लिस्बन । कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् ।
काभ्रे, गणेस्थानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् ।
सन् २०१६ देखि पोर्चुगल बस्दै आएका तामाङले सन् २०१६ र २०१८ को बीचमा पोर्चुगलमा भएका छुट्टाछुट्टै म्याराथुन दौडमा प्रतिस्पर्धा गरेर नौ स्वर्णपदक हात पार्न सफल भएका छन् ।
हाल २०१९ मा आयोजना भएका सात छुट्टाछुट्टै ट्रेल म्याराथुन दौडमा सहभागी भई तामाङले तीन स्वर्ण र दुई रजत हात पार्न सफल भए । विदेशीसँगको कडा प्रतिस्पर्धासँगै आफूलाई अब्बल साबित गरेका तामाङले पोर्चुगलमा आफू उत्कृष्टमध्येकै एक भएको दाबीसमेत गरे ।
सन् २००६ मा भक्तपुरमा आयोजना भएको पाँच किलोमिटर म्याराथुन दौडबाट यस क्षेत्रमा प्रवेश गरेका तामाङले १८० किलोमिटर लामो अन्तर्राष्ट्रिय म्याराथुन दौडसम्मको उचाइमा आफूलाई उभ्याउन सफल भएका छन् ।
उने दुई–दुई पटकसम्म १८० किलोमिटर लामो अन्तर्राष्ट्रिय म्याराथुन दौडमा प्रतिस्पर्धा गरे, त्यो पनि विदेशी भूमि फ्रान्समा । सो प्रतिस्पर्धामा उनी निरन्तर २२ घण्टा दौडिए ।
बाल्यकालदेखि नै खेलकूदको क्षेत्रमा रुचि र आकर्षण रहेका कारण यस क्षेत्रमा आएका तामाङ शुरुआती चरणमा भने फुटबल, बक्सिङ र मार्सलआर्टको खेलाडी थिए ।
त्यसबखत बक्सिङमा सङ्घर्ष गर्दै आएका तामाङले सन् २००६ मा श्रीलङ्कामा बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपालमा भएको छनोट चरणकै खेलमा आफ्नो नाक भाँच्चिएपछि श्रीलङ्काको यात्रासँगै बक्सिङको यात्रामा समेत पूर्णविराम लागेको बताए ।
“बक्सिङ खेल्दा नाक भाँच्चियो । मेरो बक्सिङको यात्रा पनि रोकियो । तर म रोकिइनँ, निरन्तर अगाडि बढिरहेंँ” उनले भने, “मैले खेल क्षेत्रको बाटो नै मोडिदिएँ र एउटा अल्ट्रा धावकका रूपमा अगाडि आएँ, केही गर्नुपर्छ भन्ने आत्मबल र खेलप्रतिको लगावले नै मलाई सफल बनाएको हो ।”
सन् २००७ मा नेपालमा भएको ७० किलोमिटरको अन्नपूर्ण अल्ट्रा दौडमा तामाङ प्रथम हुन सफल भए । यो उनको पहिलो राष्ट्रियस्तरको प्रतिस्पर्धा थियो ।
दौडमा प्रथम भएसँगै तामाङलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पहिलोपटक विदेशमा भाग लिन जाने अवसर समेत जु-यो ।
“विदेश जाने अवसर पाउँदा आफू निकै भाग्यमानी भएको अनुभूत भयो । यो अवसर नै मेरो जिन्दगीको सफलताको ‘टर्निङप्वाइन्ट’ हो”, विगत सम्झँदै तामाङले भने, “हो त्यही हौसला र उत्साहले नै आज देशमा मात्र नभएर विदेशमा समेत अल्ट्रा धावकको रूपमा चिनिएको छु ।”
नेपालमा साना–ठूला गरेर दर्जनौँ प्रतियोगितामा सहभागी भएका तामाङको पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भने सन् २००७ मा हङकङमा भएको थियो ।
हङकङमा भएको ‘हङकङ १०० किमी दौड प्रतियोगिता’ मा उनी दोस्रो भए । पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएसँगै तामाङको विदेश यात्राले निरन्तरता पाउँदै गयो ।
सन् २००७ मा मलेशियामा भएको १७ किलोमिटरको दौड प्रतिस्पर्धामा दोस्रो भई आठ हजार डलरसमेत प्राप्त गर्न सफल भएको उनले बताए । सन् २००८ मा सिङ्गापुरमा भएको अन्तर्राष्ट्रिय माउण्टेन दौडमा स्वर्णपदक हात पार्न सफल भएका तामाङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको यात्रा एकपछि अर्को गर्दै थपिँदै गयो ।
सन् २०१२ मा मलेशियामा भएको २७ किमी स्काइ म्याराथुनमा उनले स्वर्णपदक जित्न सफल भए । हङकङबाट शुरु भएको अन्र्तराष्ट्रिय प्रतिस्पर्धा मलेशिया, फ्रान्स, सिङ्गापुर, स्वीट्जरल्याण्ड, पोर्चुगललगायत गरी आधा दर्जनभन्दा बढी देशमा सहभागिता जनाउँदै पछिल्लो समय युरोपमा रहेर तामाङ सफलताको शिखर चुम्दै अगाडि बढिरहेका छन् ।
सन् २०१२ मा फ्रान्समा भएको १८० किलोमिटरको लामो अल्ट्रा ट्रेल दौडमा प्रतिस्पर्धा गर्दाको क्षण आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण र स्मरणीय रहेको तामाङ बताउँछन् । साँझ ६ बजे फ्रान्सबाट शुरु भएको दौड स्वीट्जरल्याण्ड–इटाली हुँदै पुनः फ्रान्स आइपुग्नुपर्ने थियो । बाइस घण्टा निरन्तरको दौड जीवनभर सम्झनलायक रहेको तामाङले बताए ।
साँझ ६ बजेबाट दौडिएका उनी भोलिपल्ट दिउँसो ४ बजेसम्म निरन्तर दौडिए । उक्त दौडमा उनले १३औँ स्थान हासिल गर्न सफल भएका थिए । यस्तै खालको १८० किलोमिटरको लामो दौड उनले फ्रान्समा पुनः सन् २०१३ मा भाग लिए तर सो प्रतिस्पर्धामा भने आफूले दौड पूरा गर्न नसकेकोमा दुःख लागेको बताए ।
विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दर्जनौँपटक नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका तामाङको खेल क्षेत्रले गति लिए पनि आयआर्जनको पाटोले भने सोचेअनुरुप गति लिन सकेन ।
















प्रतिक्रिया