१८ कार्तिक २०८३, बुधबार

राजपा नेता सुमनको खुलासा : ओली सरकार आफै ढल्ने सूचना छ

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफै ढल्नेबारे आफूहरुसँग सूचना रहेको खुलासा गरेका छन् ।

‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि’, उनले भने, ‘बरु, यो सरकार आफै ढल्ने मसँग सूचना छ ।’

मंगलबार रिपोर्टर्स क्बलले आयोजना गरेको सात्क्षातकारमा उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गर्दै सरकार आफै ढल्ने टिप्पणी गरेका हुन् ।

पार्टीको अध्यक्ष मण्डलको बैठक बसिरहेको सुनाउँदै सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए ।

‘उहाँ अहिले विरामी हुनुहुन्छ । उपचार गराईरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधीले पनि काम गर्दैन । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाइएको छ’, उनले भने ।

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त सम्भावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे । उनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ । उहाँहरु र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन् । जस्तो, राष्ट्रपतिबारे उहाँहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौँ ।’

मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरुको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकता रहेको सुमनको भनाई छ । उनले भने, ‘जनताले हामीलाई एकताको लागि उत्प्रेरणा दिइरहेका छन् ।’