४ कार्तिक २०८३, बुधबार

नेपाली स्टार्टअप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट फिनटेक इन्नोभेसन फन्ड

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ असार । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् ।

उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ । खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३५०० महिला आबद्ध भएको संजाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपाल सँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्नेछन् ।

यस परियोजना अन्तर्गत पूर्वमा संखुवासभा देखि पश्चिममा दार्चुला सम्मका १२ वटा जिल्लाहरुमा ३५०० भन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिनेछ । खल्तीले उनीहरूलाई आत्मनिर्भर हुन र व्यवसाय थप विस्तार गर्न मदत पुर्याउनेछ । साथै खल्तीले स्मार्ट छोरीहरुलाई पनि उक्त महिला उद्यमीहरुलाई सहयोग गर्न परिचालन गर्नेछ ।

इन्नोभेसन फन्डको विजेता घोषित भएपछि उत्साहित खल्तीका निर्देशक अरविन्द साहले भन्नुभयो, “नेपालको सन्दर्भमा हेर्ने हो भने लघु, साना र मझौला आकारका उद्यमहरु रोजगारीका महत्वपूर्ण स्रोत हुन् । साथै यिनीहरुले देशको कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा ओगट्छन् । तर पनि यस्ता उद्यमहरुले व्यवसाय सञ्चालन तथा विस्तारका लागि ऋण र अन्य वित्तीय सेवाहरू प्राप्त गर्न कठिनाईको सामना गरिरहेका छन् ।
“हामीहरुले खल्तीको मोबाईल एपमा एउटा डिजिटल बजारको व्यवस्था गर्दैछौँ जहाँ उनीहरुले उत्पादन गरेका वस्तु तथा सामानहरु सजिलै देशभरका ग्राहकमाझ बेच्न सक्नेछन् । साथै यसरी भएको आम्दानीको आधारमा हामीले उनीहरुलाई हाम्रा साझेदार बैंकमार्फत ऋण प्राप्त गर्न र व्यवसाय थप विस्तार गर्न सहयोग गर्नेछौँ । यस कार्यक्रम मार्फत देशभर महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुले फाईदा लिने कुरामा हामी विश्वस्त छौँ ।”

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।