बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

काठमाडौँमा ह्वात्तै गर्मी बढ्यो, वर्षकै उच्च तापक्रम

दैनिक नेपाल २०७६ जेठ ३२ गते २२:४०

काठमाडौँ, ३२ जेठ । केही दिन यता अत्याधिक तापक्रम वृद्धि भएसँगै काठमाडौँमा निकै गर्मी महसुस गर्न थालिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सम्म पुगेको छ ।

काठमाडौँको शनिबारको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । शुक्रबार अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो । काठमाडौँको तापक्रम वर्षकै उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ ।

अबको तीनचार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ । आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको छ । यसैबीच आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एकरदुई स्थानमा वर्षाको सम्भावना औँल्याएको हो । -रासस

प्रतिक्रिया
सम्बन्धित