७ कार्तिक २०८३, शनिबार

युवा संघ कि वाइसिएल ? एकतापछि पनि नेकपाको युवा संगठनमा नामकाे विवाद बल्झ्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ जेठ । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाइसिएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले युवा संघ नेपाल नामको निरन्तरतामा अडान राखेको छ ।

युवा संघ नेपाल तत्कालीन एमालेनिकट युवा संगठनको नाम हो । नेकपाका जनवर्गीय संगठनहरूको एकता घोषणा कार्यक्रममा ‘युवा संघ’ नाम नै घोषणा गरिएको थियो । तर, तत्कालीन माओवादीनिकट युवा नेताहरूले सो नाम स्विकारेका छैनन् ।

‘पार्टी महासचिवले नै यसबारे थप छलफल गरौँला भन्नुभएकाले सर्कुलर नआएसम्म संगठनको नाम आधिकारिक रूपमा टुंगिएको हामीले नमानेका हौँ,’ वाइसिएलका पूर्वमहासचिव सुवोधराज श्रीपाइलीले भने, ‘विधान मस्यौदा कार्यदल र पार्टी एकीकरण कार्यदलले युवा संगठन नेपाल र राष्ट्रिय युवा संगठन नेपालमध्ये जुनसुकै नाम राखे पनि उपयुक्त हुने गरी प्रतिवेदन बुझाएका थियौँ, तर त्यसभन्दा फरक नाम घोषणा भएकाले सर्कुलर नआएसम्म पर्खौँ भन्ने हाम्रो आग्रह हो ।’

एमालेनिकट युवा नेता नरेश शाहीले भने पार्टीले घोषणा गरेको नाम परिवर्तन नहुने दाबी गरे । ‘महासचिवले पार्टी निर्णयका आधारमा नाम, नेतृत्व र संख्या घोषणा गरिसकेपछि त्यसैलाई आधिकारिक मान्नुपर्छ, नेतृत्व मान्ने, नामचाहिँ नमान्ने भन्ने तर्कै हुन सक्दैन,’ तत्कालीन युवा संघका महासचिवसमेत रहेका शाहीले भने, ‘उहाँहरूले पार्टी महासचिवको सर्कुलरसम्म पर्खौँ भन्नुभएको छ, तर अब परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’

३ जेठमा जनसंगठन एकीकरण घोषणा कार्यक्रममा युवाहरूको भ्रातृ संगठनको नाम युवा संघ नेपाल तथा संयोजक रामप्रसाद सापकोटा‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलको नाम घोषणा भएको थियो । महासचिव विष्णु पौडेलले संघको केन्द्रीय समिति २ सय ५१ सदस्यीय हुने घोषणा गरेका थिए । सापकोटा तत्कालीन वाइसिएलका अध्यक्ष तथा पौडेल युवा संघका अध्यक्ष हुन् ।