७ कार्तिक २०८३, शनिबार

पहिलोपटक चार किलो सुनसहित एक नेपाली पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १ असार । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने तस्करीमा चीनले कडाइ गर्न थालेको छ । करिब १५ दिनअघि चिनियाँ भन्सारले नाकामा एक्सरे मेसिनसमेत जडान गरेको छ ।

चिनियाँ भन्सारले चार किलो सुनसहित एक नेपालीलाई पक्राउ गरेको छ । रसुवाको कालिका गाउँपालिका–५ का समीर परियारलाई २०जेठमा पक्राउ गरिएको स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

स्याउ लिएर नेपालतर्फ आउँदै गरेको ना.२ख ६४०१ नम्बरको कन्टेनरमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् । पक्राउ परेका परियारलाई चिनियाँ भन्सारले सिगात्से लगेको स्रोतले जनाएको छ ।

तर, उनको अवस्थाबारे नेपाली पक्षलाई कुनै पनि जानकारी नभएको बताइएको छ । सुन पक्राउको विषयमा चर्चा भए पनि चिनियाँ पक्षबाट औपचारिक जानकारी नआएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

‘चिनियाँ पक्षले हामीलाई औपचारिक जानकारी दिएको छैन,’ उनले भने, ‘नाकाबाट हुने तस्करी नियन्त्रणका लागि दुवै देशको प्रशासनले समन्वयात्मक रूपमा अघि बढेका छौँ ।’

नेपालतर्फ तस्करीको सुनसहित थुप्रै पक्राउ परेका छन् । तर, चीनतर्फ पहिलोपटक सुनसहित नेपाली व्यक्ति पक्राउ परेका हुन् । पछिल्लो समय सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै यहाँबाट सुन तस्करी बढेको छ ।

तस्करी बढेसँगै नेपालतर्फ प्रहरीले विशेष निगरानी गरिरहेको जनाएको छ । भूकम्प र पहिरोका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सञ्चालनका आएको रसुवागढी नाकाबाट ०७२ देखि नै सुन तस्करीको घटना सुरु भएको देखिन्छ ।