शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

संसदीय समिति र जनार्दनविरुद्ध नाराबाजी, आन्दोलनमा उत्रिए लोकसेवाका विद्यार्थी

दैनिक नेपाल २०७६ जेठ २८ गते १३:३६

काठमाडाैँ, २८ जेठ । लोकसेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्य व्यवस्था समितिविरुद्ध परीक्षार्थी सडकमा ओर्लिएका छन् ।

संविधानविपरित भएको राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थी सडकमा उत्रिएका हुन् । समितिले दिएको निर्देशनको विरोध गर्दै मंगलबारदेखि काठमाडौंमा आन्दोलन सुरु हो ।

माइतीघरदेखि जुलुस लिएर नयाँबानेश्वरसम्म पुगेका उनीहरुले राज्य व्यवस्था समितिविरुद्ध र लोकसेवाको पक्षमा चर्का नाराबाजी गरेका छन् । जुलुसमा सहभागी सयौँ युवाहरुले लोक सेवाको विज्ञापन रोक्ने पक्षमा उभिएका नेकपाका सांसद जनार्दन शर्माविरद्ध पनि चर्का नारा लगाए ।

संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र जनताको हितविरुद्ध सो निर्देशन दिएकाले त्यसका विरुद्ध सडक संघर्ष सुरु गर्नु परेको बताएका छन् । उनीहरुले राज्य व्यवस्था समितिले सो निर्देशन फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन् ।

विद्यार्थीहरुले ‘जनताको हितविरुद्ध निर्णय लिने राज्य व्यवस्था तथा सुशासन समिति चाहिँदैन’, ‘पूर्व निर्धारित लोक सेवा आयोगको परीक्षा संचालन गर’ लगायतका चर्का नाराबाजी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनप्रति आक्रोश व्यक्त गरेका थिए।

जुलुसमा सहभागीहरुले लोकसेवाको परीक्षा रोक्न नहुनेमा जोड दिएका थिए । राज्य व्यवस्था समितिले सोमबार जेठ १५ गते लोकसेवाले खुलाएको विज्ञापन रोक्न सरकार र लोकसेवालाई निर्देशन दिने निर्णय गरेको थियो ।

विद्यार्थीहरुले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोक सेवा आयोगको अधिकार क्षेत्रमाथि हस्तक्षेप नगर्न समेत समितिलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित