७ कार्तिक २०८३, शनिबार

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ५ असार । त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् ।

आफूलाई ‘गोल्ड मेडलिस्ट’ बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक ‘डिल’ गरेका थिए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा चलखेल गर्ने कर्मचारी कर्माचार्यसहित दुईजनालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । तर, विस्तृत विवरण आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

स्रोतका अनुसार गोल्ड मेडल पाउने गरी उच्च अंक थप्न करिब पाँच लाख रुपैयाँ लेनदेन भएको छ । पनिकाका अन्य कर्मचारीमाथि समेत अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनायो ।

‘फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ अख्तियारका उच्च अधिकारीले भने, ‘यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’ कर्माचार्यलाई अख्तियारले गत साता नै पक्राउ गरेको थियो भने कोइराला बुधबार पक्राउ परेका हुन् । कर्माचार्य पक्राउ परेलगत्तै कोइराला फरार भएका थिए ।

आफूले सजिलै नम्बर हेरफेर गरिदिन सक्ने भन्दै आश्वस्त बनाएर कर्माचार्यले पैसाको डिल गरेका थिए । कर्माचार्यले विगतमा पनि त्यसरी धेरैलाई गोल्ड मेडलिस्ट बनाइदिसकेको दाबी कोइरालासँग गरेका थिए । पनिकाका सबै कर्मचारीसँग आफूले सेटिङ मिलाइदिने भन्दै उनले डिलिङ गरेको अख्तियारले जनाएको छ । उनीहरूबीच डिलिङको सूचना पाएपछि अख्तियार टोलीले पिछा गरेको थियो ।

अधिवक्ता कोइरालाले चार विषयमा स्नातकोत्तर गरिसकेका छन् । आर्थिक चलखेलकै आधारमा उनले कतिपय डिग्री लिएको हुन सक्ने आशंका अख्तियार अधिकारीहरूको छ ।

अख्तियारको प्रारम्भिक छानबिनअनुसार बिचौलियामार्फत त्रिविका कर्मचारीले फेल भएकालाई पास गराउने र कम नम्बर ल्याएकालाई उच्च नम्बर दिलाउने गर्छन् । एउटा विषय उत्तीर्ण गर्न नै न्यूनतम ५० हजार रुपैयाँ लिने गरेको देखिएको अख्तियारका एक अधिकारीले बताए ।