७ कार्तिक २०८३, शनिबार

विश्वलाई नेपाल चिनाउने, हिमाल मात्रै कति देखाउने ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । कीर्तिपुरको चोभारमा मञ्जुश्रीको विशाल मूर्ति स्थापना गरिएपछि नेपाललाई विश्वमा परिचित गराउँदा गर्वको अनुभूति गर्नेहरुले थप आधार पाएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

चोभारको गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाई यस भूभागलाई बस्ती योग्य बनाउने पुरुष वास्तवमै विशालतम व्यक्तित्व हुन्, उनको शालिक पनि विशाल बन्नु आवश्यक थियो । जलविनायक सामुदायिक वन उपभोक्ता समितिको पहलमा निर्मित ३३ फिट अग्लो विशाल शालिक शनिबार विधिवत रुपमा अनावरण गरियो ।

‘बौद्ध दर्शनको अध्ययनका क्रममा मैले विश्वका धेरै मुलुक भ्रमण गरें, तर यति अग्लो मञ्जुश्रीको मूर्ति मैले अन्त कतै देखेको छैन’ बौद्ध विद्वान अजितमान तामाङले भन्नुभयो । उहाँका अनुसार चीनको उथाइसानमा मञ्जुश्रीका धेरै मूर्ति देखिन्छन्, तर यति अग्ला छैनन् ।

चीन तर्फबाट नेपाल आई योगदान गर्ने विद्वान्को इतिहासलाई उजागर गर्न, ढुंगाको यति चिल्लो कलात्मक मूर्ति विश्वलाई देखाउन र बुद्ध तथा बोधिसत्व मञ्जुश्रीको विचार विस्तार गर्न चोभारको मञ्जुश्रीको मूर्तिले विशेष महत्व राख्नेछ ।

विशाल कायका कारणले मात्र मञ्जुश्रीको श्रीवृद्धि भएको होइन, उनलाई विश्वले मान्ने २८ प्रकारका बुद्धमध्ये एक भएकाले पनि उनको महिमा उच्च छ । डा. उद्धव पुरी भन्नुहुन्छ, हाम्रा देवता जतिछन् सबैको क्षेत्र नेपाल नै हो, शिव भन्नुस् वा मानव स्वरुपमा राम, कृष्ण बुद्ध आदि ।

मञ्जुश्रीको योगदान पाएर बस्ती बसेको काठमाडौं उपत्यकाले उनको मूर्ति स्थापना गर्दा विश्वलाई नेपाल चिनाउने आधार मात्र प्राप्त हुँदैन, हिन्दु र बौद्ध मिलेर बसेको नेपालका लागि उनी एकताका प्रतीक बनेर सहिष्णुता बढाउन सघाउँछन् । किनभने मञ्जुश्रीलाई हिन्दू–बौद्ध दुवैले भगवानका रुपमा पूजा गर्दछन् ।

प्रा.डा. शंकर थापाको भनाइ छ, पछिल्लो समय नेपाल प्रति नयाँ पुस्ता तुलनात्मक रुपमा उदास देखिएको समयममा नेपाली भएकोमा गौरव गर्न मिल्ने मञ्जुश्री जस्ता व्यक्तिको मूर्ति स्थापना गरेर राष्ट्रप्रेम बढाउने काम भएकोमा सबैले गौरवको अनुभूति गर्नुपर्छ ।

त्रिभुन विश्वविद्यालयस्थित इतिहास केन्द्रीय विभागका प्रमुख तथा लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्व डीन थापा भन्नुहुन्छ, हिमाल र लिच्छवि र मल्लकालीन कलाकृति मात्र कति देखाउने विश्वलाई, नेपालको परिचयका लागि हामीले देखाउन मिल्ने नयाँ वस्तु पायौं – ३३ फिट अग्लो प्रस्तर विशाल मञ्जुश्रीको मूर्ति ।

मूर्ति निर्माणको कार्यमा संयोजकको भूमिका निर्वाह गरेका स्थानीय बुद्धिजीवी सुजिन्द्र महर्जन लगायत जलविनायक सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुले एक दशक लामो अविच्छिन्न प्रयास गरे । मूर्ति निर्माणका लागि मात्र साँढे तीन करोड खर्च भएको महर्जनले जानकारी दिनु भएको छ ।