बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पूर्वएमालेले तत्काल किन छाड्यो जनताको बहुदलीय जनवाद ?

दैनिक नेपाल २०७६ असार ७ गते १०:२६

काठमाडौं, ७ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सैद्धान्तिक मार्गचित्रका विषयमा चलिरहेको एउटा बहस तत्कालका लागि अन्त्य त भएको छ तर पूर्णविराम लागेको छैन ।

तत्कालिन एमाले महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको ठाउँमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दै गरेको जनताको जनवाद मानेर जान अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भए । तर ओली नजिक मानिने सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल भने जनताको बहुदलीय जनवाद तल्लो तहसम्म लैजाने तयारीमा छन् ।

‘नेकपाको महाधिवेशनसम्मका लागि कुनै सिद्धान्तमा जाने भन्ने फरक बहस सुरु भएको थियो, यसको तत्कालिक समाधानमा अध्यक्षद्वय सहमत भएको देखिन्छ तर यो पूर्णकालिन कार्यदिशा होइन’, नेकपा स्रोतले भन्यो,‘महाधिवेशनमा सिद्धान्तमाथि बहस हुनेछ त्यसमा जनताको बहुदलीय जनवाद नै पार्टीको लाइन बन्न सक्ने ठूलो आधार छ ।’

केही दिन अघिमात्र सैद्धान्तिक विचार कस्तो बनाउने भन्ने सन्दर्भमा प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा जनताको जनवाद नै हुने बताएका थिए । पोखरेलले उठाउँदै आएको बहुदलीय जनवाद मात्रैलाई प्रचण्डले मानेका थिएनन् । त्यसलाई आधार मानेर अघि बढ्नुपर्ने उनको प्रस्ताव थियो । तर, पोखरेलले विभिन्न ठाउँमा र अन्तरवार्ताहरूमा मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तले नै नेपालमा कम्युनिस्ट पार्टी संस्थागत भएकाले त्यसलाई छाड्न नसकिने बताउँदै आएका थिए ।

यद्यपि, दुई अध्यक्षबीचको समन्वयकारी भूमिकामा देखिएका महासचिव विष्णु पौडेलले भने अहिले पार्टी र पार्टीको सरकारलाई चौतर्फी आक्रमण भएका कारणले आन्तरिक विवाद र त्यसमा पनि सिद्धान्तको अल्झनमा राख्नु उपयुक्त नहुने भन्दै महाधिवेशनलाई नै यसको निर्णय गर्न दिनुपर्ने बताएका थिए । यसैकारण पनि नेकपा भित्रका पूर्वएमालेले अहिले प्रचण्डले प्रस्ताव गरेको जनताको जनवादलाई स्वीकार गर्न परेको नेताहरू बताउँछन् ।

तर सचिवालयमा रहेका पूर्वमाओवादीबाहेकका नेता भने यसमा सहमत छैनन् । शनिबार दिउँसो हुने सचिवालय बैठकमा पनि यस विषयमा चर्को बहस हुनसक्ने सम्भावना छ । जनताको जनवाद मान्दै गर्दा जनताको बहुदलीय जनवादको हिस्सा रहेको सन्देश तल्लो तहसम्म पुग्नुपर्ने विषयमा पनि कुरा उठ्ने बताइएको छ ।

खासगरी ठूलो संगठीत सदस्यता रहेको पूर्वएमालेले यो सिद्धान्तलाई छाडेको सन्देश गए, पार्टी एकीकरणबाट संयुक्त कम्युनिस्टको साटो माओवादीकरण मात्र भएको सन्देश जान सक्ने र त्यसले अर्को खालको मनोविज्ञान कार्यकर्तामा स्थापित गर्नसक्ने खतराबारे पूर्वएमालेले ओलीलाई सचेत समेत गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित