मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

यसरी ३३ सांसदको नेता बन्दैछन् डा. बाबुराम भट्टराई, संसदमा बलियो प्रभाव राख्ने

दैनिक नेपाल २०७६ असार ७ गते १२:२४

काठमाडौं, ७ असार । गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा निर्वाचित डा. बाबुराम भट्टराईले संसदमा ३३ सांसदको नेतृत्व गर्ने सौभाग्य पाउने भएका छन् ।

तत्कालिन संघीय समाजवादी फोरम पार्टीसँग एकीकरण गरी त्यसका दुई अध्यक्ष मध्ये शक्तिशाली अध्यक्ष बनेका भट्टराईको प्रवेसँगै पार्टीको नाम संघीय समाजवादी बनाइएको थियो ।

अब संसदको चौथो शक्तिका रूपमा रहेको राष्ट्रिय जनता पार्टीसँगको एकीकरणको छलफल अघि बढेको छ, जोसँग १६ प्रतिनिधि सभा सदस्य छन् । त्यस मध्येका एक जना रेशमलाल चौधरी भने हिरासतमा छन् ।

राजपासँग एकीकरणको छलफल जारी रहेको छ । समाजवादी अध्यक्ष उपेन्द्र यादव र राजपा नेता राजेन्द्र महतोबीच एकीकरणबारे छलफल चलेको हो । यसअघि पनि एकीकरणका लागि पटक–पटक प्रयत्न भएका थिए ।  यी दुई पार्टीको प्रदेश २ मा गठबन्धन सरकार छ ।

पार्टी एकीकरणका सन्दर्भमा यादव–महतोबीच जनकपुरमा साढे २ घन्टा छलफल भएको थियो । यही सन्दर्भमा प्रदेश सरकारका मन्त्री हेरफेरका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

पार्टी एकीकरणका लागि राजपाले समाजवादी पार्टीलाई सरकारमाथिको विश्वासको मत फिर्ता लिँदै सरकार छाड्न शर्त राखेको थियो । समाजवादी पार्टी आफैं पनि सरकार छाड्ने तयारीमा रहेको र त्यसका अध्यक्ष डा. भट्टराईले बारम्बार सरकार छाड्न सक्ने चेतावनी दिँदै आएका थिए ।

यो पृष्ठभूमीमा राजपासँगको एकीकरणको छलफल पनि सकारात्मक रूपमा बढेको उच्च स्रोतको दाबी छ । समाजवादी पार्टीका २ नम्बर प्रदेश संयोजक विजयकुमार यादवले एकीकरणका लागि पार्टी सकारात्मक रहेको प्रतिक्रिया दिँदै आएका छन् ।

समाजवादीसँगको एकीकरणपछि राजनीतिक ताकतका हैसियतमा भट्टराईको प्रभाव बलियो हुन थालेको हो । उच्च स्रोतहरूले भारतीय संस्थापनको विश्वासका आधारमा भट्टराईलाई नेपालको केन्द्रीय सत्तामा ल्याउनका लागि प्रभावशाली बनाइएको हो ।

‘एउटा बाट १७ सांसदको नेता र त्यसपछि राजपा पनि मिसाएर ३३ सांसदको नेता बनाएर भट्टराईलाई मूलधारको राजनीतिक प्रभावमा ल्याउने खेल भइरहेको छ’, उच्च स्रोतले भन्यो,‘यो समाजवादी र राजपाको निर्णयले मात्र भएको छैन, खेल अन्यत्रबाट पनि भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित