बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

मानौ, बिरामी मार्ने उद्योग !

दैनिक नेपाल २०७६ जेठ ३२ गते ८:५४

काठमाडौं, ३२ जेठ । मृत्युको मुखमा पुगेका मानिसलाई बचाउने आशमा लाखौं खर्चका लागि अस्पताल पुराइने गरिन्छ । तर, काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा भने सामान्य विरामी जसको सहज उपचारपछि घर फर्किने अवस्था हुन्छ, उसको गलत उपचारका कारण मृत्यु भएका धेरै प्रकरण छन् ।

यस्तै प्रकरणमा ओम अस्पतालमा तोडफोड, विवाद र सहमति त कयन पटक भएका छन् । तर, यो शिलशीला अहिलेसम्म पनि रोकिएको छैन । चर्को शुल्क लिएर शल्यक्रिया गर्ने अस्पतालले यस्ता कतिपय घटनालाई क्षतिपूर्ति दिएर मिलाएको छ तर दोषीले अहिलेसम्म कारबाही भोगेका छैनन् ।

मानौ, यो अस्पताल नभएर बिरामी बचाउने होइन, बिरामी मार्ने उद्योग हो ।

दुई दिन अघि मात्र उपचारका क्रममा सिन्धुपालचोककी रामप्यारी थापाको मृत्यु भयो । आफन्त भन्छन्– डाक्टरको लापरवाही भयो । अस्पतालले भने थापाको मृत्यु सामान्य अपरेशन गर्दा नभएको जनाएको छ । पहिले नै तीन पटक अपरेशन गरिसकेको पाठेघर भएकाले अपरेशनको जटिलताको बारेमा बिरामी पक्षलाई जानकारी गराएको प्रतिक्रिया दिएको छ । अस्पतालले भन्ने पनि त्यस्तै हो । यस्तो जोखिम उठाएर शल्यक्रियाका लागि अस्पताल किन अघि सरेको थियो, यो गम्भिर प्रश्नबारे भने प्रशासन मौन छ ।

मृतकका आफन्त भने अस्पतालको दाबी मान्न तयार छैनन् । अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भयो । बिरामीका आफन्त खड्ग श्रेष्ठले भने– डा. रविन कोइरालाको नेतृत्वमा गत शुक्रबार उनको अपरेशन भयो । तर, शनिबार विहानैदेखि अचानक रामप्यारीलाई श्वासप्रश्वासमा समस्या देखियो । रक्तचाप घट्यो, कम्प्रेसर बढ्ने लगायतका समस्या हुन थाल्यो ।’ मृतकका आफन्त मेडिकल काउन्सिलमा उजुरी गर्न पुगे ।

ओम अस्पतालमा यस्तो यो पहिलो विवाद होइन । बिरामीका लागि त्यति जोखिम नहुने यस्ता कयन शल्यक्रियामा लापरवाही गरेका पर्याप्त उदाहरण छन् ।

जस्तो, ०७४ मा नाकको शल्यक्रिया गराउन अस्पताल पुगेकी ४० वर्षीया कमला भट्टराईको गलत शल्यक्रियाका कारण मृत्यु भयो । शल्यक्रिया गलत भएको जनाउँदै अस्पतालले विज्ञप्तिमा भनेको थियो,‘भट्टराईको निधनका विषयमा सतयतथ्य छानविन गर्न पीडित पक्ष र अस्पताल पक्षबाटस्वास्थ्य मन्त्रालयको उच्चस्तरीय छानविन समितिलाई सहयोग गर्ने सहमति भएको छ ।’

यस्ता कयन उदाहरणहरू छन् । ओम अस्पताल विगत दशकदेखि गलत उपचार गरेर विरामीको हेलचेक्राई गरेका कारण विवादमा फस्दै आएको छ । उच्च तहमा सञ्चालकको पहुँच र चर्को शुल्क पनि लिने गरेको छ । सेवा भन्दा पनि व्यापारीक प्रतिष्ठानका रूपमा लिएका कारण अस्पतालमा दक्ष चिकित्सक छैनन्, जसको लापरवाहीले आमसाधरणले अस्पतालमा विमारी बचाउन जाने कि, मार्न भन्ने दुविधामा पनि हुन्छन् ।

ओम अस्पतालका कारण पीडित भएका भक्तपुरका राजीव कोइराला भन्छन्,‘मेरा एक जना आफन्तको पनि पित्त थैलीको शल्यक्रियाका लागि लगिएको थियो, डाक्टरको लापरवाहीका कारण झन्डै ज्यान गयो । त्यहाँबाट जबरजस्ती रिफर गरी शिक्षण अस्पतालमा पुराइयो, अहिले अलिक ठिक छ ।’

बिरामी मारिँदा किन सहमति हुन्छ, कारबाही किन हुँदैन ?

अन्य क्षेत्र भन्दा अस्पतालमा गलत उपचारका कारण बिरामी मारिँदा कुनै पनि चिकित्सक वा सम्बन्धित अस्पतालका सञ्चालकले हालसम्म कानुनी कारबाही भोग्नु परेको छैन ।

यदाकदा बाहेक पहुँचमा रहेका यस्ता अस्पतालका कर्मचारीहरुले पनि कारबाही भोगेका छैनन् । खासगरी प्रशासनयन्त्रदेखि उपल्लो तहसम्मको सेटिङ, बिरामीका आफन्तलाई राहतका नाममा रकम दिएर अपराधलाई खुलेआम सम्झौता गरिन्छ । प्रहरी पनि सहमतिको साक्षी बस्दै आएको छ, जसका कारण उसँग रेडिमेड उत्तर हुन्छ– उजुरी परेन ।

सर्वसाधारण कोइराला थप्छन्,‘यो संस्कार नै गलत बस्न थालेको छ । अन्य निकाय जस्तै अस्पतालका कामकारबाहीमा पनि सरकार गम्भिर भएर कानुनसम्मत कारबाहीका लागि तयार हुनुपर्छ । पीडितले पनि बिरामीको जीवनसँग रकमको सम्झौता गर्नु हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित