बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

…जब म फेरि मन्त्री बनेँ !

-निर्मल भट्टराई २०७६ असार १७ गते १२:२६

-निर्मल भट्टराई

आज मेरो घर खचाखच थियो । मलाई भेट्न आउनेहरुको घुईँचो थियो । अरु त अरु, अरु बेला धारे हात लगाएर मेरो उछित्तो काढ्नेहरु मेरो विस्तरामै पुगुँलाझैँ गर्दै थिए । मेरो जिल्लाका सबै साहुमहाजनहरु, नवधनाड्यहरु, पार्टीका नेता कार्यकर्ताहरु, मेरा मतदाताहरुको जुलुस मेरो घरतर्फ आउँदै थियो ।

विकास भनेपछि म हुरुक्कै हुन्छु । सबैले देखेकै छन्—संसदमा देशको मुहार फेर्ने विधेयकमाथिको छलफल छोडेर, संसद रित्तै पारेर एउटा धारोको टुटी खोल्न जान मन पर्छ मलाई

मेरो घर सुरक्षाकर्मीले पहरा दिएको थियो । झण्डावाल गाडी घर अगाडि आईपुग्दै थियो । स्वदेशी र विदेशी ठूला सञ्चार माध्यमका पत्रकार लामा—लामा क्यामरा बोकेर आउँदै थिए । सामाजिक सञ्जाल म मन्त्री भएको खबर र मेरो फोटोले रंगिएको थियो । पत्र—पत्रिकामा ठूल्ठूला समाचार मेरै थिए ।

म दोश्रो पटक मन्त्री भएको थिएँ । हुनपनि मेरो विकल्प थिएन । म नभएको मन्त्रीमण्डल कसरी चल्न सक्छ ? मेरो अगाडि अरु सबै भुसुनासरह हुन् । देशको कायाकल्प गर्न म बाहेक अरुले गर्नै सक्दैनन् । जहाँ विकास, त्यहिँ म । विकास भनेपछि म हुरुक्कै हुन्छु । सबैले देखेकै छन्—संसदमा देशको मुहार फेर्ने विधेयकमाथिको छलफल छोडेर, संसद रित्तै पारेर एउटा धारोको टुटी खोल्न जान मन पर्छ मलाई ।

मैले नछोई विकासको कुनै डोजर एक ईन्च अघि सर्नेवाला छैन । मलाई संसदको कुर्सीमा बोरलाग्दो बसाई गर्नुभन्दा भर्खरै पिच गरेको बाटो अनुगमन गरेको फोटो बेलुका फेसबुकमा पोष्ट नगरी नगराई निद्रा लाग्दैन मलाई । किन हो किन आफूबाहेक अरु सबै विकासविरोधी जस्तो लाग्न थालेको छ मलाई । त्यहीकारण संसददेखि श्रद्धाञ्जलीसभा सबैमा उनीहरुलाई थर्काउने भाषण हुन्छ मेरो ।

राजनीतिमा नलागेको भए मेरो हविगत के हुन्थ्यो होला ? तर, यो सोच्नु बेकार छ ।

घर वरिपरि मानिसको भीड लागे पनि म मेरो विस्तरामै छु । म अलि सोचमग्न छु । राजनीतिमा नलागेको भए मेरो हविगत के हुन्थ्यो होला ? तर, यो सोच्नु बेकार छ । विख्यात अंग्रेजी कवि रवर्ट फ्रोष्टले द रोड नट टेकनमा भनेजस्तै म राजनीतिको बाटो हिडेँ र यहाँ छु ।

नहिँडेको बाटोको किन कुरा गर्ने ? म राजनीतिमा यति डुबेर लागेछु कि मेरो आलिसान महल कसरी बन्यो, मजस्तो सामान्य मानिसको विभिन्न कम्पनीको सेयर त्यत्रो कित्ता कसरी आयो, मेरो नाउँमा राम्रा—राम्रा ठाउँमा जग्गाका टुक्रा कसरी आए थाहै छैन । श्रीमतिका गलामा ढकमक्क सुन छ । मेरो बैंक खातामा त धेरै पैसा हुँदैन । तर, उनको नाममा त वाफ् रे वाफ् !

प्हिलोपटक मन्त्री हुँदा मजस्तो निष्कलङ्क मन्त्री कोही थिएन । मेरो मन्त्री अवधिमा मैले हज्जारौँ फाईल सदर गरेँ होला । सबैजसो फाईल देश र जनतालाई शीरमा राखेर एक पैसाको पनि लोभ नगरी इमान्दारीपूर्वक सदर गरेँ मैले ।

एकदिन मन्त्रालयमा एउटा मानिस आयो । कुरा बुझ्दै जाँदा ऊ मेरै निर्वाचन क्षेत्रको मतदाता रहेछ ।

ऊ बोल्यो —“चुनाव आउँदैछ, के छ तयारी ?”

मैले भनेँ –“संगठन राम्रो बनाइएको छ । यसपाली पनि म चुनाव जित्छु । पैसा सबै थोक होइन ।”

उसले ओठ लेप्रायो, टाउको हल्लायो र भन्यो—“तपाईंले चुनाव जित्नुहुन्न, अब कहिल्यै जित्नुहुन्न ।”

किन ?
मैले उत्सुकतापूर्वक सोधेँं ।

“कान्छी नानी कति छ ?” उसले उसको बुढी औंला र चोर औंला फिस्दै भन्यो, “तपाईंको प्रतिष्पर्धीले दश करोड खर्च गर्दैछ रे ! पैसा ओछ्याएर जित्छ उसले ।”

म बोलिनँ । किनभने मसँग चुनावमा खर्च गर्ने त्यति धेरै पैसा थिएन ।

मेरो ऊसँग दोस्ती शुरु भयो । उसले ल्याएको फाईल म नपढी सदर गर्न थालेँ । मेरो आवश्यकता उनीहरुले पूरा गर्दै गए, अहिले पनि गरिरहेछन् ।

अब ऊ उत्साहित देखियो । धक नमानी यसो भन्यो—हेर्नोस् दाई, आदर्शवादी भएर हुदैन । कोही पनि जोगी हुन राजनीतिमा लागेको हुँदैन । प्लीज, हामीले भनेको एउटा कुरा मान्दिनोस्, तपाईंले चुनाव जित्नुभयो, तपाईंको तीन पुस्ता बन्यो ।

मेरो ऊसँग दोस्ती शुरु भयो । उसले ल्याएको फाईल म नपढी सदर गर्न थालेँ । मेरो आवश्यकता उनीहरुले पूरा गर्दै गए, अहिले पनि गरिरहेछन् । क्रिस्टोफर मार्लोको विश्वविख्यात नाटकको प्रमुख पात्र डाक्टर फस्टसलाई मेफिस्टोफिलिसले उसका हरेक माग पूरा गरेजस्तै । मलाई कहिलेकाहिँ यस्तो लाग्दछ—तुलाको एकातिर मेरो निर्वाचन क्षेत्रका सबै नेता कार्यकर्ता र मतदाता र अर्कोतिर ऊ राख्ने हो भने ऊ नै बढी ओजनदार हो ।

म सोचमग्न रहेकै अवस्थामा मेरो मोबाईलमा घण्टी बज्यो । अज्ञात नम्बरबाट खबर आयो —“सपथ ग्रहण आठ बजे ।”

म तयारीमा लागेँ । दाह्री काटेँ । नुवाई धुवाई गरेँ । दौरा सुरुवाल लगाएर बुढी आमाले तयार पारेको टीका सगुन ग्रहण गरेर घर बाहिरको भीड पन्छाउदै झण्डावाल गाडीतर्फ अगाडि बढेँ । सुरक्षाकर्मीले गाडीको ढोका खोल्न गाडीको ह्याण्डल ताने ।

अ‍ैया ! मेरो घुँडो त आफू सुतिरहेको खाटमा पो ठोक्किएको रहेछ । म ब्यूँझेँ । सात बजेको रहेछ । हतार— हतार रेडियो खोलेँ ।

गाडीको ढोका खुलेन ।

वरिपरि तैनाथ सुरक्षार्मी आएर ह्याण्डल ताने । फेरि ढोका खुलेन । सपथको समय घर्कन लागेको थियो । मेरो वेचैनी बढ्दै थियो ।
मैले आफ्नो बल सम्झेँ ।

दस जना लडाकुले आक्रमण गर्दा उनीहरु सबैलाई किक हानेर फुत्केको सम्झेँ । सबै सुरक्षाकर्मीलाई हटाएर आफै गाडीको ढोकाको ह्याण्डल तान्न तम्सेँ । हतारमा मेरो घुँडो नराम्ररी गाडीमा ठोक्कियो । ड्याम्म !

अ‍ैया ! मेरो घुँडो त आफू सुतिरहेको खाटमा पो ठोक्किएको रहेछ । म ब्यूँझेँ । सात बजेको रहेछ । हतार— हतार रेडियो खोलेँ ।

रेडियोले समाचार भन्दै थियो—“मन्त्री छनोटको मापदण्ड तयार, एकपटक मन्त्री भइसकेकालाई पुःन मन्त्री नबनाइने….!

प्रतिक्रिया
सम्बन्धित