काठमाडौँ, १४ असार । बक्सिङ खेलका राष्ट्रिय खेलाडी प्रियङ्का बर्मालाई पोखरामा रहेका खेल सङ्घ संस्थाले आर्थिक सहयोग गरेका छन् । भारतको पटियालामा सञ्चालन हुने एक वर्षको ‘स्र्पाेर्टस इन डिप्लोमा’ कोर्षको तालीममा सहभागी हुन जान लाग्नुभएकी उहाँलाई खेल सङ्घ संस्था तथा विभिन्न व्यक्तिले रु एक लाख ३७ हजार सहयोग गरेका हुन् ।
आर्थिकरूपमा कमजोर बर्मालाई आज ‘ओलम्पिक डे’ को अवसरमा पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका सदस्य राजेन्द्र पहारीले रु २५ हजार, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले रु २० हजार, कास्की जिल्ला खेलकूद विकास समितिले रु २० हजार र राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले रु १७ हजार सहयोग गर्नुभएको हो ।
त्यसैगरी बुल्समेन क्लबले रु १५ हजार, गणेशबहादुर भट्टराईले रु १० हजार, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी सङ्घ कास्कीका अध्यक्ष दीपकबहादुर गोदारले रु १० हजार, रु सुरेश मल्लले १० हजार, बक्सिङ सङ्घले रु पाँच हजार र कास्की जिल्ला उसु सङ्घका अध्यक्ष योगेन्द्रबहादुर केसीले रु पाँच हजार आर्थिक सहयोग प्रदान गर्नुभयो ।
नेपालमा अहिलेसम्म बक्सिङ खेलको महिला प्रशिक्षक नरहेकामा बर्माले सो कोर्ष पूरा गरेर फर्केपछि प्रशिक्षणका लागि योग्य हुने बताइन्छ ।
जिल्ला बक्सिङ सङ्घले कास्कीबाट ओलम्पिक खेलमा पदक विजेता, प्रतियोगितामा सहभागी खेलाडी एवं प्रशिक्षक चित्रबहादुर गुरुङ, सुरेश मल्ल, गणेशबहादुर भट्टराई र लोकबहादुर गुरुङलाई सम्मान गरेको हो । –रासस















प्रतिक्रिया