावकारी बनाउनका लागि केही नियम छन् । जसलाई फलाना वा चिलानाले इमान्दारीताका साथ कहिले पनि पालना गरेको पाइँदैन ।

यद्यपि यस्तो सम्बन्धका लागि धैर्यता, अरुलाई आफूप्रति चाहनाको दृष्टि बनाउन सक्नु, साथीको सम्मान गर्न सक्नु, साथीका लागि अन्यलाई नजिक ल्याउने काम नगर्नू र समय निकाल्नु महत्वको हुन्छ ।

आधुनिक सहरमा सम्बन्धका अनेक पर्यायबीच यस्ता सम्बन्धलाई पनि वैधानिकता दिने प्रचलन चलिरहेको छ । यो सम्बन्ध खराब होइन तर सम्बन्धलाई इमानका साथ आफ्ना पक्षबाट पूरा नगर्ने प्रवित्ति पो खराब हो ।

थाहा छ– राजनीति शर्त र स्वार्थको सहमतिको विन्दुदेखि सुरु भएरै अर्को चरणमा पुग्छ । ताकतको टाकुरा छुनका लागि नेपालमा त अझ यो सन्दर्भै सन्दर्भको अभिलेखमा उतार्न सकिन्छ । तर, हामीले स्थायी राजनीति, स्थायी सरकार, स्थायी मुलुक, समृद्ध नेपाल सुखी नेपालीको भाषा र नारा कोटी–कोटी सुनि सक्यौं ।

सुखी नेपाली हुनका लागि देशले सुख पाउनुपर्छ । देशले सुख पाउनका लागि देशको व्यवस्थापकीय जिम्मा लिएकाहरूले सन्तोषका साथ काम गर्न पाउनुपर्छ । काम गर्ने अख्तियारी त पाए तर उनमा सन्तोष छैन । छटपटी छ, सन्तुलन हुनुपर्ने ठाउँमा असन्तुलित र विचलित छ मन । मानौ, लिभ इन रिलेशनमा बसेका तर साझा कुरामा सहमति भए पनि अधिकतममा असहमति कायम छ ।

माहुरी अरिङ्गाल महाशयहरू, कार्यकर्ताको बर्को ओढेर जे व्याख्या गरे पनि आजको समाजलाई रतन्धो लागेको छैन । सत्ता वा पार्टी दुवैको समिकरण र एकताको प्रक्रियाका लेखाजोखा हेरौं न । कहाँ छ एउटा पार्टी ? एउटा प्रधानमन्त्री ? आखिर त्यहाँ पनि पार्टेशन गरिएकै छ, एक खाटमा बसेर । यति जति एमालेको, यति जति माओवादीको

यसलाई नेपाली राजनीति र सत्ताको बागडोरसँग समदूरीमा राखेर व्याख्या गर्दा– यो प्रवित्ति र सम्बन्धको ‘भूत’ सत्तामा देखिन्छ । सत्ताको मुख्य पाटी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा । अझ, नेकपाभित्र पनि यसलाई प्रवित्तिगत हिसाबमा हेर्ने हो भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धमा तुलना गर्दा अति सुहाउँछ ।

पार्टी गठबन्धन, चुनावमा लहरसरीको जीत र एकता घोषणा, एकताका प्रक्रियासम्म आउँदा ओली–प्रचण्ड लिभ इन रिलेशनसीपले निककै गतिलो गति लिनेमा धेरै ढुक्क थिए । यो, सम्बन्धमा कुनै पनि प्रकारको समस्या देखिएको थिएन । तर, पार्टेशनचाहिँ थियो । जुन अहिले पनि कायम छ भागवन्डाका नाममा । एउटा घरबाट अंशवन्डा गर्दा सन्तान खुसी हुन सक्लान् तर अंशवन्डाबाट एउटा घर बनाउने काम नै चुनौति थियो, यो चुनौति पार लगाउँछौं भन्ने आत्मविश्वास ओली–प्रचण्डमा देखिएको थियो । तर बीचैमा आएर यो आत्मविश्वासको कसी भत्काउने प्रेत कस–कसलाई कहाँबाट लाग्यो, त्यसको व्याख्या ‘छौंडा प्रकरण’धारीले गर्लान् ।

ओली–प्रचण्डको सम्बन्ध ‘लिभ इन रिलेशन’ माथि उठेको देख्न पाइएन । एक अर्थमा त्यो सम्बन्धलाई कायम राख्ने नियममा बाँधिएको पनि देख्न पाइएन । जब–जब ओली विदेशतिर हानिए, प्रचण्डमा बडो छटपटी भयो र उनले विज्ञप्ति निकाले कि भएको सहमतिको कागजको खोस्टो अघि सारेर बुँदा केलाइदिए । बाटैतिर यस्ता अविश्वासका कथा सुनेपछि ओलीले पनि जानेको सीपअनुसार शाव्दिक चड्कन लगाउन चुकेनन् ।

यहाँसम्मकी एउटै विस्तरामा बसेर विचारको पनि पार्टेशन भयो । त्यसैले कतिपय समय खाइदियो । अन्ततः एउटा प्रतिवेदनको चरणमा पुग्ने दबाबपूर्ण सहमति भयो ।

घर एउटा, कोठा एउटै, टेबुलकुर्सी पनि एउटै, खाट पनि एउटै जस्तो । तर, मन एउटै बनेको देख्न पाइएन । कुन बेला फ्याट्टै एकअर्काबीच अविश्वासको डँढेलो लाग्ने हो, त्यसबेला एकले अर्कालाई खुइल्याउने तहमा उत्रिन बेर छैन । त्यसको प्रमाण तरकारी काण्ड बनेको छ । तरकारी काण्डमा नै प्रचण्डको घरबाट ओलीको अस्थायी शिविरमा पुगेका मन्त्रीले विवाद निकालिदिए । जुन सत्यलाई लुकाउनका लागि मन्त्रीहरूले नै सफेद झूठ बोलेका छन् । अझ, सरकारी प्रवक्ताले त त्यसलाई गाइको घिउ जस्तो कलेबरमा व्याख्या गरिदिए । यो तहमा व्याख्या र विवेचना आउनु खासै नयाँ त होइन । विगत कोट्याउने हो भने त ओलीलाई मानसिक रोगी भन्ने र प्रचण्डलाई गुरिल्लाको संज्ञा दिने शव्दयुद्ध सम्भवतः सबैले सुनेकै देखेकै र त्यसका पछाडी माहुुरी अरिङ्गला बनेर कुदेकै हुनुपर्छ ।

मनभरी एकविरुद्ध अर्कामाथिको कुण्ठा बोकेर हिँडे पनि सार्वजनिक ठाउँमा देख्न, सुन्न र पढ्न पाइन्छ– दुई अध्यक्ष भिडाएर नेकपाविरुद्ध षडयन्त्र भयो !

माहुरी अरिङ्गाल महाशयहरू, कार्यकर्ताको बर्को ओढेर जे व्याख्या गरे पनि आजको समाजलाई रतन्धो लागेको छैन । सत्ता वा पार्टी दुवैको समिकरण र एकताको प्रक्रियाका लेखाजोखा हेरौं न । कहाँ छ एउटा पार्टी ? एउटा प्रधानमन्त्री ? आखिर त्यहाँ पनि पार्टेशन गरिएकै छ, एक खाटमा बसेर । यति जति एमालेको, यति जति माओवादीको । बस, फरक यत्ति हो समग्रमा नेकपा भनिए पनि पूर्वएमाले र पूर्वमाओवादी भन्न कसले पो छाडेको छ र ? अनि, बालुवाटारमा एकथरीको गुट र खुमलटारमा अर्काथरीको बैठक नबसेको पो को छ र ?

मन्त्रिमण्डलका अनुहार हेर्दा कसैले व्याख्या गर्छन् यो नेकपा सत्ताका मन्त्रीहरू हुन् ? अहिले पनि ति अनुहारमा एमाले र माओवादीको छायाँ देखिन्छ कि देखिँदैन ? मुटु छामेर भनौं, कसैले यी नेकपाका मन्त्री हुन् । प्रधानमन्त्रीको प्रशासनयन्त्रमा चल्छन् । यीनलाई प्रधानमन्त्री भन्दा बाहेक अरु कुनै टावरको आदेश मान्दैनन् भन्ने अवस्था छ ?

यो भौतिकवादी समाज हो, यहि समाजको चरित्र र प्रवित्तिबाट नेपाली राजनीति माथि उठ्न सकेको छैन । सकेको भए, मुलुकको गति र नेताको चरित्र पनि अर्कै हुन्थ्यो । यसैले नेकपाभित्रको लिभ इन रिलेशनसीपमा कसले कुन बेला कहाँ पुगेर ‘राजनीतिक बलात्कार’को मुद्दा तयार पार्ने हो ? कसले कसको अस्तित्वलाई सैद्धान्तिक र सांगठनिक रूपमा लुट्ने हो हेर्न बाँकी नै होला

अर्को, प्रचण्डलाई धुम्बाराहीमा छिर्दा नेकपाको कार्यालयमा र ओलीलाई पेरिसडाँडामा छिर्दा नेकपाकै कार्यालय छिरेको अपनत्व हुँदो हो ? ओली त पेरिसडाँडा पुगेका पनि छैनन् । यी दुवै नेताको आवरण मिलेको देखिए पनि, यी दुवै पार्टीको मुखौटा मिलेको देखिए पनि आत्मा मिलेको देखिँदैन । त्यसैले यो शर्तसहितको सम्बन्ध हो, जुन दिन शर्त भत्किन्छ सम्बन्ध आ–आफ्नोबाटो लाग्ने काम हुँदैन, एकअर्काविरुद्ध मुद्दामामिला गर्ने चरणमा पुग्छ । यसले नेपाली राजनीतिमा गतिलो ओखति होइन, अति खति हुनेछ ।

यसलाई प्रमाणित गर्न एउटा सत्य घटना उदृत गर्न चहान्छु ।

एक जना प्रहरी अधिकारी साथीसँग अनौपचारिक कुराकानीका क्रममा लिभ इन रिलेशनसीपमा आएका समस्यापछि कस्ता व्यवाहारमा उत्रिएर मुद्दा दिन आउँछन् भनेर सोधेको थिएँ । उनले एक युवतीले दिएको उजुरीको विषयलाई सविस्तार व्याख्या गर्दै भने– ४ बर्ष सँगै बसेका, सबैथोक गरेका रहेछन् । अहिले धोका पाइछ । पैसा पनि खुवाइछ । केटाले छाडेछ । अहिले बलात्कारको उजुरी लिएर आएकी छ । हामीले त्यसमै मुद्दा चलाउने हो ।

यो भौतिकवादी समाज हो, यहि समाजको चरित्र र प्रवित्तिबाट नेपाली राजनीति माथि उठ्न सकेको छैन । सकेको भए, मुलुकको गति र नेताको चरित्र पनि अर्कै हुन्थ्यो । यसैले नेकपाभित्रको लिभ इन रिलेशनसीपमा कसले कुन बेला कहाँ पुगेर ‘राजनीतिक बलात्कार’को मुद्दा तयार पार्ने हो ? कसले कसको अस्तित्वलाई सैद्धान्तिक र सांगठनिक रूपमा लुट्ने हो हेर्न बाँकी नै होला ।

त्यसका इन्डिकेटरहरूचाहिँ एक बर्षको दौरानमा केही पाइएको छ, अझ चार बर्ष कुर्न बाँकी छ । ति युवतीको जस्तो हालतमा नेकपा नपुगोस्, यहि शुभकामना छ । नेकपा त्यो गतिमा पुगेको दिन, संघीयता गणतन्त्रको चिर हरण हुनेछ, आजको युगमा सीताको अपहरण गरे पनि रावणजस्ता सपूत भेटिँदैनन्, कपूतहरूको युग हो । त्यो युगको पनि तेस्रो संसार र समाजको राजनीतिक प्रवित्तिमा हुर्किरहेका छौं, हामी ।

प्रतिक्रिया
सम्बन्धित