
काठमाडौँ, ११ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरी, विद्यालय र समाज एक साथ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
समुदाय– प्रहरी साझेदारी अभियानको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत आज प्रहरी प्रधान कार्यालयमा भएको अन्तक्र्रियाका क्रममा उहाँले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
“यही कुरा हरेक स्कुल र समाजमा बुझाउनुपर्छ भन्ने भावना जागृत भएर नै प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम ल्याएको हो”, खनालले भन्नुभयो । के काम गरे अपराध हुन्छ भन्ने जानकारी नहुँदा विद्यार्थी अपराधमा फस्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले अनुशासनमा रहनसके समस्या नआउने बताउनुभयो ।
‘प्रहरीसँग एक दिन’ कार्यक्रममा बोल्दै उहाँले भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षालगायतका क्षेत्रमा स्कुलले समेत सामान्य नियम बनाइ लागू गर्नसक्ने भएकाले यस्ता विषयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममा विस्तृत व्याख्या गरिएको उल्लेख गर्नुभयो । विद्यार्थीले राखेको जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले सभ्य समाज निर्माण गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
गल्ती गर्नेलाई कानुनसम्मत कारवाही गरिएको उल्लेख गर्दै उहाँले प्रहरीका सकारात्मक पक्षलाई पनि हेरिनुपर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण, राजश्व सङ्कलन, अपराध अनुसन्धान तथा सूचना प्रविधिको प्रयोगलगायतका काममा नेपाल प्रहरी अब्बल रहेको दाबी गर्दै उहाँले अपराध नियन्त्रणका लागि सूचना दिई प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी सम्बन्धी जानकारीका साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रमका बारेमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा लागूऔषध प्रयोग तथा यसबाट पर्नसक्ने असरबारेको ‘नसोचेको जिन्दगी’ नामक लघु वृत्तचित्र र साइवर क्राइमबारे सचेतनामूलक श्रव्यदृष्यसमेत प्रदर्शन गरिएको थियो । –रासस












प्रतिक्रिया