बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

एकै स्वरमा भनौं– जय चाकरी !

विनोद ढकाल २०७६ असार १२ गते ११:२८

-विनोद ढकाल

कार्यकर्ताको लामो हूलले सामाजिक दायित्व, सार्वजनिक महत्वमा आफूले जनताको सेवाका निम्ति गरेका कतिपय कसम खाएको मिति विर्सिएका छन् । तर, नेताको जन्म, विवाह र अनेक प्रकारका मिति उसले विर्सिएको छैन । यसैले अनेक विशेषणमा सामाजिक सञ्जालमा नेताका तस्बिर टाँसेर दिएका बधाई र शुभकामनाको थाक, त्यसमा आउने प्रतिक्रियाका महाथाक हेर्दा प्रश्नले घोचपेच गर्छ । यो सम्मान हो की, चाकरी ? यो सौहार्दता हो की, चाकरी ?

यसमाथि घोत्लिँदा अनेक कोणबाट एउटै उत्तर निस्कन्छ– चाकरी । मन्थनका अनेक गन्थनसँग रुमल्लिँदा देखिने अर्को उत्तर निस्कन्छ– लम्पसारवादी । यसलाई चाकरीकै दृष्टिबाट व्याख्या गर्नुपर्छ । ‘चाकरी’ गर्नु कुनै नराम्रो होइन । तर, यो कसले कुन आयामका लागि कसरी गरिरहेको छ भनने विषयचाहिँ व्यवाहारिक हिसाबले सोच्नुपर्ने कुरा हो ।

नेपाली समाजमा उल्टो प्रथामा चाकरी चलिरहेको छ । चाकरीको अर्थ चाकर गर्नु । सेवा गर्नु हो । संसदीय प्रणालीसहित संघीय राज्य प्रणालीका तीन तहको सरकारमा हामीले जन प्रतिनिधि पठाएका छौं । उनको काम जनताको चाकर गर्ने हो । तर, उल्टो छ । जनताले चाकर गरिदियोस् भन्ने आत्मरतीले नेता उद्दत छन्, तिनका कार्यकर्ताले उनको आत्मरतीलाई बचाई राखेका छन् । चाकरी गरिदिएर ।

हालै गुठी विधेयको विरोधमा माइतिघर मण्डलामा एक जना सज्जनको भाषण निक्कै गज्जबको लागेको थियो । उनले नेतालाई जनताका सेवक भने । जनताको चाकर गर्ने जिम्मा नेताको हुन्छ । तर, उनीहरूले आफूलाई जनताले चाकर गरिदियोस् भनेर मनलाग्दी निर्णय गर्न थाले । झन्डा हटाउने, गुठी भत्काउनेलगायतका निर्णय । के, त्यहि जिम्मा दिएको हो की जनताले विकासका कामका लागि त्यहाँ पुराएको ? –उनको प्रश्न थियो ।

यो सह्रानीय प्रश्न थियो । वास्तवमा राजनीति गर्नेले आफूलाई कति पानीमा राख्ने भन्ने नै विर्सिए । जनमतका आधारमा पदमा पुग्ने, मत माग्दा सेवक हुँ भन्ने तर पदमा पुगेपछि चाकर खोज्ने प्रवित्ति लोकतन्त्रको सौन्दर्यता मास्ने अनैतिक कर्म नै हो ।

लोकतन्त्र, गणतन्त्रको व्यवाहारिक प्रयोग भनेको निर्वाध र निष्पक्ष हिसाबले जनता जनार्दन अर्थात् कुनै आमुखको चाकरी नगरी सुविधा उपभोग गर्ने व्यवस्था हो । तर राज्यका हरेक संयन्त्रका अधिकारीहरूलाई हेरौं, चाकरीको कुन सीमासम्म उनीहरू अभ्यस्त छन् अनि चाकरी पाउनका लागि राजनीतिक नेता कतिसम्म अभिसप्त छन् ? यसको आँकलन सबैले गर्न सक्छन् ।

राजनीतिक पार्टीका जिम्मेवारीका विषय हुन् अथवा सरकार सञ्चालनका विषय जब कुनै आमुख नेताको कोटा र कोटरीबाट फुत्त–फुत्त निकालिन्छ, त्यो चाकरीप्रथाको नमिठो उदाहरण मान्नुपर्छ । दक्षता, क्षमता र प्रतिस्पर्धा अथवा अवसरका आधारमा नभई, नेताको खल्तीका आधारमा भइरहेको छ । यसको प्रभाव राजनीतिक दल र नियुक्तिमा सीमित छैन । यो प्रभावचाहिँ कर्मचारीतन्त्रमा पनि हावी भएको छ । कर्मचारी पनि नेताको खल्तीबाट निस्कन थालेका छन् । त्यतिमात्र होइन, यो देशको राष्ट्रिय सुरक्षा प्रणालीका अंगहरू नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमूख पनि नेताको खल्तीबाट नै निर्णित भएर आएका छन् । अनि, चाकरीको अन्त्य, लोकतन्त्रको सर्वाधिकार भनेर कुर्लिनुको कुनै अर्थ छ र ? बन्ने पनि चाकरीका कारण बनेको छ, बन्न नसकेको र ढाल्न खोज्ने पनि चाकरीमा नै व्यस्त हुन्छ । नेता र गुट पक्रिने परम्परा र प्रतिस्पर्धा ज्यादा, दक्षता क्षमता र योग्यतामा विश्वास नै नरहेपछि सबैले मिलेर भन्नुपर्छ– जय चाकरी !

राणा र राजाहरूले आफ्ना कोटरीका मानिसलाई ल्याएर राज्य सञ्चालन प्रणाली नै भत्काइएको दाबी गरिएको थियो । त्यसैको विरोधमा नै खुला स्पर्धा, लोकतान्त्रिक परम्परा र योग्यताका आधारमा अवसर खुल्छ भन्ने मान्यता बढेको हो । तर, संघात्मक व्यवस्थाको यति लामो समयसम्म आउँदा हरेक सार्वजनिक निकायदेखिका अनेक ठाउँमा हेरौं, चाकरी भन्दा केही भेटिँदैन । तिनीहरू जनउत्तरदायी भन्दा पनि नेता उत्तरदायी भएर उभिएका देखिन्छन् । प्रत्येकको अनुहारमा चाकरीको छायाँमात्र देखिन्छ, इमान इज्जत र प्रतिष्ठा त विल्कुलै देखिँदैन ।

दलाल र पुँजीपतिबाट मात्र ति आवश्यक रहर पूरा हुने भएपछि नेता, जनताभन्दा त्यतातिर अनिवार्य आकर्षित हुन थाले । अनि, तिनले गरिदिने ‘शाही चाकरी’ले नयाँ युगको राजा आफैं पो भइयो कि भन्ने भ्रमले पनि बाँध्यो, नेतालाई

व्यवस्था परिवर्तन त भयो तर परम्परावादी सोच र शाही शैलीबाट नेपाली समाज बाहिर निस्कन सकेन । घनश्याम भुसालले प्रचण्ड रहेको मञ्चमा कटु सत्य बोलेका थिए । हाम्रो राजनीतिचाहिँ अलि अलि लोभमा फस्यो, घर भए हुन्थ्यो, गाडीघोडा भए हुन्थ्यो अथवा सुकिलो लाउन पाए हुन्थ्यो भन्नेमा टुंगिन थाल्यो । यसैकारण नीजि स्वार्थले राजनीतिको व्यवाहारिक पक्ष नै कतै तुह्यो । दलाल र पुँजीपतिबाट मात्र ति आवश्यक रहर पूरा हुने भएपछि नेता, जनताभन्दा त्यतातिर अनिवार्य आकर्षित हुन थाले । अनि, तिनले गरिदिने ‘शाही चाकरी’ले नयाँ युगको राजा आफैं पो भइयो कि भन्ने भ्रमले पनि बाँध्यो, नेतालाई । यसकारण लोकतन्त्र र उपल्लो निकायसम्म जनताको सिधा पहुँचको विषय, विकास र समृद्धिमा रमाउने, आत्मनिर्भर बन्ने सपना ऐंठनमा पर्यो । त्यो ऐंठनका विचित्रका कथा खाडी, भारतलगायतका मुलुकमा पुगेको श्रम शक्ति, त्यहि श्रमशक्तिको भत्किएको पारिवारिक जीवनलाई देख्दा पुग्छ ।

समाचारमा पढिन्छ, भिडियोमा देखिन्छ । सम्पन्न मुलुकका नेताहरू पदमा बस्दा पनि त्यति नै साधारण हुन्छन्, पदबाहिर झन साधारण । एकजना बेलायती लाहुरेले भनेको सम्झन्छु– नेपालको सेनापति त जागिर सकिएपछि पनि उत्तिकै शक्तिशाली र सेवा लिँदो रहेछ । बेलायती सेनापति पदमा रहेसम्म मात्र हो, बाहिर आएपछि आम साधारण जस्तै हुन्छ । कुनै अर्दली वा सैनिक सेवक हुँदैन ।

यो उदाहरण आम साधारण भएर बाँच्ने क्षमता राख्न सकिन्छ कि सकिँदैन भन्ने मात्र होइन, पहिलादेखि बसेको थितिमा परिवर्तन गर्नुचाहिँ व्यवस्था परिवर्तन हो की, अनुहार र नेतृत्व फेर्नुमात्र व्यवस्था परिवर्तन गर्नु हो भन्ने प्रश्न हो । राजालाई करोडौंको सुविधा भयो, तिनले शक्तिको दुरुपयोग गरे, चाकरी खोजे भनेका कारण व्यवस्था परिवर्तन गरिएको थियो । त्यहि शैलीमा राष्ट्रपति, प्रधानमन्त्री वा नेताहरूलाई सुविधा दिनुपर्ने र चाकरी गरिदिनैपर्ने भयो भने व्यवस्थाको दोष देखिन्छ त ? राजनीतिक परिवर्तन भनेको कुनै एउटा सामन्ती व्यवस्थाको ठाउँमा अर्को सामन्ती व्यवस्थाको प्रतिस्थापन गर्नु होइन, त्यस व्यवाहारको निर्मूलीकरण गर्नु हो, प्रयोगात्मक रूपमा । जुन अहिलेसम्म देख्न सकिएको छैन ।

सिंहदरबारदेखि निवाससम्म कार्यकर्ता, कर्मचारी वा अवसरको खोजीमा पुगेका दलाल पुँजीपतिलाई समय दिने, तिनले ल्याएको उपहार लिने, उपहार नपाए काम दिएवापतको ठूला चलखेलमा अभिसप्त हुने, ज्यु हजुरी खोज्ने नेता होइन, चाकर खोज्ने जनताको नक्कली नोकर हो । यहि प्रवित्तिलाई स्वीकार गर्ने नै हो भने सवैले स्वरमा स्वर मिलाएर भनौं– जय चाकरी । होइन भने व्यवाहारिक परिवर्तनको खोजी गरौं, यस्ता शैली र प्रवित्तिको खुलेर विरोध गरौं ।

प्रतिक्रिया
सम्बन्धित