बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

किन बनेन देश ?

वीवी श्रेष्ठ २०७६ असार १९ गते ७:४१

वीवी श्रेष्ठ

दुई कम्युनिष्ट पार्टीहरू कदापि मिल्न सक्दैनन भन्ने व्यवहारिक कठिनाईलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र एमाओवादीको एकताले राजनैतिक सरगर्मी ह्वात्तै बढाइदियो । एकतापछिको चुनावी माहोलको प्रभावले राष्ट्रिय राजनीतिमा देखिएको सकारात्मक परिणामले विश्वपरिवेशको ध्यान खिच्यो । एकतामा नै बल हुन्छ भन्ने तथ्य पुष्टि गरिदियो ।

दुईतिहाई बहुमतका साथ बनेको नेकपाको सरकारले देशमा भएको विकृत्ति, विसंगति र भष्ट्राचारको निर्मलीकरणको आशामा वसेको आम जनता सरकार वनेको लामो समयसम्म पनि उहि पुरानै ढर्रामा अगाडि बढेपछि त्यो चुनावी शक्ति केवल सत्ता र शक्तिका लागि मात्र त होइन भन्ने कुराले प्रधानता पाएको छ । जुन नेपालका सन्दर्भमा विगतका तुलनामा भिन्न हुन सकेन । ४६ सालपछिको सरकार संचालन र आजको दुईतिहाईको सरकार संचालनमा उल्लेख्य सुधारोन्मुख हुन नसक्दा वैचारिक तथा सैदान्तिक बेमेल मात्र नभई नेताहरूको चेतनाशून्यताको पराकाष्टको रुपमा मुखतरित हुन थालेको छ । जुन राजनैतिक तरलताको निरन्तरतामा उभिएको छ ।

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको यो चरणमा आईपुग्दा र विश्व समुदाय यो एक्काईसौ शताव्दीको उच्चतम उपयोगमा लागीरहँदा नेपाल र नेपालका जनताका स्तर किन उस्कन सकेन ? व्यवस्था आफैमा साध्य होइन, यो त केवल साधन मात्र हो । विकास र समृद्धिका लागि व्यवस्था नै प्रमुख कारक कदापि बन्न सक्दैन । परिवर्तन र विकासका लागि चेतनाको विकास र ईच्छाशक्तिको सामिप्यता मेल खानु पर्दछ । जसले मात्र जनतामा आशाको दियो जल्न थाल्दछ ।

तर नेपालको सन्दर्भमा यो मेल खान सकेन । व्यवस्था परिवर्तनले मात्र जनताको विकास र समृद्ध वन्दछ भन्ने रटानले राजनैतिक पार्टी र नेतृत्वको मस्तिष्कमा जरा गाडिदियो । निश्चित नेता, कार्यकर्ताको जीवनस्तर मा केहि परिवर्तन भएकोलाई नै विकास र परिवर्तन देख्ने नेताहरूको चेतनाको मापन नै कमजोर बनिदियो । जसले गर्दा राजनैतिक पार्टीको विचार, सिद्धान्त, घोषणापत्र चुनावी मसला मात्र बनिदियो । योजनाको उचित कार्यन्वयन नहुँदा त्यसले सकारात्मक परिणाम दिन सक्दनैन भन्ने एकमात्र सत्यता बुझन नसक्नेहरूको राईदाई नै नेपाल र नेपाली जनतालाई बोझ बनिदियो ।

लामो समयसम्म प्रजातन्त्र र लोकतन्त्रका दुहाई दिने नेपाली कांग्रेसको लोकतन्त्रका परिभाषा सत्ता र शक्तिका लागि मात्र सावित बनिदियो । जनताको बहुदलीय जनवाद होस् वा जनताको जनवाद, जुन सिद्धान्त र मार्गदर्शक सिद्धान्त भएता पनि त्यसको उचित कार्यन्वयन र प्रयोगमा देखिएको कमजोरीले जनतालाई सैद्धािन्तक ज्ञानभन्दा पनि नेता प्रधान नै सोच्न बाध्य बनिदियो । जसका फलस्वरुप विकास र आर्थिक रुपमा उपार्जनका लागि नीति प्रधान होइन, नेता प्रधान हुँदा रहेछ भन्ने मानसिकता आम जनताको मस्तिष्कमा विकास भईदियो ।

विश्वको ईतिहासमा हेर्न हो भने चरम आर्थिक रुपमा विपन्न राष्ट्र होस वा लामो समयसम्म गृहयुद्धमा फसेको देशहरु नीति र सिद्धान्तको चरम उपयोगले विकास र समृद्धीमा अगाडि आएको देख्न सकिन्छ । तर नेपाल नै यस्तो राष्ट्र बनिदियो । जुन देश प्राकृतिक, भौगोलिक, र हरेक पक्षमा सवल र सक्षम भएर पनि विश्वको समृद्धिको सूचीमा निकै पछाडि रहेको पाईन्छ । यहि एकमात्र विषयलाई मात्र सुक्ष्म अध्ययन गर्ने हो भने देशमा व्यवस्था र नीतिका कारण होइन, राजनैतिक नेतृत्व र नेताका संकुचित सोचाइले काम गरेको पाईन्छ । नेताको असक्षमतालाई काँधमा वोकेर हिड्ने सिमित आसेपासे अन्धभक्त कार्यकर्ताले गर्दा आम जनतामा नैराश्यता उत्पन्न भएको छ । देश किन बनेन भन्दा पनि व्यक्ति किन बनेन भन्ने सोँचले ग्रसित आम जनता नेतृत्वको गुलामीमा रमिदियो ।

देश किन बनेन, जनता किन समृद्ध र सुखी भएनन् यो सोच्न मानसिकताको विकास कहिल्यै हुन सकेन । आफैमा जव विश्वास हुँदैन, परनिर्भरतामा अग्रसर बन्ने एकमात्र सत्य हो । जव परनिर्भरतामा बाच्न वाध्य हुन्छ, त्यहिवाट शुरु हुन्छ, गुलामीको कण । त्यहि कणको थुप्रिएको थुप्रोले कहिल्यै पनि विकास र परिवर्तन हुन दिएन, त्यहि नै नेपाली जनताको अभिशाप बनिदियो । जनताको यहि गुलामी र परनिर्भरतामा रम्ने परिपाटीको राजनैतिक पार्टीको नेतृत्वले भरपुर उपयोग गरेर व्यक्तिगत स्वार्थ र शक्ति केन्द्रितमा अभ्यस्त बनिरहयो ।
देश गरिव र जनता धनि भएको नेपालमा परनिर्भरता वाँच्नेहरूको भीडले देश नै अविकसित रुपमा दर्ज गरिदियो ।

कर्ममा भन्दा गुलामी गरेर सिर्फ स्वार्थकेन्द्रित जीवन जीउनेको त्यो लामो भीडले नेतालाई खवरदारी होइन सधै राजा महाराजा र प्रभुभन्दा माथि विराजमान बनिदियो । देश नेताले होइन, जनताले हो विगारेको भन्ने एकमात्र सत्यतालाई आत्मासात गर्न नसक्ने कमजोर मानसिकताको पहाडले विकास र समृद्धिका नारा विश्व हसाउने विषय वनिदियो । नेतालाई गाली गरेर आफू ओभानो वन्ने प्रतिष्पर्धामा जमेको एक्काइसौ शताव्दीका नेपाली जनताहरू देश र जनताप्रति म कति उत्तरदायी र भूमिका खेले भन्ने सोच्न कहिल्यै सकेन । किन अफ्ठयारो बाटोमा हिड्न सहज हुँदैन, त्योभन्दा अर्काको कमजोरी देखाएर आफू अव्वल वन्न सकिन्छ भन्ने मानसिकताको विकासले आकाश छोइदियो ।

जव राजनीति समाज, देश र जनताका लागि नभै व्यक्ति र आसेपासेका लागि केन्द्रित बनिदिन्छ, देशको अवस्थामा परिवर्तन कदापि आउन सक्दैन । जब जनताको चेतनास्तर विकास हुन्छ, त्यतिवेला स्वतः राजनीति देश र जनताका लागि केन्द्रित हुनेछ । यसका लागि आम जनता परनिर्भर र गुलामीको मानसिकताबाट माथि उठ्न हिम्मत गर्ने पर्दछ । यसका लागि चेतनाका विकास र आत्मनिर्भरको बाटो हिड्नै पर्दछ । सधै नेतालाई मात्र गाली गर्न अभ्यस्त हामी आम जनता हामी आफनो भूमिकाको बारेमा पनि सोँच्न ढिला गर्नु हुँदैन । जनता जब चेतनशील र गतिशील बन्दछ, नेता र नेतृत्वको कार्यशैली स्वत परिवर्तन हुन्छ, जुन कर्म देश र जनताका लागि हुनेछ, त्यसपछि मात्र हो, देश समृद्धि र सुखी नेपाली बन्ने, नत्र गुलामी र परनिर्भरताका कर्मले हाम्रो जीवनस्तर कदापि माथि उठ्न सक्दैन ।

प्रतिक्रिया
सम्बन्धित