७ कार्तिक २०८३, शनिबार

अध्ययन खर्चका लागि बाख्रापालन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ८ असार । लिशंखुपाखर गाउँपालिका–६, पेड्कुकी १५ वर्षीया स्वस्थानी भण्डारी विद्यालय समय अघि र पछि बाख्रालाई घाँस पानी गर्न व्यस्त हुन्छिन्।

बाबु आमा दुवैले छाडेकी कक्षा ९ मा अध्ययनरत स्वस्थानी मात्र हैन उनकी दिदीको पनि दैनिकी त्यही हो। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

आर्थिक अभावले पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका भण्डारी दिदीबहिनी बाख्रापालन सुरु गरेपछि पढाइलाई निरन्तरता दिन थालेका छन्।

बाबुले अर्की श्रीमती लिएर हिँडेपछि ४ वर्षकै उमेरमा आमाले पनि छाडेपछि वृद्ध हजुरवुबा र हजुरआमाको संरक्षणमा हुर्किरहेकालाई पढाइ खर्च जुटाउन हम्मे थियो।

‘बाबु आमा दुवै आफ्नो साथमा नभएपछि कापी कलम किन्ने पैसाले पिरोल्दो रहेछ’, स्वस्थानी भन्छिन्, ‘जब बाख्रापाल्न सुरु गर्‍यौं अहिले पढाइ खर्च जुटाउन सजिलो भएको छ, त्यसैले पढाइ छाड्नु परेन।’

पढाइ छाड्नै पर्ने अवस्थामा पुगेका भण्डारी दिदीबहिनीलाई गत साल ग्रामीण महिला सिर्जनशील परिवारले सुन्दर भविश्यका लागि सुन्दर बालापन कार्यक्रम अन्र्तगत २० हजार रुपैयाँ जीविकोपार्जन सहयोग गरेपछि उनीले बाख्रापालन सुरु गरेका हुन्। गत वर्ष सुरु गरेको बाख्रापालनबाट आम्दानी हुन थालेपछि आफूहरूको पढाइ खर्च जुटाउन सहज भएको स्वस्थानी बताउँछिन्।

‘आमा कता हो थाहा नै छैन, बाबा भए पनि घरमै आउनु हुन्न काम गर्नै नसक्ने हजुर बा हजुरआमाले कसरी खर्च धान्न सक्नु’, स्वस्थानीले भनिन्, ‘अहिले बोका खसी बेचेर आएको पैसाले खर्च पुर्‍याउने गरेका छौं।’

६८ वर्षीया मिठूमाया गुरुङको पीडा पनि स्वस्थानीको भन्दा कम छैन। उनका ९ र ७ कक्षामा पढ्ने नातिनीलाई पनि पढाउन नसक्ने अवस्थामा पुगेपछि सिर्जनशीलको जीविकोपार्जन सहयोग नै वरदान सावित भएको छ।

आमाले छाडेको र बाबुले अर्की श्रीमती ल्याएर काठमाडौं बस्न थालेपछि नातिनीको भविश्य अन्धकार देखेकी मिठूमायालाई बाख्रापालन सुरु गरेपछि केही राहत महसुस भएको छ।

प्यारालाइसिस भएर हलचल गर्न नसक्ने श्रीमानको औषधि र दुई सन्तानको पढाइ खर्च जुटाउन हम्मे परेको बताउने सिर्जना गुरुङ पनि सिर्जनशीलको सहयोगले आफूलाई राहत पुगेको बताउन थालेकी छन्। २० हजार सहयोग लिएर बाख्रापालन सुरु गरेकी सिर्जनाले दुई बोका बेचेर १९ हजार आम्दानी गरिसकेकी छन्।