सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

धुमिल राजनीति

वीवी श्रेष्ठ २०७६ जेठ ३० गते ८:५५

वीवी श्रेष्ठ

विगतमा राजतन्त्र र विदेशी प्रभुले नेपालका राजनीतिलाई धुमिल बनाइएको बताएर राजनीति गरिरहेका नेपालका राजनैतिक पार्टी र त्यसको नेतृत्वकर्ताहरू समयको फेरिएको गतिसँग परिवर्तिन हुन नसक्दा नेपालको राजनीति थप धुमिल हुँदै गइरहेको छ । जनताका लागिभन्दा पनि शक्ति र स्वार्थ केन्द्रित राजनीतिमा अभ्यस्त बनेका नेपालका नेताहरूको कमजोर चेतना नै मुख्य कारक तत्व बनिदियो ।

राजनीतिको अर्थ के भन्ने विषयमा वैचारिक वहस गर्न सक्ने हैसियत नभएका नै मुख्य राजनैतिक पार्टी लगायत अन्य पार्टीको नेतृत्वकर्ताको असक्षमतालाई त्यहि पृष्ठभूमिमा रमेका कार्यकर्ता संख्याले मलजल गरिदियो । जसका कारण असक्षमता, अयोग्य नेताहरू नै बदलिदो परिस्थितीमा कथित नेताहरू बनिदियो । जसका कारण देश र जनता परिवर्तनभन्दा पनि योग्य र सवल व्यक्तिहरू बिदेसिन बाध्य बनिदियो ।

भौगोलिक तथा प्राकृतिक दृष्टिकोणले संसारमा अव्वल देशका चित्रित नेपाल नेताहरूको यहि अयोग्यताका शिकार बनिदियो । सम्पूर्ण पक्षमा सवल भएता पनि वैचारिक र क्षमता विहीन नेतृत्वका कारण व्यवस्था परिवर्तन हुँदा समेत जनतामा परिवर्तन आएन । विचार विहीन नेतृत्व र स्वार्थ केन्द्रित व्यक्तिका सधैको हालीमुहालीले देश सधै बन्धक बनिदियो । शक्ति, सत्ता र पहुचका लागि जस्तो सुकै कर्ममा पनि लिन हुने नेतृत्वको शिकार आम नेपाली जनता बनिदियो । पारिवारिक घेराभन्दा वाहिर निस्कन नसक्ने सोचमा नै नेपालका राजनीति घुमिदियो । व्यवस्था परिवर्तन मात्र सर्वथा होइन, त्यसको सफल कार्यन्वयन र त्यसवाट आउने सकारात्मक प्रभावले मात्र जनताको परिवर्तन र समाज निर्माण बन्न सक्दछ । समाज परिवर्तन हुनका लागि त्यसका रहने व्यक्तिको चेतनास्तरले महत्वपूर्ण भूमिका खेल्दछ ।

त्यो पारिवारिक व्यक्तिकेन्द्रित सोचबाट बाहिर निस्कने हिम्मत नगरेकाहरू शक्तिका लागि जताबाट ढल्कने प्रवृक्ति नै नेपालका राजनीतिमा धुमिल राजनीतिका कारक तत्व हुन् । व्यक्ति आफैमा खराब हुँदैन, उसलाई समाजको वातावरणले कस्तो बनाउने भन्ने महत्वपूर्ण भूमिका खेल्दछ । विषको विरुवा रोपेर अमृतको कल्पना गर्नु भनेको मुर्खताका हद हो । त्यहि पृष्ठभूमिमा नेपालका राजनीति अगाडि बढिरहेको छ ।

जीवन आफैमा सृष्टिको निरन्तरताको उपज शिवाय केही होइन । यद्यापि संसारमा अर्बौ व्यक्ति जन्मे, अर्बौ मरे, त्यसमा केही औलामा गन्न सकिने सीमित व्यक्तिको सोँचमा संसार चलेको यथार्थ भुल्न सकिदैन । त्यहि चक्रमा घुमेको राजनीति पनि सीमित नेताका विचारको उपजमा नै बगिरहेका छन् । जुन अहिलेका नेताहरूले त्यहि भजाएर शक्ति र सत्तामा लिप्त बनेर पारिवारिक समृद्धिलाई नै देश र जनताका समृद्धिका रटान लगाइरहेका छन् ।

अस्थिरतमा नै आफ्नो भविश्य सुनिश्चित देख्नेहरूको भीडमा सुशासन र समृद्धिले मुख ढाक्दछ । कमजोर चेतनास्तर हुनेहरू नै ठूला गफ दिनेहरूका भीड बेग्रल्ती देख्न सकिन्छ । योग्य र क्षमतावान व्यक्तिहरूलाई बर्को ओडाउन खोज्नेहरूको यो समाजमा समाजसेवीका बिर्कोमा रमिरहेका छन् । नयाँ सोँच र समग्र विकासमा नै सोच्नेहरू समाजमा कलंकित बनेर लखेटिइरहेका सन्दर्भमा नेपालका राजनीतिमा यो प्रभाव पर्नु कुनै अनौठो होइन ।

त्यहि सोँच र शैली, आचरणमा जीवन बिताइरहकाहरू नै राजनीतिमा आफनो विर्ता जमाइरहेको सन्दर्भमा त्यहाँबाट निस्कने परिणाम कदापि फरक हुन सक्दैन । समाज र देशप्रति श्रद्धा नहुनेहरू नै समृद्धिको खोक्रो नाराले जनता झुक्याउने खेलमा खेलिरहेका छन् । त्यहि खेलमा खेल्नका लागि जीवन बन्धक राख्नेहरूका ताँतीले झन् देश परनिर्भर र अस्थिरतामा फस्दै गइरहेको छ । जसको हेक्का कमैलाई होला ।

विचार र क्षमता विनाको नेतृत्वले अर्काको कमजोरी देखाएर आफूलाई अव्वल देख्ने प्रवृत्ति नै देश र जनताका सवैभन्दा घातक पक्ष हुन् । जुन हरेक व्यक्तिको पर्याय बनेर यो वातावरणमा धुमिल बनिसकेको छ । आफ्नो आङ्गमा भैँसी नदेख्नेहरू अर्काको आङ्गमा जुम्रा खोज्न जुर्मुराईरहेको सन्दर्भमा देश र जनताको समृद्धिका नारा पट्टक्कै सुहाउँदैन भन्ने बुझन सक्दैनन् । घर हुँदै टोल, वडा हुँदै क्षेत्र र जिल्ला हुँदै देशसम्म झाङ्गिएको यो जालोले समृद्ध नेपालको कल्पना गर्नु भनेको जनतालाई थप जंजालको भुमरीमा फसाउनु शिवाय केही हुन सक्दैन ।

कर्ममा भन्दा खुरापातीमा विश्वास गर्नेहरूको संजालले बाधिएको यो परिवेशका जालो तोड्न कमजोर मस्तिष्क र सोँच भएकोबाट सम्भव छैन । जुन हामीले वर्षोदेखिको यहि सोँच परिवर्तन गर्ने हिम्मत गर्न सक्दैनौ, हामी पनि यहि धर्तिका एक निरन्तरताको घोतक शिवाय अन्य केहि बन्न सक्दैनौ । आफैमा विश्वास गर्न नसक्ने परिपाटीमा होमिएको हाम्रो सोँच जीवनको अन्तिम साससम्म ननिभ्ने गरी बलिरहेका छन् । असक्षमता र अयोग्यता नै हाम्रो विशिष्ट परिचय बोकेका हामीहरू त्यसको नै मलजलमा लिप्त बनेर जीवन घिसार्नु नै जीवनको मुख्य उपलव्धि सोचिरहेका छौँ । जुन यथार्थमा हामी पौडिरहेका छौँ ।

प्रतिक्रिया
सम्बन्धित