सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

मेरिल्याण्डमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

दैनिक नेपाल २०७६ जेठ २८ गते ८:०९

अमेरिका । विगत दुई वर्षदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा हुँदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव यस वर्ष जुन २८ शुक्रबारदेखि जून ३० आइतबार हुने भएको छ ।

महोत्सवको सुरुवात नेपाली चलचित्र बुलबुलको प्रदर्शनबाट हुने भएको छ । महोत्सवमा बुलबुलका निर्देशक विनोद पौडेलको उपस्थिति रहनेछ ।

महोत्सवमा गुडबाइ काठमाडौंका निर्देशक नवीन सुब्बा, कालो पोथीका निर्देशक मीनबहादुर वम तथा वासिंगटन डिसी क्षेत्रमा रहेका नेपाली कलाकारहरूको उपस्थिति रहने महोत्सवका प्रमुख पूर्ण सिंह बराइलीले बताए ।

महोत्सवको अन्त्य नेपाली चलचित्र कथा ७२ बाट हुने भएको छ । महोत्सवमा नेपाली मात्र नभएर विभिन्न देशका उत्कृस्ट चलचित्रहरू प्रदर्शन हुने र फिल्महरू सम्बन्धि छलफल कार्यक्रमहरू पनि गरिने आयोजकको वेबसाइटमा उल्लेख गरिएको छ ।

नेपाली डायस्पोरामा रहेका व्यक्तिहरूलाई नयाँ चलचित्र बनाउने कुनै अभिप्राय भए छलफल गर्न नयाँ फिल्म फोरम पनि आयोजना गरिने भएको छ ।

महोत्सवको आयोजनालाई मेरिल्याण्ड फिल्म अफिस, प्रिन्स गर्ज काउन्टी पार्क एंड रिक्रिएसन अफिस तथा अन्य नेपाली व्यवसाय तथा व्यक्तिहरूले आर्थिक सहयोग गर्ने भएका छन् ।

महोत्सवमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई सम्मान गरिने छ । उत्कृष्ट चलचित्र छान्ने निर्णायक मण्डलीमा मीनबहादुर वमको अधक्षता रहनेछ । चर्चित महिला चलचित्रकर्मी रेबेका बुस्टामाण्टे र मिमी माकाडो लुसीको पनि सहभागिता रहनेछ ।

नेपाली चलचित्र, कला, संस्कृति र कलाकारहरूलाई विश्वसंग जोड्न उक्त चलचित्र महोत्सवको सुरुवात गरिएको नेपाली आयोजक नेपाली अमेरिका चलचित्र समाजले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित