७ कार्तिक २०८३, शनिबार

तीन दशकपछि जलाशययुक्त बिजुली, आयोजना सम्पन्न भएपछि लोडसेडिङ अन्त्य

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण (१०६० मेगावाट) र दूधकोसी (६३५ मेगावाट) आयोजना एकसाथ अघि बढाएको हो। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

यी आयोजना सम्पन्न भएपछि मुलुकमा कहिल्यै लोडसेडिङ नहुने प्राधिकरणको दाबी छ। कुलेखानी दोस्रो सञ्चालनमा आएको ३३ वर्षपछि सरकारले बृहत् जलाशयुक्त आयोजना निर्माण प्रक्रिया थालेको हो।

दुवै आयोजनामा लगानी गर्ने औपचारिक प्रतिबद्धता पाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। दुवै आयोजनाको विस्तृत अध्ययन, डिजाइन, वित्तीय व्यवस्थापन, टेन्डरसहित सम्पूर्ण निर्माण कार्य बढीमा सात वर्षमा पूरा हुने गरी काम भइरहेको छ। ‘यी दुवै (माथिल्लो अरुण र दूधकोसी) को प्राकृतिक विशेषता अत्यन्त आकर्षक रहेकाले दाता उत्साहित छन्,’ घिसिङले शनिबार अन्नपूर्णसित भने, ‘हाम्रो (प्राधिकरणको) अहिलेको मुख्य लक्ष्य यी दुई आयोजनाको निर्माण हो।’

एक अर्ब २० करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ३२ अर्ब रुपैयाँ) को माथिल्लो अरुण (पिकिङ) मा विश्व बैंकबाट ओडीए (औपचारिक विकास सहायता) अन्तर्गत ४० करोड डलर, एसियाली विकास बैंक (एडीबी) बाट ४० करोड डलर लगानी प्रतिबद्धता आएको घिसिङले बताए। बाँकी लागत कर्मचारी सञ्चय कोष (२० करोड डलर) र स्थानीय वित्त उपयोग गरिने गरी प्रक्रिया अघि बढेको छ।