बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने गुरुङ पुर्पक्षाका लागि जेल चलान

दैनिक नेपाल २०७६ असार ३ गते ७:३२

काठमाडाैं, ३ असार । प्रहरी नायव उपरीक्षक (डिएसपी)को कुर्सीमा बसेर फोटाे खिच्ने भारत बैंगलोर कनिका २५ वर्षीय हर्कराज भनिने ओसमान डायनियल गुरुङ पुर्पक्षाका लागि जेल चलान गरिएको छ । उनी झापा विर्तामोड नगरपालिका–५ मा बस्दै आएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षाका लागि जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गर्ने आदेश गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो । पक्राउपछि उनलाई झापास्थित इलाका प्रहरी कार्यालय बिर्तामोडले कारबाहीका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अनाधिकृत तवरले डिएसपीको कुर्सीमा बसेर फोटो खिचेर त्यसलाई सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनाएको पाइएपछि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने, ‘उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । सोही मुद्दामा उनलाई अदालतले पुर्पक्षाका लागि जेल चलानको आदेश सुनुवाइ गरेको छ ।’

झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिएसपी सुवास खड्का बस्ने कुर्सीमा बसेर उनले फोटो खिचेका थिए । उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि भाइरल भएको थियो । फोटो पोष्ट भएपछि डिएसपी खड्कामाथि प्रदेश १ प्रहरी मुख्यालयले छानविन नै गरेको थियो । यसका लागि उनलाई प्रदेश प्रहरी मुख्यालय तानिएको थियो ।

प्रहरीका अनुसार गुरुङ भारतीय नागरिक भए पनि नेपाल बसेर मेन पावर व्यवसाय गर्दै आएका थिए । यस क्रममा उनले विभिन्न व्यवसायी तथा व्यापारीलाई ‘प्रहरीको मान्छे हुँ’ भन्दै धम्काउने गर्थे । फोटो पोष्ट गरेका दिन पनि उनले स्थानीय व्यापारिलाई सोही फोटो देखाउँदै धम्काएका थिए । पोष्ट गर्दा भने उनले ‘आई एम द टुडेज डिएसपी’ क्याप्स लेखेका थिए ।

अनुसन्धानमा खटिएका इप्रका बिर्तामोडका डिएसपी मोहन थापाका अनुसार पहिलो चरणमा उनलाई प्रहरीमाथि दुर्व्यवाहार गरेको अभियोगमा पक्राउ गरिएको थियो । विद्युतीय कारोबार ऐन आकर्षित हुने देखिएपछि मात्रै उनीविरुद्ध नयाँ ढंगले अनुसन्धान गरिएको थियो । इप्रका प्रमुख डिएसपी थापाले भने, ‘यसलाई सुरुमा दुर्व्यवाहार गरेको अभियोगमा पक्राउ गरिएको रहेछ । पछि विद्युतीय कारोबार ऐन आकर्षित हुने देखियो । सोहीअन्तर्गत थप अनुसन्धान भयो । मुद्दा स्थापित भएपछि थप कारबाहीका लागि उनलाई अपराध अनुसन्धान महाशाखा पठाइएको हो ।’

प्रतिक्रिया
सम्बन्धित