सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

काठमाडौं उपत्यकाभित्रैको अस्पतालबाट तीस थान बाइबल बरामद

दैनिक नेपाल २०७६ असार २ गते ६:२९

ललितपुर, २ असार । ललितपुर जिल्लाको गोदावरी नगरपालिकास्थित आनन्द वन अस्पतालमा शनिबार शिव सेना नेपालले कागजात कब्जा गरेको छ ।

बिरामीको निःशुल्क उपचार गर्ने बहानामा जबर्जस्ती इसाई धर्म प्रचार र परिवर्तन गराएको आरोप शिवसेना नेपालका केन्द्रीय अभियन्ता मनोज सापकोटाले लगाएका छन । नेपालका मौलिक रैथाने धर्मसंस्कृति बचाउने अभियानमा लागेकाले यस्ता गतिविधि बढ्न नदिने पनि उनले चेतावनी दिए ।

अस्पताल द लेप्रोसी मिसन नामको गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित छ । राजा महेन्द्रको पहलमा स्थापित अस्पतालमा दीनदुःखीलाई प्रलोभनमा पारेर धर्मप्रचार गरेको आरोप सापकोटाले लगाए । बिरामीका बेडबाट बाइबल निकालिएका थिए ।

शिव सेनाका कार्यकर्ताले अस्पतालभित्रबाट ३० थान बाइबलका किताब कब्जामा लिएर जलाएका छन । सापकोटाले कुनै रिसइबी वा वैरभावले यस्तो नगेको दाबी गरेका छन ।

पाल्पा, रुकुम, रोल्पालगायत जिल्लाबाट पनि इसाई धर्मप्रचारको गुनासो आएको उनले बताए । बिहानबेलुका बिरामी र स्टाफलाई प्रार्थना गर्न लगाउने तथा बाइबल पढ्नैपर्ने नियम अस्पतालमा भएको आरोप पनि उनले लगाएका छन् ।

प्रशासन प्रमुख शेरबहादुर गुरुङले अस्पताल स्थापना हुँदा नै मिसिनरी क्रियाकलाप गर्ने भनेर जिल्ला प्रशासन कार्यालय तथा समाज कल्याणमा जानकारी गराइएको बताए । डाक्टर र नर्सले बिहान प्रार्थना गरे पनि बिरामीलाई त्यसो नगराएको उनको भनाइ छ । उनले आफूहरुले धर्म परिवर्तन र धर्मप्रचारमा नलागेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित