मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

बाबुराम र उपेन्द्रको पार्टी दर्ताका लागि निर्वाचन आयोग पुग्यो

दैनिक नेपाल २०७६ जेठ ३० गते १७:२८

काठमाडाैँ, ३० जेठ । बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दललाई अध्यक्षद्वय भट्टराई र यादवले बिहीबार दिउँसो निर्वाचन आयोग कार्यालयमा गएर दर्ता गराएका हुन् ।

२५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ ।

पार्टीको वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेणुकुमारी यादव, लालबाबु राउत,महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । दुईजना सचिव पछि थपिनेछ ।

पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताए।

अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको बताए ।

आज दर्ता भएको पार्टीको चुनाव चिन्ह भने टुंगो लागिसकेको छैन । दर्ता गर्दा चुनाव चिन्ह पछि थप्नेगरि खाली राखिएको छ । एक हुनुअघि फोरमले मसाल र नयाँ शक्तिले आँखालाई चुनाव चिन्ह बनाएका थिए । स्थानीय चुनावमा भने नयाँ शक्तिले फोरमको मसाल चिन्ह प्रयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित