सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

कर्मठ पूर्वछापामारको कथा : बन्दुकदेखि व्यारेकसम्म, बंगुरपालनदेखि ब्यालेडसम्म

दैनिक नेपाल २०७६ जेठ ३० गते १२:२८

सुनसरी, ३० जेठ । १४ अथवा १५ बर्षका थिए उनी, देशमा मुक्तिको आन्दोलनका नाममा माओवादीको संघर्ष चलिरहेको थियो, उनलाई त्यसले आकर्षण गर्यो । गुलेली समाउने उमेर थियो, बन्दुकतिर मोह जाग्यो, नागरिक हककका निम्ति । उनी जंगल र स्कुलको दोबाटोको अलमलमा परेनन् । मुक्तिका लागि जंगल रोजे, स्कुल पछि छिरौंला भन्दै ।

ताप्लेजुङ हाङपाङ–८ मिचिरिङमा २०४४ सालमा बुबा कुलबहादुर र आमा अम्बिका पूलामीका कान्छा छोरा भएर जन्मिएका थिए । असली नाम डम्बर पूलामी, परिचित नाम कर्म पूलामी बनेको छ ।

विद्यार्थी संगठनमा आवद्ध हुँदै माओवादी जनयुद्धमा होमिएका पुलामीका बुबा कुलबहादुर सरकारी जागिरे थिए । गाविस सचिव, त्यसपछि स्कूलका शिक्षक । परिवारमा आफ्नो लागि त्यस्तो अभाव र दुखको अनुभुति गर्नु परेको थिएन । किशोरावस्थामा प्रवेश गरेपछि माओवादी जनयुद्धको छापामार अर्थात् जनसेनाको जिम्मेवारी आई लाग्यो । सिपाही हुँदै कमाण्डरसम्मको जिम्मेवारी सम्हालेका पूलामीले पूर्वका धेरै लडाइँहरूको नेतृत्व गरे ।

मोरङको जाँते र इलाममा भएका भिडन्तमा उनी तत्कालिन राज्यका सुरक्षाकर्मीको सम्मुखमा परे । ‘मर्ने बाँच्ने कुराको ठेगान त हुँदैन थियो तर पनि युद्धमा गएको सिपाही मैंले त्यो बेला युद्ध हार्ने कुराको कल्पनासम्म कहिल्यै गरिएन’, उनी भन्छन् ।

धेरैले ज्यान गुमाउनु पर्यो शहादत प्राप्त गरे । कैंयौं सहयोद्धाहरू घाईते भई अपाङग बने । त्यसबेला उपचारका लागि त्यस्तो सुविधा थिएन । रातारात लुकिछिपी अस्पतालमा पुग्नु पथ्र्यो । त्यहाँ पनि सत्ताका सुराकी हुन्थे । अस्पतालमा जानु उपचारका लागि त छदै थियो तर बाँचेर आइएला भन्ने कुनै ग्यारेन्टी नहुने समयलाई पनि उनले सम्झिए ।

असमानता, वर्गीय विभेद र तत्कालिन शासकको ज्यादती अन्त्य गर्दै निरंकुश राजतन्त्रलाई घुँडा टेकाई छोड्ने र जनताको सत्ता स्थापित गर्ने लक्ष्यको स्कुलिङले उनलाई टाप लाएको घोडाजस्तो बनाइसकेको थियो । ‘मुक्तिको विकल्प केही सोचिएन, पार्टी हाइकमान्डको आदेश र जनताको सत्तामा समर्पित भइयो’, उनले दैनिक नेपाललाई सुनाए ।

शान्ति प्रक्रियाका राजनीतिक निर्णय र सहमतिहरू हुँदै गए । एकातिर बन्दुक चलिरहेका थिए, अर्कातिर विसाउने प्रक्रिया पनि । जनआन्दोलन पनि । राजनीतिक सहमति र परिघटनाहरूको निर्णयभित्रै पूलामी पनि परेकै थिए ।

अन्तर्राष्ट्रियस्तरको संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको निगरानीमा छापामार (जनसेना)हरूलाई देशभरका सात स्थानमा मुख्य डिभिजनहरू स्थापना गरेर अनमिनकै खर्चमा २०६३ मसिंरदेखि राख्न थालियो । ६ महिना सम्ममा सबै जनसेनाहरूको व्यवस्थापन गरिसक्ने अनमिन र सरकारले प्रतिबद्धता जनाए । तर यो क्रम शुरु हुन झण्डै ५ बर्ष लाग्यो । कतिपय जनसेनाहरूमा एक किसिमको नैराश्यता पनि जाग्यो । जसका कारण कैयौं जनसेनाहरू शिविरबाट पलायन भए । कोही देशै छोडेर रोजगारीका लागि खाडी मुलुकहरूमा लागेको उनलाई सम्झना छ ।

२०६४ सालमा शिविरमै राखेर माओवादीसहित तत्कालिन अन्य पार्टीहरू समेत जनताको संविधान जनताकै हातबाट लेखाउने दृढ अठोटसहित संविधान सभाको निर्वाचनमा केन्द्रित भए । माओवादी पार्टी देशकै ठूलो पार्टीका रुपमा जनअनुमोदित भयो ।

‘जनसेनाको भुमिका निर्वाचनमा अप्रत्यक्ष रुपमा रह्यो । कैयौं जनसेनाहरू निर्वाचनमा पनि खटिए भने शिविर बसाइ पनि जारी नै थियो । हामी पनि खटेका थियौं’, उनले सुनाए ।

मुलुकले संविधान त पाउन सकेन तर संविधानसभाको पहिलो बैठकले मुलुकबाट राजतन्त्रलाई विधिवत रुपमा अन्त्य गर्दा एक हदसम्म बन्दुक उचालेर ठिकै गरेको भन्ने निर्णयमा पूलामी पुगे ।

शिविरमा बसाईएका माओवादी जनसेनाहरूको व्यवस्थापन गर्ने दिशामा तत्कालिन सरकार र दलहरू क्रियाशील भए । २०६७–०६८ तिर माओवादी जनसेनाका लागि विकल्पसहित सेनामा समायोजनको अवसर मिल्यो । पूलामीले सेनामा भर्ति भएर सरकारी जागिरे हुन भन्दा स्वैच्छिक अवकाश रोजेर पार्टीले लिएको राजनीतिक उदेश्य पूरा गराउन खुल्ला राजनीतिको प्रतिस्पर्धामा आउने निर्णय गरे ।

बन्दुक र गोलीमा अभ्यस्त भएका पुलामीले स्वैच्छिक अवकाश रोजेर माओवादी राजनीतिलाई नै अघि बढाउने सोच राखे । पार्टीले पनि शिविरबाट बाहिरिएका पुलामी जस्ता जनसेनालाई पार्टीको उत्तराधिकारी संगठनका रुपमा रहेको योङ कम्युनिष्ट लिग ( वाइसिएल)को विभिन्न जिम्मेवारी दिएर भुगोल राजनीतिमा सक्रिय बनायो ।

जनसेनाको प्रथम डिभिजनमा रहेका पूलामीले प्राइभेट एसएलसी र त्यस पछि प्लस टुसम्मको अध्ययन शिविरमै गरिसकेका थिए । अब राजनीतिमा नै सक्रिय हुनु पर्यो भन्ने लागेर पढाई छोड्दै वाइसिएलको तत्कालिन झापा क्षेत्र नं ७ मा उनले क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाले । शिविरबाट स्वैच्छिक अवकाश रोजेका, विगतमा माओवादी जनयुद्धमा लागेका र सहयोग पुर्याएका युवाहरूलाई समेटेर उनले वाइसिएलको संगठन विस्तार गरे । परिणाम स्वरुप उनी वाइसिएल झापाको अध्यक्ष र पार्टीको निर्वाचित जिल्ला सदस्य भए । दुवै जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरेका पूलामी माओवादी केन्द्रले यस अघि निर्माण गरेको जम्बो केन्द्रीय आयोजक समिति सदस्य समेत भए ।

‘खुला राजनीति, जनताको घरसम्म पुग्ने राजनीतिमा अभ्यस्त हुने मौका पाइयो । पहिला सत्तासँग लड्ने ज्ञान थियो पछि जनतासँग भिज्ने सीप सिकियो’, उनी भन्छन्,‘यो सीप बुलेटदेखि व्यारेकसम्म हुँदैन भूगोलमा नै हुन्छ ।’

पार्टीले पछि त्यो कमिटी भंग गर्यो । अहिले उनी वाइसिएलको केन्द्रीय सदस्य तथा प्रदेश नं १ को संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् । राजनीतिको दिशा परिवर्तन भएजस्तै, राजनीतिमा लागेका युवाको पनि सोच परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्छन् उनी । त्यसैले, उनी संगठन निर्माणका अतिरिक्त शिविरबाट बाहिर निस्किएपछि व्यवसायिक कृषि उद्यममा पनि लागे ।

उनी बंगुर पालनमा सक्रिय हुँदै थिए । बजारको संकट उनको व्यावसायका लागि टिकाउ भएन । तर, बंगुरपालनदेखि व्यालेटसम्मको राजनीतिक र सामाजिक यात्राको समानान्तरलाई भने गज्जबले बुझेका छन् ।

‘भारत तर्फ निर्यात गरिदै आएको बंगुरको निकासीमा भारतले रोक लगाएपछि व्यवसाय मात्रै धराशायी भयो’, उनी सुनाउँछन्,‘स्वैच्छिक अवकाश रोजे वापत पाएको भत्ता तथा सुविधा वापतको रकम वंगुरपालनमा नै स्वाहा भयो ।’

तैपनि आफ्नो पुख्र्यौली थलोमा रहेको सानो तिनो पुँजी, आफन्त, साथीभाईहरूको सरसहयोग र परिवारका सदस्यहरूको मेहेनत र परिश्रमले अहिले दमकको वडा नं ४ मा बास बस्ने एउटा घर घडेरीको व्यवस्था गरेका छन् । पहाड तराई दुवै तर्फ परिवारको बसोबास भएकाले दुखसुख गुजारा चलेको छ ।

युवाहरूलाई राजनीति सँगै व्यवसायिक र दिगो आय आर्जनका बाटोमा पनि लगाउन सके मात्रै राजनीतिप्रति युवाको आकर्षण बढ्ने र मुलुकलाई समृद्धीका बाटोमा डोहोर्याउने युवा जनशक्तिको सदुपयोग हुने उनको बुझाई छ ।

प्रतिक्रिया
सम्बन्धित