सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

सबैतिर चिप्लिए गृहमन्त्री थापा : माखो मार्न सकेनन् !

दैनिक नेपाल २०७६ असार १० गते १३:२६

काठमाडौं, १० असार । देशको सबैभन्दा संवेदनशील गृह मन्त्रालयको जिम्मा पाएका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले सरकारको डेढ बर्षसम्म कुनै खास मुद्दामा माखो समेत मार्न नसकेको गुनासो बढेको छ ।

नेपालमा हुने अपराध, कालोबजारी, कालो धन थुपार्नेलगायतविरुद्ध कुनै कारबाही चलाउन नसकेका थापाले राजनीतिक प्रतिशोधका निम्ति नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबन्ध गरी तिनका दुई कार्यकर्ता मार्नबाहेक अरु केहीमा उपलव्धि हात पारेनन् ।

ति दुवै विप्लव कार्यकर्ता मारिएको विषय पनि विवादीत बन्यो । सर्लाही इञ्चार्ज कुमार पौडेल इन्काउन्टरका विषयमा पूर्वगृहमन्त्री तथा उनकै पार्टीका सहकर्मी जनार्दन शर्माले सवाल उठाए– गोली ठोकिएको मान्छेको हातखुट्टा कसरी भाँचियो ?

गृहमन्त्री थापा यसअघिका अनेक प्रकरणको अनुसन्धानमा असफल भए । ति अनुसन्धानको अहिले सामान्य चर्चा समेत हुँदैन । खासगरी साढे ३३ किलो सुन विमानस्थलबाट तस्करी हुने गरेको प्रकरणदेखि नै थापा नेतृत्वको मन्त्रालय असफल देखिएको थियो ।

थापाले उक्त प्रकरणमा ‘ठूला माछा’ समेतको संलग्नता रहेको बताएका थिए । तर, त्यसप्रकरणका मुख्य भरिया भनिएका चुडामणि उप्रेती गोरेबाहेकका अन्य कोही पक्राउ गर्न सकेनन् । यसमा सरकारी छानबिन समितिले ३८ क्विन्टल सुन तस्करी विमानस्थलबाट भएको रिपोर्ट त निकाल्यो तर थापा नेतृत्वको मन्त्रालयले साढे ३३ किलो समेत भेट्न सकेन । तस्करीमा संलग्न रहेका अन्यको कुरै छाडौं ।

‘पद र प्रतिष्ठाको दुरुपयोग भन्दा केही पनि भएन । प्रहरीमा सरुवा बढुवामा बढी ध्यान दिने, सुरक्षामा कमजोर अवस्था देखियो’, एकजना पूर्व प्रहरी अधिकारी भन्छन्,‘बरु प्रहरीलाई भारतीय गाडी चेकजाँच नगर्नू भन्ने बचकना निर्णयचाहिँ गर्न लगाए, अन्य विषयमा सफल देखिएनन् । माखो मारेनन्, अहिलेसम्म ।’

थापाको कार्यकालको अर्को चर्चित र उल्झनमा परेको घटना हो, कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरण । यो प्रकरणले राष्ट्र र अन्तर्राष्ट्रियव्यापी चर्चा पायो । तर, थापा माथाहतको निकायले अहिलेसम्म सत्य तथ्य पत्ता लगाउन सकेको छैन ।

यसै विषयमा प्रतिनिधि सभामा बारम्बार बैठक अवरोध भएको थियो भने उनले पनि जवाफ दिनु परेको थियो । तर, एक इञ्च पनि सफलता हात नपारेको विषयमा थापाले खासै नयाँ कुरा बताउन सकेनन्, अझै पनि उनीसँग परिणामुखी उत्तर छैन ।

हत्याका कतिपय मुद्दा गुमनाम अवस्थामा नै छन् । राजधानीमा पूर्वराजादूत केशव शाहको हत्याका विषयमा पनि थापा नेतृत्वले कुनै सफलता हात पार्न सकेन । अनुसन्धानका लागि उनले प्रहरीलाई निर्देशन त दिए होला, तर कुनै सुराक वा परिणाम हात लागेका विवरण बाहिर आएनन् ।

थापा प्रतिबन्धित नेकपा विप्लव समूहलाई नियन्त्रणकै विषयमा पनि असफल सावित भएका थिए । एनसेललगायतका विभिन्न ठाउँमा सो समूहले विस्फोट गराउन सफल भयो भने, राजधानीमै पनि ठाउँ ठाउँमा विस्फोट राख्न सफल भयो । जसको नियन्त्रण गर्न थापाको मन्त्रालय सफल भएन ।

गएको महिनाको १३ गते देशभरको घटना प्रकरण र मंगलबारका विविध घटनाले थापाको असफलतालाई प्रस्ट बनाएको अधिकारीहरू बताउँछन् ।

बरु, उनी नागरिकतालगायतका अनेक विषयको विवादमा तानिए । नागरिकता विधेयक संसदमा विचाराधिन रहेका बेलामा अंगीकृत नागरिकता वितरणका लागि उनले गरेको परिपत्रले आलोचना मात्र खेप्नु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित