सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

गर्मी छल्न पौडी खेल्ने क्रममा कपिलवस्तुमा ३ युवाको डुबेर मृत्यु

दैनिक नेपाल २०७६ असार ३ गते १९:५३


चन्द्रौटा(कपिलवस्तु), ३ असार । गर्मी छल्न सुरही खोलामा पौडी खेल्न गएका कपिलवस्तुका तीन युवाको डुबेर मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका २, हल्लानगरको पश्चिममा पर्ने सुरही खोलामा पौडी खेल्ने क्रममा डुबेर ती युवाहरुको मृत्यु भएको हो ।

मृत्यु हुने तीनै जना युवा विजयनजर ६, प्रेमनगर भटनीका हुन् । मंगरबार दिउँसो करीब ३ बजेको समयमा बढ्दो गर्मीलाई छल्न उनीहरु खोलामा पौडी खेल्न गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मोतीलाल योञ्जनले जानकारी दिए । पौडी खेल्न गएका ४ जनामध्ये तीन जनाको डुबेर ज्यान गएको प्रहरी निरीक्षक योञ्जनले बताए ।

मृत्यु हुनेमा बिजयनगर ६, प्रेमनगर भटनी बस्ने १६ वर्षीय आशिष भट्टराई, १७ वर्षे निराजन भुसाल र १८ वर्षे सुमित सुनार रहेका छन् । घटनाबारे जानकारी पाउनसाथ वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङ कमाण्डको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले पानीमा डुबेका तीनैजना युवाहरुलाई पानीबाट मृत अवस्थामा बाहिर निकालेको थियो । पौडी खेल्न गएकामध्ये १ जना बाँच्न सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित