बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सत्र साल दोहोर्‍याउने दुस्प्रयास

राजेन्द्र अर्याल २०७६ असार १६ गते १५:४४

-राजेन्द्र अर्याल

यतिबेला सरकारको बदनाम गरेर डगमगाउने परिस्थितिको निर्माण गर्न सकिन्छ कि भनेर सामाजिक सद्भाव भड्काउने प्रयत्न भइरहेका छन् । राजनीतिक रुपमा तर्कहरु कमजोर हुँदै गएपछि साम्प्रदायिक र भावनात्मक पक्ष भड्काउने अवस्थाको सिर्जना गर्न खोजिदैछ । वर्तमान प्रधानमन्त्री केपी ओलीलाई आइकन बनाउँदै गएको संसदीय चुनावमा नेकपाले पाँच वर्ष सत्ता संचालन गर्न जिम्मेवारी प्राप्त गर्‍यो । तर, अहिले सरकारको आलोचना बढिरहेको छ ।

यो अवस्थालाई चिर्न कर्मचारीतन्त्रको सोँच र कार्यशैली परिवर्तन तथा कार्यसम्पादनका आधारमा कतिपय मन्त्रीहरुलाई बिदा गर्नुपर्ने बेला आएको छ भने जनताको भावना र प्रधानमन्त्रीको स्प्रिड अनुसार काम गर्ने व्यक्तिहरुको इनिङ जरुरी छ । जुन कार्य नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीका लागि चुनौतिको विषय त छँदैछ तर, नेतृत्वले एकदम अघि बढेर नै पहल गर्न अपरिहार्य छ । यसका लागि प्रधानमन्त्री निर्मम पनि बन्न सक्नुपर्ने बेला आएको छ । अपरेशन गर्दा दुःख हुन्छ, अंगभंग पनि हुन सक्छ, रगत बग्छ तर, शरीरको अर्को भागमा रोग सर्दैन । ओखतीमुलोले निको नभएपछि अप्रेशन नै अन्तिम विकल्प हो, यसमा सर्जनहरु निर्मम बन्नै पर्छ । सबैसँग राम्रो हुन्छु, कसैको चित्त दुखाउँदिन भन्ने हो भने न्यायाधीशले पनि न्याय दिन सक्दैन । तसर्थ, अहिलेको चुनौतीलाई अवसरका रुपमा सदुपयोग गर्न विलम्व गर्नुहुँदैन ।

प्रहारको निशाना बनिरहेका छन् प्रधानमन्त्री ओली, ओली सरकार र ओली अध्यक्ष रहेको नेकपा । प्रहार गर्नेहरुको निशाना ठिक ठहर्‍याएका छन्, किनकी ओलीलाई कमजोर बनाउन सकियो भने सरकार असफल हुन्छ, यो सरकार असफल भयो भने बहुमत प्राप्त नेकपाको ओरालो दिन शुरु हुन्छ भन्ने विश्लेषण गरेको पाइन्छ ।

पहिला बल लगाएर झार्न खोज्छ, बलले सक्दैन, बुद्धि लगाएर तल झार्न खोज्छ त्यसमा त झन् सक्दैन । अनि अज्ञानी छ, कमजोर छ भनी दुस्प्रचार गरेर झार्न खोज्छ, त्यसमा त झन् फेल खान्छ, झार्न सक्दैन । त्यसपछि हजार मान्छेसँग जोडेर चरित्र हत्या गरेर तल झार्न खोज्छ, सत्य कुरा पो सत्य हुन्छ झूठ त हजार पटक दोहोर्‍याए पनि कहिल्यै सत्य हुँदैन । त्यसैले यसरी त झर्न सक्दै सक्दैन । अन्त्यमा केही जोर नचलेपछि झुठको पुलिन्दा बनाउँछ र घरपरिवार भाँड्न उदृत हुन्छ । कतै सुने/पढेको यो प्रसंग अहिले केपी ओली नेतृत्वको सरकार माथिको प्रहारसँग ठ्याक्कै मेल खान्छ ।

गठबन्धन गरेर ओलीको नेतृत्वको चुनावमा होमिनासाथ निशानामा पर्दै आएको परिदृश्यमा बहुमत हाँसिल गर्दै सरकार गठन गरी नेपालको समृद्धितर्फ यात्रा गर्दै गर्दा त चौतर्फी प्रहारको सामना गर्नुपरिरहेको छ नै । यो प्रहारको निशाना बनिरहेका छन् प्रधानमन्त्री ओली, ओली सरकार र ओली अध्यक्ष रहेको नेकपा । प्रहार गर्नेहरुको निशाना ठिक ठहर्‍याएका छन्, किनकी ओलीलाई कमजोर बनाउन सकियो भने सरकार असफल हुन्छ, यो सरकार असफल भयो भने बहुमत प्राप्त नेकपाको ओरालो दिन शुरु हुन्छ भन्ने विश्लेषण गरेको पाइन्छ । त्यसैले अहिले एकपछि अर्को गर्दै प्रहारको केन्द्र ओलीलाई बनाउँदै आएका छन् । प्रहारका निशाना असफल सावित हुँदै गएपछि नयाँ नयाँ फण्डा, तिकडमवाजी र जाल फ्याँकिदैछ ।

सबै अस्त्र निष्फल बनेपछि हुसेनसँग दाँजेर हुर्मत लिने कमजोर कडी समाइयो, यो पनि डुब्तेको सिन्के साहारा सिवाय केही हुन सकेन तर, बदनाम गर्ने प्रयत्न निरन्तर जारी छ ।

चुनावदेखि नै अधिनायकको बेलुन खुबै उडाइयो । अधिनायकको बेलुनको हावा खुस्केपछि गंगामायाको पुच्छर समाएर वैतर्नी तर्न खोजियो, त्यो पनि मिथ्या सावित हुन पुग्यो । त्यसपछि गोविन्द केसीको काँधमा बन्दुक राखेर पड्काउन खोजियो तर, त्यो पनि भुत्ते भयो किनकी बारुद भनेर बन्दुकको नालमा कपास भरिएको थियो । त्यसपछि निर्मला पन्तको विषय उछालियो, नेपाली काँग्रेसका भिजलान्ते र राजसंस्थाको प्रेतात्मा बोकेका मनुवाहरुलाई आन्दोलनकारीको फेटा गुथाएर । त्यो प्रयास पनि विफल हुन पुग्यो । कहिले होली वाइन त कहिले विधेयकका विषयलाई मसला बनाइयो तर, ती पनि पानीका फोका जस्तै बने । कहिले प्रधानमन्त्री ओलीलाई अधिनायकवादीका रुपमा चित्रित गरियो त कहिले जंगबहादुरसँग तुलना गर्दै बदनाम गर्ने कोशिस गरियो । यी सबै अस्त्र निष्फल बनेपछि हुसेनसँग दाँजेर हुर्मत लिने कमजोर कडी समाइयो, यो पनि डुब्तेको सिन्के साहारा सिवाय केही हुन सकेन तर, बदनाम गर्ने प्रयत्न निरन्तर जारी छ ।

बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, कर्मचारीतन्त्रको पुरातनवादी सोँच शैली एवं संस्कृति र समुदायमा हुर्कदो नकारात्मक चिन्तनबाट उत्पन्न जनअसन्तुष्टिको त्यान्द्रो समाउँदै सरकारमाथि प्रहार गरिदैछ । यसका लागि कुन कुन शक्ति स्वार्थी समूह र व्यक्ति बीचको गठबन्धन बनाएर मुलुकमा अराजकता, अन्याैलता र अस्थिरता सिर्जना गर्न सकिन्छ, त्यसका लागि अँध्यारो कुनामा बसेर डिजाइन भइरहेको छ । यसका लागि भित्र र बाहिरका केही शक्तिहरु सक्रिय रहेको भनाई पनि आएका छन् । जुन कुरा नेकपाका प्रमुख सचेतक देव गुरुङले केही दिन अघि संकेत गर्दै अभिव्यक्त गरेका छन् । अहिले इतिहासको पुनरावृत्ति गर्ने दुस्प्रयास भैरहेको त छैन भन्ने आभाष पनि मिल्न थालेको छ । अर्थात् २०१५ सालमा नेपाली काँग्रेसले दुईतिहाई प्राप्त गरेको बेला महेन्द्र राजाले काँग्रेस सरकारलाई असफल पार्न जुन षड्यन्त्रमूलक योजना बुनेका थिए र २०१७ सालको घटना भएको थियो त्यसैगरी अहिले पनि केही शक्ति त्यसैगरी लागेको त छैन ? चाहे संविधान संशोधनको बहानावाजीमा होस् वा हिन्दुराज्य बनाउने निहुँमा होस् सके वर्तमान संविधान र व्यवस्था उल्ट्याउने नसके वर्तमान सरकार असफल बनाउन भरमग्दुर प्रयत्न भइरहेको परिदृश्यले बताइरहेका छन् ।

उता, ताजा जनादेश आइसकेपछि पनि सत्ता छाड्न नमान्ने काँग्रेसले अधिनायकवादको बाँसुरी बजाइरहेको छ । आर्थिक समृद्धि र विकासको पथमा सरकारले पाइला अगाडि बढाउँदै गर्दा काँग्रेस आन्दोलन गर्ने भन्दै आवरोध गर्ने ध्याउन्नमा लाग्यो तर, काँग्रेसको जनजागरणरुपी आन्दोलन पार्टी प्यालेसबाट शुरु भएर त्यही अन्त्य हुन पुग्यो । कहिले गंगामायाहरुको पुच्छर समाएर बैतर्नी तर्न खोज्छन् त कहिले गोविन्द केसीहरुको काँधमा राखेर बन्दुक पड्काउन खोज्छन् । यी योजना पानीको फोका बराबर निष्फल बनेपछि निर्मला पन्तको घटना उछालेर सरकार ढलाउनेसम्मका सपना देखियो । कहिले के विधेयकलाई सिरानी हालेर त कहिले के विधेयकलाई सिरानी हालेर सरकारको बदनाम गर्ने काम निरन्तर जारी छ । एजेण्डाविहीन नेपाली काँग्रेस र नेपालमा स्थिरता, समृद्धि र विकास भएको देख्न नचाहने तत्वको गठजोडमा बेलाबखत विभिन्न उपद्रो मच्चाउने कार्य भइरहेको छ । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने काँग्रेसले कुनै एजेण्डा नभेटाएपछि संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्नबाट रोक्नसम्म पुग्यो । काँग्रेसको यो हर्कत संसदीय अभ्यास विरोधी नै थियो । यो गठजोडको उद्देश्य भनेको सरकारमाथि घेरबन्दी गर्ने, बदनाम गर्ने र असफल तुल्याउने नै हो । जुन परिदृश्यमा देख्न सकिन्छ ।

यस्तो अवस्थामा एकमना र एकताका साथ प्रतिरोध गर्नुपर्नेमा पार्टीभित्रबाटै र बाहिरबाट झुसिला डकार आउनु दुर्भाग्यपूर्ण विषय हो ।

त्यसो त नेपालमा राजनीतिक संक्रमणकाल टुङ्गिएको कतिपय पात्र, शक्ति र स्वार्थ समूहलाई मन परेको छैन । स्थिरतासँगै विकासपथमा अघि बढिरहँदा छटपटाहट देखिएको छ । नेकपा एमाले र एमाओवादीको एकता भएको असह्य भएको छ, बामपन्थीहरुको सरकार बनेकोमा पीडा छ । त्यसमाथि केपी ओली प्रधानमन्त्री बनेको पटक्कै मन परेको छैन । एउटा सर्कल छ जसले यो सरकारका सबै कामलाई खराबै खराब देख्छ । उनीहरुले बहस गर्दा मलाई मन नपरेको सरकार छ मन नपरेको आइडोलोजीले काम गरिरहेको छ, मुलुक हाँकिरहेको छ, मलाई मन नपर्ने मान्छेहरु सत्तामा बसेका छन् त्यसैले मैले विरोधै विरोध गर्नुपर्छ भन्ने ठान्छन् र पानी धमिलो पार्न उद्धत देखिन्छन् । नदीलाई धमिलो पार्न सकियो भने माछा मार्न पाइन्छ कि भन्ने आशा पालेर बसेका छन् । त्यस्तै मेसोमा पूर्वराजा ज्ञानेन्द्र शाहका डब्डबाएका आँशु झार्नेदेखि डा. बाबुराम भट्टराईहरु पनि मिसिन पुग्नुले के कुराको संकेत गर्छ ? कुरा प्रष्टै छ । कतै सामाजिक सद्भाव खल्बल्याएर उज्याउँदै गरेको छवी समाजवादको उन्मुख व्यवस्थाका लागि सरकारले बनाउँदै गरेको आधार, स्वाधीन अर्थतन्त्रको जग बसाल्ने कार्य गरिरहँदा पनि अप्रिय टिप्पणी भइरहेका छन् । अस्थिरता फैलाउने प्रयास जारी भएको देख्न सकिन्छ । नेपाललाई फेरि अन्योलग्रस्त नै बनाउने एउटा तत्व सल्वलाउन थालेको छ ।

यस्तो अवस्थामा एकमना र एकताका साथ प्रतिरोध गर्नुपर्नेमा पार्टीभित्रबाटै र बाहिरबाट झुसिला डकार आउनु दुर्भाग्यपूर्ण विषय हो । पार्टीभित्रबाट अवरोधका जंजिरहरु तोड्दै देशको समृद्धि यात्रामा काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जहाँनेर सरकारको विरोधमा आगो बल्छ त्यही आगोमा मट्टितेल छर्कने काम हुनु विडम्वनापूर्ण देखिन्छ । पार्टीभित्र मुलुकको र पार्टीको भविष्यप्रतिको चिन्ता भन्दा भातको चिन्ता बढेको पाइन्छ । अर्थात् पार्टी भित्र भाते प्रवृत्ति र चिन्तन हुर्कदो छ । देश र पार्टी रहे, पद र सत्तामा जहिले पनि पुगिन्छ बोट नै नरहे कसरी फल खान पाइन्छ त ? तसर्थ, यो कुराको सबैले हेक्का राख्न जरुरी छ ।

गएको आम निर्वाचनमा तत्कालीन एमाले र एमाओवादीको गठबन्धनलाई जनताले उत्साहपूर्ण मत दिएका छन् । ओली नेतृत्वको चुनावी अभियानलाई विश्वास गरेर ओलीको पहिलो प्रधानमन्त्रीत्व कालको काम गराइबाट उत्साहित जनताले कम्युनिस्टलाई इतिहासमै पहिलोपटक दुईतिहाईको नजिकको सरकार निर्माण गर्न जनादेश प्रदान गरेका हुन् । तर, अहिले सरकारमाथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहन्छ । त्यसैलाई बल पुग्ने गरी भइरहेका क्रियाकलापले नेपालको ७० वर्षको कम्युनिष्ट आन्दोलनमा अहिले ग्रहणको अनुभूति गराइरहेको आभाष पनि मिल्न थालेको छ । कार्यकर्ताले बगाएको पसिना तथा निष्कपट पार्टीप्रतिको समर्पण र जनताको त्यो उत्साहलाई निराशामा बदल्ने जबर्जस्त खेल भइरहनु दुःखद पक्ष हो ।

पार्टी भित्रका मतभेदलाई पार्टीभित्रै व्यवस्थापन गरेर कार्यकर्ताको भावनालाई आत्मसात गर्दै, जनचाहनालाई सम्बोधन गर्दै सरकारले पाइला चाल्नु पर्दछ भने सरकारलाई काँध थापेर पार्टीको सिंगो नेतृत्व अघि बढ्नु पर्दछ ।

दुईतिहाईको सरकार भएकोले जनताका अपेक्षा धेरै छन् । जुन स्वभाविकै हो । जनताले सरकारले अझ छिटो परिणाम र डेलिभरिको अपेक्षा गरेका छन् । सरकारले लिएको दिशा सही छ । प्रधानमन्त्री ओलीले गरेको दिशानिर्देश, देश विकास गर्ने दृढ संकल्प, इच्छशक्ति, दिनरातको चिन्तन मनन् अहोरात्र खटाई सही छ र परिवर्तनका लागि हलचल पैदा गरेको छ । तर, परिवर्तन गर्दा हलचल कतिपय बेला कष्टप्रद नै हुन्छन् । यसका लागि सबैभन्दा पहिला पार्टी नेता र पार्टी पंक्तिबाटै ससाथ सहयोगको जरुरी हुन्छ । तर, अहिले त्यस्तो हुन सकिरहेको छैन । यस विषयमा ध्यान दिन जरुरी छ । त्यसैगरी, सरकारले गरेका राम्रा कामहरुको सन्देश जनस्तरमा प्रवाह हुन सकिरहेको छैन, यस विषयमा गम्भीर बन्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि सिंगो पार्टी पंक्तिलाई कर्मी मौरीका रुपमा उतार्ने वातावरणको निर्माण र कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने जरुरी छ । अहिले राजनीतिक हिसाबले बेरोजगारजस्तै बनेका तह–तहका नेता कार्यकर्तालाई परिचालनमा कठिनाई छ ।

प्रधानमन्त्री ओलीको दिल, दृष्टि, दूरदर्शिता र स्वप्निल योजनाको लय पक्रिनेगरी काम अझ अघि बढाउनुको विकल्प छैन । समृद्ध नेपाल, सुखी नेपालीको संकल्पलाई पूरा गर्न यो यात्रामा आइपर्ने चुनौती र अवरोधलाई छिचोल्ने साहस, योजना र तयारीका साथ डटेर सामना गर्ने सामर्थ्य राख्नुपर्छ–ओली सरकारले । र, पार्टी भित्रका मतभेदलाई पार्टीभित्रै व्यवस्थापन गरेर कार्यकर्ताको भावनालाई आत्मसात गर्दै, जनचाहनालाई सम्बोधन गर्दै सरकारले पाइला चाल्नु पर्दछ भने सरकारलाई काँध थापेर पार्टीको सिंगो नेतृत्व अघि बढ्नु पर्दछ । यसो भएमा सबै अवरोधको सामना गर्न र छिचोलेर अघि बढ्न सरकारलाई आत्मबल प्रदान हुन्छ । यसैमा नै नेपाल र नेपालीको भविष्य निर्भर छ ।

प्रतिक्रिया
सम्बन्धित