बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

के नेकपाले बहुदलीयता त्याग्न सक्छ ?

निर्मल भट्टराई २०७६ असार ९ गते ६:२९

निर्मल भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सैंद्धान्तिक निरुपण गर्ने सवालमा फेरि विवाद देखापरेको छ । ०४९ सालमा सम्पन्न तत्कालीन एमालेको पाचौं महाधिवेशनदेखि नै औपचारिक रुपमा बहुदलीयता स्वीकारेर आएको एमाले र आजका मितिसम्म बहुदलीयता औपचारिक रुपमा स्वीकार्न नसकेको तत्कालीन माओवादी पक्षविच पार्टी एकीकरण भएको एक वर्ष भईसक्दा पनि कुन पक्षको विचार हावी हुने भन्ने अझै निक्र्यौल हुन सकेको छैन ।

चुनाबको चटारोले त्यतिबेला थाँती रहेको वैचारिक विषय अहिले पुःन उजागर भएको छ । पार्टीको सिद्धान्तमा ग्रे एरिया राखेर पार्टी अगाडि बढ्न नसक्ने तर्क पार्टीको शीर्ष तहमै उठ्न थालेको परिवेशमा जबज वा जनताको जनवाद कुन भन्ने बहस फेरि शुरु भएको छ । अर्थात् बहुदलीय शब्दमा कुरा मिल्न सकेको देखिदैन ।

शान्ति प्रक्रियापछि करिब तीन दशक तत्कालीन माओवादीले अभ्यास गरेको बहुदलीयता वाध्यात्मक र रणनीतिक ( ट्याक्टिकल ) थियो भने तत्कालीन एमालेले रहरका साथ आफ्नो जीवन पद्धति बनाएर आएको थियो ।

कमरेड प्रचण्डले बहुचर्चित दश्तावेजमा त्योभन्दा अघिका दश्तावेजका कयौं ठाउँमा प्रयोग हुदै आएका नौलो जनवाद शब्दको प्रयोग नगरी बडो चलाखिपूर्वक जनताको जनवादको एक ठाउँमा प्रयोग गरेको पाईन्छ । सोही दश्तावेजमा सामन्तवाद साम्राज्यवादविरोधी पार्टीहरुको विचमा जनवादी राजनैतिक प्रतिस्पर्धा हुन सक्ने बताईएको छ । प्रष्ट भन्न सकिन्छ– एक्काईसौं शताब्दीको जनवादले बहुदलीयता स्वीकारेको छैन ।

नेकपाको कार्यक्रममा बहुदलीयता स्वीकार्दा के हुन्छ ?

–स्थापनाकालदेखि नेकपाले लोकतन्त्र गणतन्त्रको लागि गरेको संघर्षको अपनत्व पार्टीलाई प्राप्त हुन्छ,

–बहुदलीय चुनावी प्रतिस्पर्धाबाट प्राप्त गरेको सत्ता एकदलीय तानाशाहीको दिशामा जादैन भन्ने विश्वास कायम गर्न सकिन्छ ।

– अब नेकपाको नेतृत्वमा निर्माण हुने समाजवादी सत्ता हिजो विश्वका विभिन्न देशमा प्रयोग भएजस्तो एकदलीय एकाधिकारवादी हुनेछैन भन्ने देखाउछ ।

– आजसम्म नेपालका कम्युनिष्टहरुले देखाएको लोकतान्त्रिक चरित्रको पूनर्पुष्टी हुनेछ ।

लेखक

नेकपाले बहुदलीयता त्याग्दा के हुन्छ ?

– यो सकिने कुरा होईन किनभने नेपालका कम्युनिष्टहरु राजनीतिक रुपले, सांस्कृतिक हिसाबले र व्यवहारिक हिसाबले समेत बहुलवादी छन्, बहुदलीय छन् ।

– सिङ्गो नेकपा दिशाहिन हुनेछ किनभने अब यो पार्टी एकदलीय एकाधिकारवादी हुनै सक्दैन ।

– नेकपाको राष्ट्रिय अन्तरराष्ट्रिय छवि र विश्वसनीयता गुम्नेछ । पार्टीको कार्यक्रमको रुप र सारको तालमेल मिल्ने छैन र सर्वत्र अन्योल सिर्जना हुनेछ । पार्टीका अधिकांश नेता कार्यकर्ताको भावनामा चोट पुग्नेछ ।

– देशी विदेशी कम्युनिष्टविरोधी शक्तिको थप धेराबन्दी शुरु हुनेछ ।

तत्कालीन एमालेले करिब दशवर्ष सशस्त्र संघर्ष, करिब दश बर्ष संघर्षका सशस्त्र र शान्तिपूर्ण दुवै रुप र करिब तीस वर्ष शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाको राजनीति गर्दै आयो । त्यस्तै तत्कालीन माआवादीले दश बर्ष सशस्त्र युद्ध र करीब डेढ दशक शान्तिपूर्ण चुनावी प्रतिस्पर्धा गर्दै आयो । बहुदलीयतामा रजगज गर्न हुने तर स्वीकार्न नहुने नेकपाको दोहोरो मापदण्ड प्रदर्शन हुनेछ ।

ईतिहासले, परिस्थितिले र व्यवहारले नेकपालाई बहुदलीयता ईन्कार गर्ने छुट दिदैन । त्यसकारण नेकपाभित्रको “बहुदलीय” शब्दको विवाद पार्टीको समग्र जीवनसंग गाँसिएको प्रश्न हो, चानचुने सवाल होईन । दौरा सुरुवालमाथि टाई लाएर हुदैन, कि दौरा फुकाल्नुपर्छ कि टाई । आगे नेताको मर्जी !

प्रतिक्रिया
सम्बन्धित