लण्डन । लिबियाको राजधानी त्रिपोलीनजिकै रहेको एउटा आप्रवासी थुनुवा केन्द्रमा लक्षित गरी गराइएको बम विस्फोटमा परि एक जना नेपाली युवकको मृत्यु भएको छ ।
मंगलबार राति भएको बम विस्फोटमा परि २७ वर्षीय नेपाली युवक सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।
४० जनाभन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणमा घाइते भएका श्रेष्ठको उपचारको क्रममा अस्पतालमा ज्यान गएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आईओएम) लिबियाले आफूहरूलाई जानकारी गराएको त्रिपोलीस्थित नेपाली राजदूतावासका चार्ज डी अफेयर्स सुजन बिडारीले जानकारी दिए ।
श्रेष्ठका बारेमा विस्तृत जानकारी लिने प्रक्रिया चलिरहेको दूतावासले जनाएको छ । सन्तोष श्रेष्ठ सन् २०१८ को जनवरी १६ मा लिबिया प्रवेश गरेको थाहा हुन आएको राजदूतावासले जनाएको छ ।
गएको दुई महिनामा मात्रै लिबियाबाट २६ जना नेपालीको उद्दार भएको दूतावासले जनाएको छ । साथै आठ जनालाई बुधबार मात्रै उद्दार गरी टर्की हुँदै नेपाल पठाइएको छ ।















प्रतिक्रिया