बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

नेकपाको आधिकारिक कार्यक्रम जनताको जनवाद नै हो : प्रचण्ड

दैनिक नेपाल २०७६ असार २ गते १२:४१

काठमाडाैँ, २ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिक कार्यक्रम जनताको जनवाद नै भएको बताएका छन् ।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच जनताको जनवादका विषयमा सहमति भएको र यही नै पार्टीको कार्यक्रम भएको दावी गरे।

उनले पार्टी एकता सिद्धान्तहीन ढंगले नगरेको दावी गरे। माक्सवादकै पथप्रदर्शनमा समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ भएको प्रचण्डले दावी गरे।

उनले महाधिवेशनसम्म यही कार्यक्रम लिएर जाने र महाधिवेशनबाट पार्टीको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने बताए । उनले तत्कालिन एमाले र माओवादीले लिएका कार्यक्रमको मूल्यांकन गर्दै परिमार्जनसहित नयाँ कार्यक्रम बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

एकताका क्रममा भएका सहमतिलाई इमान्दारितापूर्वक पालना गर्दै एकताका बाँकी काम सम्पन्न गर्दै महाधिवेशनमा जानुपर्ने उनको तर्क थियो।

सचिवालय सदस्य ईश्वर पोखरेलले एकतापछि पनि पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद नै भएको दवी गर्दै आएका छन् ।

उनले एकतापछि पूर्वएमालेले लिएको कार्यक्रममा कुनै भिन्नता नआएको भन्दै बहुदलीय जनवाद नै पार्टीको कार्यक्रम भएको बताउँदै आएका छन् । यही कार्यक्रम लिएर कार्यकर्तामाझ जान तयार रहेको पाेखरलले बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित