बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

अदालतबाट तारेखमा छुटेपछि फेरि भ्रष्टाचारमै

दैनिक नेपाल २०७६ जेठ ३० गते ६:५५

काठमाडाैं, ३० जेठ । भ्रष्टाचार प्रकरणमा रंगेहात पक्राउ परेका कर्मचारीलाई अदालतले सफाइ दिने र साधारण तारेखमा छाड्ने गर्दा उनीहरू पुनः भ्रष्टाचारमै फर्किने गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरेपछि पक्राउ परेका मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठले अदालतबाट उन्मुक्ति पाएपछि फेरि भ्रष्टाचार सुरु गरेका छन् । जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेपछि पुरानै कार्यालयमा फर्किएका श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदालिँदै २३ जेठमा पक्राउ परेका हुन् ।

अनियमिततासम्बन्धी एउटा मुद्दामा अदालतबाट छुटेपछि जागिरमा जोडिएर फेरि भ्रष्टाचारमा मुछिने चन्द्रबहादुर श्रेष्ठ एक्ला कर्मचारी होइनन् । काभ्रेमा सहायक वन अधिकृत रहँदा २० हजार घुससहित रंगेहात पक्राउ परे पनि विशेष र सर्वोच्च अदालतबाट सफाइ पाएका प्रह्लादप्रसाद धिताल पनि पुनः भ्रष्टाचार प्रकरणमै पक्राउ परेका छन् । मकवानपुरको जिल्ला वन अधिकृत (डिएफओ) रहँदा ब्रह्म सामुदायिक वनका रूख अवैध रूपमा काटेर बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

सुब्बा चन्द्रबहादुर श्रेष्ठ : धनीलाई छलेर ४० आना जग्गा बेचिदिए, पक्राउ परे पनि अदालतको आदेशमा छुटे, फेरि मालपोत फर्केर घुस धन्दा चलाएपछि पक्राउ
धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर बुढानीलकण्ठको ४० आना जग्गा बिक्री गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठसहितका कर्मचारी गत भदौमा पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाले उनीहरूविरुद्ध संगठित अपराध र ठगी मुद्दामा मुद्दा चलायो । चन्दनलाल कायस्थको सो जग्गा उनलाई थाहै नदिई बिक्री गर्दा उनको संलग्नताको प्रशस्त आधार देखिएकाले नै प्रहरीले दुई महिना थुनामा राखेर अनुसन्धान ग¥यो । त्यसपछि अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले एक महिना थुनामा राखेर अनुसन्धान गर्‍यो ।

तर, काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी पुनः चाबहिल मालपोतमै काममा फर्किए । साधारण तारेखमा छुटेपछि जागिरमा फर्किन पाउने प्रावधान छ । उनी पुनः खुलेआम घुसखोरीमा उत्रिए । एउटा फाइल खोज्नसमेत घुसविना नचल्ने भए । २३ जेठमा गोकर्णेश्वर–४ का सेवाग्राही आफ्नो जग्गाको मिसिलको प्रमाणित प्रतिलिपि लिन मालपोत पुग्दा दुई हजार नदिए मिसिल नखोज्ने चुनौती श्रेष्ठले दिए । हैरान भएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिए । घुस लिएलगत्तै कार्यालयबाटै श्रेष्ठ पक्राउ परेका छन् ।

अदालतले साधारण तारेखमा छाडेपछि उनको हौसला बढेको अख्तियारका एक अधिकारी बताउँछन् । ‘सायद अदालतले नछाडेको भए चाबहिल मालपोतमा उनको घुसखोरीले निरन्तरता पाउने थिएन,’ ती अधिकारीले भने, ‘अझ पक्राउ परेर छुटेका कर्मचारी सोही मालपोत कार्यालयमै रहनु अर्काे आश्चर्यको विषय छ ।’

डिएफओ प्रह्लाद धिताल : काभ्रेमा सहायक डिएफओ छँदा रंगेहात समातिए, अदालतबाट सफाइ पाएपछि मकवानपुरको डिएफओ बनेर पुनः भ्रष्टाचार
प्रह्लादप्रसाद धिताल चार वर्षअघि काभ्रेमा सहायक वन अधिकृत छँदा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । व्यक्तिगत जमिनको रूख कटानको अनुमतिका लागि उनले घुस लिएका थिए । अख्तियार टोलीले बबरमहलबाट उनलाई रंगेहात पक्राउ गरेको थियो । तर, काभ्रेको कर्मचारी काठमाडौंमा पक्राउ परेको भन्दै विशेष र सर्वाेच्च अदालतले सफाइ दियो ।

सफाइपछि धिताल मकवानपुरको डिएफओ बने । त्यहाँ रहँदा ब्रह्म सामुदायिक वनका रूख अवैध रूपमा काटेर बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध गत १ जेठमा एक करोड ५८ लाख बिगो दाबी गरी पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ । ‘एकातर्फ कर्मचारीमा घुसको लत बसिसकेको छ, अर्काेतर्फ रंगेहात पक्राउ पर्दा पनि अदालतले सफाइ दिन थालेपछि उनीहरूको हौसला बढेको छ,’ अख्तियारका एक अधिकारी बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित