
काठमाडौं, १८ असार । उपत्यकामा मोबाइल एप्समा आधारित ट्याक्सी सेवा शुरु गरिएको छ । ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले यो सेवा सुरु गरेको हो । उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि आधुनिक प्रविधिमा आधारित सेवा शुरुवात गरेको हो ।
समाजले प्रविधिको बढ्दो प्रयोगको सदुपयोग गर्दै मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’ मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परिक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सीनेपाल मार्फत आबद्ध ट्याक्सीहरुबाट प्रविधिमा आधारित सेवा लिन सकिने घोषणा गरेको हो ।
‘इजीट्याक्सीनेपाल’ ट्याक्सी सेवा हाल काठमाडौं उपत्यकाभरी संचालन भईरहेको छ । यसको लागि ‘इजीट्याक्सीनेपाल’ एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूले दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ ।
यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सीचालकहरुले सोहि एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा शुरु भएको छ ।
सरकारले पर्यटकहरु नेपाल भित्र्याउन भिजिटनेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सोहि अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरुलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’















प्रतिक्रिया