बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

मिडियासरी फल्न सकेन च्याउ !

आर्थिक र लगानीको हैसियतअनुसार बार्गेनिङ टूल बन्न थाल्यो पत्रकारिता, पेशा बनाऔं, धन्दा नबनाऔं  

विनोद ढकाल २०७६ असार १७ गते १२:३१

-विनोद ढकाल

च्याउ पनि त्यति उम्रिन छाड्यो नेपालमा जति मिडिया खुल्न थाले । कुनै चिज भाइरल जसरी स्थापित हुन थालेपछि भनिन्थ्यो, च्याउसरी खुले । नेपालका अनलाइन, प्रिन्ट, युट्युव, टेलिभिजन र अनेक हिसाबका मिडिया दिन प्रतिदिन खुलेको हेर्ने हो भने च्याउले नै दिक्क मान्न थालेको होला । उखान यस्तो बन्न सक्छ, मिडियासरी फल्न सकेन च्याउ !

च्याउभन्दा बढी मिडिया खोल्ने कोशीशभित्र म आफैं पनि एकपटक छिरेको हुँ । तर, त्यसलाई तिव्रता, लगानी र व्यावसायीक हिसाबले चलाउने हिम्मत अथवा यो अवस्थाभित्र वास्तविक पत्रकारिताको दौडमा मैले त्यो अनलाइन पोर्टललाई दौडाउन सक्ने अवस्था सृजना हुन सकेन, हुन सक्ला एक दिन । मेरा एक जना मित्रले ढाडस दिएका हुन् त्यहि पनि मेरो निष्पक्षताको सिद्धान्तमा उनीबाहेक अन्य उभिने कोही भेटिएन, फगत मैले त्यसलाई स्थगन गरी पेशागत कर्म गरिरहेको छु ।

प्रभाव र हतियारका रूपमा पत्रकारिताको प्रयोग यति विध्न हुन थाल्यो कि यो पेशा नभएर अब धन्दा बन्न थाल्यो । यो धन्दा पत्रकार आफैंले भन्दा ज्यादा पत्रकारिता क्षेत्रमा लगानी गर्नेले भित्राए । बाँकी, यो धन्दामा स्वार्थ समूहले पत्रकारलाई पनि भिजाएको छ, यसैकारण उनीहरूका काण्ड यदाकदा आउने गर्दछ

तर यो कर्म राजधानीमा जारी राख्दै गर्दा, यसभित्रका नकारात्मक पाटाको व्याख्या गर्न मन लाग्यो । यो, पत्रकारिता क्षेत्रको आत्म मुल्यांकन पनि हो । किनभने, नेपाली समाजमा पत्रकारिता, पत्रकार र मिडियाविरुद्ध विस्तारै ठूलो जमातले रोष र आवेग देखाउन थालेका छन् । तिनिहरू कति सत्यको पछि छन् या कति स्वार्थको नजिक छन् भन्ने प्रस्ट छ । उनीहरू विरोधीलाई खुइल्याउने र सहयोगी बन्नेलाई प्रशंशा गर्ने प्रवित्तिमा छन् । ‘न्युट्रल’ सोच छैन । पत्रकारितालाई व्याख्या गर्दा हर एकले ‘न्युट्रल’ भएरै सोच्नुपर्छ भन्ने मेरो बुझाई हो ।

पत्रकारिता आलोचित हुनुमा साना, मझौला या ठूला मिडियाहाउस कति सन्तुलित छन् भन्ने प्रश्नसँग जोडिन्छ । अर्को, यसको मुल्यांकन गर्ने प्रभाव समूहको व्याख्यामा पनि भर पर्छ । यी दुवैमा कमजोरी पर्याप्त भेटिन्छ ।

प्रविधिको तिव्र प्रयोगको पृष्ठभूमीमा बसेर व्याख्या गर्दा, अनलाइन युट्युव ज्यादा खुल्न थाले । जसलाई धेरै लाइक र सस्क्राइब पाउनु छ । त्यसैले तथ्यको तोडमोड फेन्सी हिसाबमा गरिदिन कुनै आपत्ति छैन । त्यसले एउटा अर्थपूर्ण विन्दुमा पुर्याउँछ भन्ने भ्रम पनि छ अर्थात् बार्गेनिङ प्वाइन्टको प्रभावकारी विन्दु ।

आफूले अँगालेको पेशा भएका कारण मिडिया खुल्नुलाई नराम्रोचाहिँ मान्दिन । तर मिडियासँगै खुलेका प्रवित्ति र पत्रकारिताले छाड्न थालेको लयका बारेमा नबोली नहुने स्थिति आयो । प्रभाव र हतियारका रूपमा पत्रकारिताको प्रयोग यति विध्न हुन थाल्यो कि यो पेशा नभएर अब धन्दा बन्न थाल्यो । यो धन्दा पत्रकार आफैंले भन्दा ज्यादा पत्रकारिता क्षेत्रमा लगानी गर्नेले भित्राए । बाँकी, यो धन्दामा स्वार्थ समूहले पत्रकारलाई पनि भिजाएको छ, यसैकारण उनीहरूका काण्ड यदाकदा आउने गर्दछ ।

कसरी बार्गेनिङ टूल ?

मिडिया हाउसको लगानीकर्ताको त्यो साइड बिजनेश बनेको छ, कैफियतका केही बाहेक । अझ बिग हाउसका लगानीकर्ताका अन्य व्यावसायका विषयमा चर्चा गरिरहन परेन । यसबाहेक विविध आयाममा लगानी गरेका र मिडियाबाट आजित भएपछि ढालका रूपमा मिडिया खोल्नेहरूको नाम छर्लङ्गै छ, लिइरहन परेन । यस्ता ठूला, मझौला र सानाका नाफामुखी बार्गेनिङ टूल उनका हैसियतका आधारमा छन् । यसलाई धेरैले नकार्लान्, पोखरीभित्र बसेर माछासँग दुश्मनी भन्लान् । तर, सत्य यहि हो ।

नेपालमा पनि कुनै बेला तत्कालिन राजा ज्ञानेन्द्र शाहको पक्षपोषणमा लागेका पत्रिका अहिले अलिक पातला बनेका छन् । तर, त्यसबेला सत्ताको नुन पाएका थिए । विरोधमा लागेको मिडिया आन्दोलनसँगै बलियो बन्यो । त्यसको प्रभाव क्षेत्र यति बढ्यो कि, लोकतन्त्रमा राजनीतिक दलले उचाले, गणतन्त्र हुँदै अहिलेको अवस्थासम्म आइपुग्दा राजनीतिक दललाई नै निल्नसक्ने हैसियतमा पुग्यो

ठूला र बिग हाउस भनिएका मिडियाले शक्ति सञ्चय आफूसँग रहेका कारण ‘सिस्टमसँग वार्गेनिङ’ गर्छ । सत्ताले लाभ दिएसम्म सत्ताको पक्षपोषण र लाभ दिन छाडेका दिन त्यसको स–साना गल्तीको पनि तिललाई पहाड बनाउने गरेको छ ।

भारतमा तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहको पालामा ‘जि न्युज’ले एक व्यापारीलाई सय करोडको बार्गेनिङ गर्दा त्यसका सञ्चालक र सम्पादक थुनामा परेका थिए । त्यसैको विकल्पमा जि न्युजले भारतीय कांग्रेसविरुद्धको अभियान जारी राख्यो । अहिले भारतीय जनता पार्टीको दुई कार्यकालमा उसको प्रभावको आधार बलियो बनेको छ । अर्थात्, भाजपाले उसलाई बोक्यो ।

नेपालमा पनि कुनै बेला तत्कालिन राजा ज्ञानेन्द्र शाहको पक्षपोषणमा लागेका पत्रिका अहिले अलिक पातला बनेका छन् । तर, त्यसबेला सत्ताको नुन पाएका थिए । विरोधमा लागेको मिडिया आन्दोलनसँगै बलियो बन्यो । त्यसको प्रभाव क्षेत्र यति बढ्यो कि, लोकतन्त्रमा राजनीतिक दलले उचाले, गणतन्त्र हुँदै अहिलेको अवस्थासम्म आइपुग्दा राजनीतिक दललाई नै निल्नसक्ने हैसियतमा पुग्यो ।

यो विकृत संस्कार र बलियो अवस्था देखपछि मिडियासँग सामान्य जोडिएका तर अन्य व्यापार गर्नेले करोडौं लगानीमा मिडिया हाउस खोल्न थाले । जो अहिले चलिरहेका छन् । तिनका विवादका खबर यदाकदा आएका धेरैले देखेका छन् ।

अर्को, मझौला र साना मिडियाले त्यस्तै आकारका राजनीतिज्ञ र व्यापारिक प्रतिष्ठानलाई, व्यक्तिलाई उपयोग गरेका, उपयोग भएका कयन उदाहरण छन् ।

प्रभाव भए ठिक, नभए गाली ?

यो, अव्यवस्थित पत्रकारिता बनाउन अरु कसैले होइन, राजनीतिक दल, तिनका नेताले नै मिडियालाई प्रयोग गरे, साहु अथवा सम्पादकमार्फत ।

यहाँसम्मकी, ठूलो मिडियामा कसलाई सम्पादक नियुक्त गर्ने भन्ने चिज पनि अब, साहुको हातमा छैन । कुनै खास नेता, कुनै अमुक दूतावास वा कुनै अमुक व्यापारीको सिफारिस र स्वार्थका आधारमा हुन्छ । यसैले आजको पत्रकारिता जनताप्रति उत्तरदायी हुन्छ भन्ने विषयमा मचाहिँ विश्वस्त हुने आधार देख्दिन, कोही भए बताइदिनुस् । यो प्रभाव भए ठिक र नभए गालीको शैलीमा अघि बढेकै छ ।

जो कोही होस् चाहे त्यो इटहरीको मेयर अथवा देशका प्रधानमन्त्री केपी ओली । चाहे प्रचण्ड हुन् चाहे कुनै अमुक व्यापारी उनले पक्षमा लेखिदिए ठिक, आलोचना गरिदिए गाली गर्ने गर्दै आएका छन् । उनीहरू प्रायोजित मिडियाको प्रशंशा र भए नभएको देवत्वकरणको शिकार बनेका छन् । जसले आलोचना फिटिक्कै सहन सक्तैनन् ।

त्यसैले आफूलाई सहयोग नगर्ने वा रिस उठेका मिडिया र पत्रकारलाई ठिक पार्ने कुत्सित मानसिकताका आधारमा मिडिया काउन्सिल विधेयक पनि आएको हो । पत्रकारितामा शुद्धता वा स्वच्छन्दताको धेयले होइन, प्रतिशोधको भावनाले आएको हो । योसँगै जोडिन्छ, सूचना प्रविधि विधेयक पनि । यी विषयमा अलग विश्लेषण अनिवार्य छन् । तर, पत्रकारिता आफैंमा कति गतिलो होला त भन्ने विचरण हो, यो ।

पत्रकार के हो, मिडिया के हुन् ?

पत्रकारिताको अर्थ सूचनाको व्यवाहारिक जानकारी जनतासम्म निष्पक्षताका आधारमा ‘सर्भ’ गर्ने हो । पत्रकार त्यसैको ‘सर्भर’ हो । तर नेपाली पत्रकारिता क्षेत्र यसबाट विमुख भएको छ । कुनै आमुख व्यक्ति, धनाड्य वा पार्टीको ‘सर्भर’ भएर जनतासम्म भ्रमको खेती ज्यादा भइरहेको छ । औंलामा गन्नलायक केही मिडिया जेनतेन बाँचेका छन्– व्यावसायीकताको कसीमा । बाँकी, स्वार्थ र बार्गेनिङको तहगत आधार तय भइसकेको छ ।

जसरी नेपालमा ‘नेपाली’ भेटिँदैन, बाहुन, क्षेत्री, जनजाती, मधेसी, थारुलगायतका भेटिन्छन् त्यसरी नै मिडियामा पनि यो वर्ग भेटिन्छ । छुट्टिन्छ । त्यसबाहेक सत्ता पक्ष, प्रतिपक्ष र दलै पिच्छेका मिडिया भेटिन्छन् । त्यसभित्र पसेर हेर्ने हो भने, गुटै पिच्छेका मिडिया भेटिन्छन् । त्यसभित्र पसेर व्याख्या गर्दा नेता पिच्छेका अनलाइन पोर्टल खल्ती खल्तीमा भेटिन्छन्

यसको सैद्धान्तिक उदाहरण पनि दिन सकिन्छ । समाचारको मूल थ्योरी सत्यता, सन्तुलित र विश्वसनीय नै हो । यसलाई विश्व पत्रकारिता जगतमा ‘एबीसी’ थ्योरी पनि भनिन्छ । तर आजका दिनमा आएका समाचार, अन्तरवार्ता वा प्रस्तुतीलाई नजरअन्दाज गर्ने हो भने के यो थ्योरीमा चलिरहेको छ त पत्रकारिता ? पत्रकारितामाथि किन प्रश्न नगर्ने ? मुल्यांकन किन नगर्ने ? आत्मसमिक्षाको खाँचो कति होला ? बहस छेड्नपर्छ ।

एउटा उदाहरण– सन्तुलित समाचार र विचारलाई प्रश्रय दिनुपर्छ भन्ने मान्यता राख्ने मलाई पनि कतिपय प्रभाव समूहले उपयोग गर्न नखोजेको होइन । कुनै आलेख अथवा समाचार आउनासाथ त्यस समूहका कतिपयले आर्थिक प्रलोभनको कार्ड फ्याँक्ने गरेका छन् । अथवा, त्यसबाहेकका कुनै व्यक्ति प्रभावमा पार्न सक्ने प्रस्ताव हुन्छन् । त्यसलाई पनि नकारे, परोक्ष रूपमा नकारात्मक असर पार्ने धम्की हुन्छन् । यसबाट विचलित हुन सकिएन तर हत्केलाले सूर्य छेक्न नसकिने भनेजस्तो भ्रष्ट र उपयोग गर्ने समाज र सिस्टममा प्रभावको क्षेत्र यति धेरै विस्तार भयो कि, कुनै पनि मिडिया हाउस व्यावसायीक हिसाबमा चलेको छ भन्ने त अनुमान पनि गर्न कठिन भइसक्यो ।

व्यावसायीक मिडिया सन्तुलनका आधारमा हिँड्नुपर्ने हो तर आम पाठकलाई पनि विश्लेषणका लागि अपिल गर्छु त्यस्तो पाइन्छ त ? आज अनलाइन मिडियालाई नै एक दिनमा विश्लेषण गरे हुन्छ । जसरी नेपालमा ‘नेपाली’ भेटिँदैन, बाहुन, क्षेत्री, जनजाती, मधेसी, थारुलगायतका भेटिन्छन् त्यसरी नै मिडियामा पनि यो वर्ग भेटिन्छ । छुट्टिन्छ । त्यसबाहेक सत्ता पक्ष, प्रतिपक्ष र दलै पिच्छेका मिडिया भेटिन्छन् । त्यसभित्र पसेर हेर्ने हो भने, गुटै पिच्छेका मिडिया भेटिन्छन् । त्यसभित्र पसेर व्याख्या गर्दा नेता पिच्छेका अनलाइन पोर्टल खल्ती खल्तीमा भेटिन्छन् । राजनीतिबाहेक व्यापारी र कलाकर्मीका समेत खल्ती खल्तीमा मिडिया भेटिन्छन् । वास्तवमा नेपालमा विकृत बनिरहेको सञ्चारकर्म कुनै विश्वसनीय पत्रकारिता होइन, पर्चाकारिता भइरहेको छ । अब कुनै विचारको मुखपत्र वा मुखअनलाइन होइन, व्यक्तिको बनिरहेको भेट्छु म । यो विषयलाई आम पाठकले विश्लेषण गर्ने तत्परता र सक्षमता देखाउन सक्छन् । देखाउनुपर्छ । अन्यथा माथि भने जस्तो च्याउले पनि मिडिया देखेर दिक्क नमानोस् । बेलैमा मन्थन गरौं ।

प्रतिक्रिया
सम्बन्धित