२९ आश्विन २०८३, बिहिबार

नगर प्रमुखको हैसियत र नगर बधुको आत्मसम्मान

16.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विनोद ढकाल

भारतको वैशाली भन्ने सहरको एउटा दुखद कथाबाट सुरु गर्न चहान्छु यो आलेख । भारतलगायत विश्वभरी एक जना नगर बधु (वेश्या)को बहुच चर्चा थियो ति हुन्– आम्रपाली । वैशाली सहरमा आम्रपालीको सुन्दरतामा लिन हुँदै बिहे गर्न चहाने धेरै थिए । तर परिस्थितिले ति सुन्दरीलाई वेश्या बनायो । उनलाई वैशालीको प्रजातन्त्रमा आउन सक्ने खतरा रोक्नका लागि त्यस राज्यले नगर बधुको रूपमा घोषणा गरेको थियो । कारण थियो, त्यो स्वतन्त्र सहरमा हर कोही आम्रपालीलाई बिहे गर्न चहान्थ्यो, पाउने र नपाउनेलगायतको युद्ध हुनसक्ने सम्भावना रोक्नका लागि उनलाई सहरले सबैको पहुँच पुग्न सक्ने गरी वेश्या घोषणा गरिदियो ।

यो प्रसङलाई इटहरी उपमहानगर प्रमूख द्वारिकलाल चौधरीले हालै नगर बधुलाई अश्लील अशिष्ट र अशोभनिय भाषा प्रयोग गरी गरेको आक्रोशपूर्ण अभिव्यक्तिसँग जोड्न चहान्छु । हालै मात्र मिडियाकर्मीमाथि उनले दिएको धम्की र प्रसङ्गको बहस सेलाइ नसक्दै, उनको यो हर्कत निन्दनीय छ । वेश्यावृत्ति एक कोणबाट सहरको विकृति बनेको होला, यो विकृति न्युनिकरण गर्नका निम्ति नगर प्रमूखको हैसियतले उनका जिम्मेवारी पनि छन् । तर, जिम्मेवारी पूरा गर्नुको साटो सार्वजनिक कार्यक्रममा ‘रण्डी’ भनी सम्बोधन गर्नु कति उपयुक्त होला ? फेरि उनको भन्ने शैली र प्रस्तुती हेर्दा लाग्छ कि अभिभावक होइनन् कुनै आमुख छाडा व्यक्ति बोलिरहेको छ ।

द्वारिकलाल चौधरीलाई अब नजिकबाट कसैले चिन्न पर्दैन । उनले सामाजिक अभियानका क्रममा दिएको अभिव्यक्तिले उनको चिनारीलाई विस्कुन बनाएको छ । त्यस अभिव्यक्तिको विरोधमा उत्रिएका नारी शक्तिका आवाजलाई दबाउनका लागि उनी जति नै साधगी भए पनि त्यो अस्त्रलेचाहिँ काम नगर्ने भयो । उनको भ्रष्टाचारविरोधी अभियानको स्वागत गर्नेहरूले भन्न थालेका छन्– मेयरको मगजमा सकारात्मक भन्ने चीज नै छैन ।

राजनीति गर्ने मानिस आक्रामक र आपराधिक पनि हुने संकेत गर्दै उदाहरण दिएका छन्– केपी ओलीले झापामा टाउको काटेको होइन ? प्रचण्डले १७ हजार मारेको होइन ? मेयर आफू राजनीतिमा आजीवन लाग्ने भए पनि हिंसाको ह्याङओभरबाट बाहिर आउन सकेका छैनन्

भूमीपुत्र मेयरले बुझ्न के आवश्यक छ भने– भूमीमा रहेका हरेक जनताको मौलिक अधिकार र सामाजिक अधिकार उत्तिकै हुन्छ । केही गलत भइरहेको छ भने त्यो गलतलाई सही र गतिलो ढंगबाट कसरी समाधान खोज्ने भन्ने हो, नकी ‘रण्डी जिन्दावाद’को व्यंग्यात्मक नारा । कुनै पनि पेशा र व्यावसाय मानिसले रहरले, सहरलाई कुरुप बनाउनका निम्ति गरेको हुँदैन । यदि गलत छ भने त्यसलाई सही दिशामा कसरी लैजाने, कसैको आत्मसम्मानमा चोट नपुग्नेगरी कसरी सम्बोधन गर्ने भन्ने विषयको हेक्का राख्नुपर्छ ।

मेयरको गुमान
चौधरीमा देखिएको गुमानचाहिँ काठमाडौंका पत्रकार र युट्युवर आफूसँग छन् भन्ने हो । स्थानीय तहको प्रमूख भएर केन्द्रीय पत्रकारको आडमा आफ्नो क्षेत्र र समुदायको हुलहुज्जत जानेगरी अभिव्यक्ति दिने छूट द्वारिकलाई छ ? त्यसैले स्थानीय महिलाले उनलाई दनक दिन थालेका छन् ।

कसैलाई वेश्या भन्नु या वेश्यावृत्तीमा लागेका छन् भनेर समग्रभित्र नारीको अस्मितालाई मुछेर भाषणबाजी गर्दा केही बेरको आत्मरतीमा उनी रमाउन सके होला तर त्यसका दूरगामी असर र प्रभावबारे विश्लेषण गर्ने क्षमतामा ह्रास भयो कि ? राजनीतिक जीवनको मध्यविन्दुमा आएर उनले दिएको यो आपत्तिजनक अभिव्यक्ति उनकै भविष्यका लागि पनि हानिकारक छ । यो हानिको प्रभाव उनले सुस्त गतिमा पाउने नै छन् ।

यसक्रममा उनले पत्रकारको नाकको डाँडी भाँच्छु, भ्रष्टाचारीलाई कालोमोसो दल्छु भन्न छुटाएनन् । त्यतिमात्र होइन, राजनीति गर्ने मानिस आक्रामक र आपराधिक पनि हुने संकेत गर्दै उदाहरण दिएका छन्– केपी ओलीले झापामा टाउको काटेको होइन ? प्रचण्डले १७ हजार मारेको होइन ? मेयर आफू राजनीतिमा आजीवन लाग्ने भए पनि हिंसाको ह्याङओभरबाट बाहिर आउन सकेका छैनन् ।

उनी जति सामाजिक सञ्जाल र बाहिर चर्चामा छन्, उनलाई केबल त्यो आत्मरती कसरी जोगाउने भन्ने मात्र रहेको छ । मेयरलाई मेरो सुझाव छ चर्चाका दुई पाटा हुन्छन् । एउटा प्रख्यात, अर्को कुख्यात । चौधरीका अभिव्यक्ति भ्रष्टाचारविरुद्ध प्रख्यात हुने क्रममा थिए । तर, उनी जब हिंसा र आक्रमणको पक्षपोषणमा त्यहि सही हो भनेर समाजका हरेक कोण र परिधिमाथि सोही शैलीमा प्रस्तुत हुन थाले की, अब उनको परिचय प्रख्यातलाई प्रतिस्थापन गर्दै कुख्याततिर लम्किन थाल्यो । उनले गरेका भाषणको भिडियो हेर्दा कुनै पनि कोणबाट उनमा सकारात्मक विवेकको छायाँ परेको छ भन्ने एउटा साधारण मान्छेले ठहर गर्न सक्तैन ।

मार्क्स, लेलिन र कम्युनिस्टका अनेक विचारकको सिद्धान्तलाई पढेको अहंकार देखाउने चौधरीले ‘रण्डी जिन्दावाद’को भाषा कसको जीवनको लेखाजोखामा, कुन सिद्धान्तले प्रतिपादन गरेको कुनचाहिँ पुस्तकको कतिऔं अध्यायमा अध्ययन गरेछन्, जान्न पनि मन छ

भूमिपुत्रको बच्चो, कम्युनिष्टको चेलो !

आम्रपालीको कथा जोड्नुको एउटा कारण हो की सहरमा स्थापित भएको वेश्याको परिचयले थकित भएपछि उनी बुद्धको शरणमा भिक्षुणी भइन् । तर, मेयर चौधरीले सोही भाषणमा बुद्ध बनेर कोही राजनीतिज्ञ हुन नसक्ने भन्ने अभिव्यक्ति दिएका छन् । चौधरी जी, बुद्धमार्गी बाटो नै राजनीतिको सफल अवतरण भएको थियो । १७ औं हजार मानिस मारिरहँदा कुनै कम्युनिस्टले साम्यवादी शासन ल्याउन सकेनन्, तिनीहरू शान्तिकै बाटोमा हिँडे । अहिले पनि आफ्नो राजनीतिको विश्राम विन्दु नपाउँदा डाँको छाडेर भन्छन्– शान्ति प्रक्रियाको काम बाँकी छ ।

एउटा वेश्याको परिचयबाट मानिस बदलिएर भिक्षु पनि हुन सक्छ । त्यो परिस्थिति र समयको बेगशुत्रमा जडित प्रश्नोत्तर हो । तर समयको मापन नै नगरी अरुको आत्मसम्मानमा गरिने प्रहारले आफूलाई भूमीपुत्रको परिचयमा स्थिर राख्ने र अन्य आगन्तुक फाल्तु हुन् भन्ने विचार स्थापित हुँदैन । जसरी वर्ण, जात र धर्मलाई परिचयको आधार बनाएर बाँच्नुभएको छ तपाई, पेशा पनि परिचयको बलियो आधार हो ।

बाँच्नेहरूलाई बाँच्न देऊ, त्यो बाँचेको शैली मन परेको छैन भने बचाउँने आधार देऊ, कसैको आत्मसम्मानमाथि लाठी नबर्साऊ । अझ, कम्युनिस्ट सिद्धान्तले त सबैको आत्मसम्मानको मिठो भाका गाउँछ । आफूलाई कम्युनिस्ट भनिरहँदा त्यो भाका र शैली कहाँ हुत्तिन्छ, एकाध पटक ?

मार्क्स, लेलिन र कम्युनिस्टका अनेक विचारकको सिद्धान्तलाई पढेको अहंकार देखाउने चौधरीले ‘रण्डी जिन्दावाद’को भाषा कसको जीवनको लेखाजोखामा, कुन सिद्धान्तले प्रतिपादन गरेको कुनचाहिँ पुस्तकको कतिऔं अध्यायमा अध्ययन गरेछन्, जान्न पनि मन छ ।

पेशा जेसुकै होस् हरेकको आत्मसम्मान हुन्छ । त्यो आत्मसम्मानलाई व्यवस्थित, सृजनात्मक र रचनात्मक परिवर्तनका पाटो अख्तियारी गर्ने कुनै योजना दिन सक्दैनन् भने मेयरले त्यस पेशाको अपमान गर्ने, हुर्मत लिने प्राधिकार पनि राख्दैनन् । हेक्का होस् शरिर बेचेर सन्तान हुर्काउनेहरूले आत्मसम्मान बेचेका हुँदैनन्, छुद्रता र अहंकारको विरोधाभाषमा आफूलाई उभ्याएका हुँदैनन् ।

यदि, मेयरलाई त्यस्ता महिलालाई व्यवस्थित हुनुपर्छ भन्ने लागेको हो भने माइकमा ‘रण्डी’का धाराप्रवाह भाषण होइन, व्यवाहारमा सृजनात्मक लय र बजेट छुट्याएर सीपमूलक आयआर्जनको पाटोमा लान सक्ने ताकत हुनुपर्छ । सहर भ्रष्टाचारमुक्त समाजको परिकल्पनाले मात्र सुन्दर हुँदैन, सहरको सौन्दर्यता त्यसका प्रमूखको भाषा र शैली शिष्टताको शिल्पले पनि व्याख्या हुन सक्नुपर्छ । यसर्थ भन्छु– सहरमा धेरै आम्रपालीहरू शासकहरूले नै बनाएका हुन् । मनभित्र हबसको खेती गरेर, बजारमा चर्का नारा लगाउनु आडम्बरीको उदाहरण भन्दा केही होइन, यो फगत चर्चामा आउन गरिने हत्कण्डा भन्दा व्याख्या गर्ने अर्को कुनै शव्द भेटिँदैन ।