मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

गृहले ‘चेकजाँच नगर्नू’ भनी जारी गरेको परिपत्रमा पूर्वआइजी खरेलका ७ टिप्पणी

दैनिक नेपाल २०७६ असार ३ गते १३:२५

काठमाडौं, ३ असार । पूर्व प्रहरी महानिरक्षक (आइजी) अच्युतकृष्ण खरेलले हालै गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई भारतीय मालबाहक ट्रकमा चेकजाँच नगर्नू भनी जारी गरेको परिपत्रमाथि ७ टिप्पणी गरेका छन् ।

सीमापारबाट आउने मालबाहक ट्रकलाई प्रहरी र सम्बन्धित सरकारी अधिकारीले चेकजाँच नगर्नू भनी जारी भएको परिपत्रअनुसार काम भए मुलुकको सुरक्षा अवस्थामा विविध चुनौति हुने खरेलले बताए । उनले दैनिक नेपालसँग भने,‘एकाध व्यक्तिबाट कहिँ कमजोरी हुन सक्छ तर त्यो कमजोरी नगर्ने भनेर चेकजाँच नै नगर्नू भनी यसरी सबै निकायलाई अपरिपक्व हिसाबले परिपत्र गर्नू मुलुकको सुरक्षा अवस्थालाई कमजोर बनाउने ताकतका लागि राहत हो ।’

मुलुकभित्रै चेकजाँच गर्दा पनि काठमाडौं उपत्यकामा हालैमात्र ठूलो मात्रामा विस्फोट फेला परेको, कतिपय ठाउँमा पड्कीएको सन्दर्भलाई नबिर्सन उनले सुझाव दिए ।

गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरीका नाममा गृहमन्त्रीस्तरिय निर्णय भन्दै २ जेठमा परिपत्र गरेको थियो । उक्त परिपत्रमा भारतीय नाकाबाट नेपाल भित्रिएका मालबाहक सवारी साधनलाई चेकजाँचका नाममा प्रहरीले दुख दिएको भन्दै २७ बैशाखमा त्यसो नगर्न निर्णय गरिएको पनि उल्लेख थियो ।

खरेल भन्छन्,‘यस्तो निर्णय त मेरो जीवनकालमा पहिलो पटक नै हो देखेको । यदि यो सत्य हो भने यसले मुलुकमा सुरक्षा अवस्थामा निक्कै नराम्रो असर पार्छ । नराम्रो नजिर बस्छ ।’

खरेलले दिएका ७  टिप्पणी यस्ता छन् ।

१. देश भित्र सबै किसिमका अवैध हतियारहरू भित्रिने सम्भावना हुन्छ वा हुदैन ?

२. आतंकवादी समर्थकहरूले विस्फोटक पदार्थहरू ओसारपसार गर्ने माध्यम हुन सक्छन् या सक्दैनन् ?

३. भारतबाट भित्रिने लागुऔषध ! सहज रुपले भित्रिने सम्भावना हुन्छ या हुदैन ?

४. राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्छ या पर्दैन ?

५ राजस्वमा प्रतिकूल असर पर्छ या पर्दैन ?

६. प्रहरी संगठनको मोरललाई असर गर्छ या गर्दैन ?

७. यसबारे तपाईहरू को धारणा के छ राय पाउँ !

गृहको बचकना निर्णय

गृह मन्त्रालयले जारी गरेको परिपत्र यहाँ हेर्नुहोस् ।

गृह मन्त्रालयले सीमा जोडिएका तराईका जिल्लाका प्रमूख जिल्ला अधिकारीका नाममा परिपत्र जारी गर्दै भनेको छ,‘ट्राफिक र प्रहरीबाट मालवाहक ट्रक ट्रेलरले दुख पाएको भन्ने गुनासो आएको छ ।’

उसले निर्देशन दिँदै अगाडि भनेको छ,‘नियामक निकायको समन्वय र अनुमति बिना क्षेत्राधिकारविपरित रोक्ने, दुख हैरानी दिने कार्य कहिँ कतैबाट नगर्न गृहमन्त्रीस्तरको निर्णय गरिएको छ ।’

गृह मन्त्रालयले यस्तो बचकना निर्णय गरेको छ की यसले अवैध हिसाबले नेपाली सीमाभित्र हातहतियारलगायतका विविध सामान मालबाहक ट्रक, ट्रेलरबाटै भित्रिने जोखिम हुन्छ । सीमामा रहेको प्रहरीले चेकजाँच गर्ने क्रममा दुख दिए सम्बन्धित निकायले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्छ । तर, जिल्ला प्रशासन कार्यालयको ‘रिफ्रेन्स’ बिना नै मन्त्रीस्तरीय निर्णय गराउन तस्कर, दुई नम्बरी काम गर्ने विविध व्यक्तिको दबाब परेको प्रष्ट ठहर्छ ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सीमा सुरक्षा बल वा नेपाल प्रहरी कहीँ पनि दुख पाएको उजुरवाजुर नगरी एकैपटक मन्त्रालयले निर्णय गर्नुभित्रको रहस्य र षडयन्त्र सबैले विचरण गरेकै छन् ।

प्रतिक्रिया
सम्बन्धित