सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

दैनिक नेपाल २०७६ जेठ २८ गते ६:५२

काठमाडौं, २८ जेठ । सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो ।

‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ । विधेयकलाई स्थगन सबै एकजुट भएर अघि बढ्नुपर्दछ’ सोमबार राजधानीमा आयोजित विरोधसभामा बोल्दै प्रा.डा केदारभक्त माथेमाले भन्नुभयो ।

विधेयकमा गुठीको जग्गा भूमाफिया, बिचौलियाले सहजै हडप्न सक्ने प्रावधान राखेको भन्दै विरोधमा सोमबार राजधानीमा मसाल जुलस निस्किएको छ । प्रदर्शनकारीमाथि आइतबार भएको दमनको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा विरोध जनाएको छ ।

राजधानीको इन्द्रचोकमा सोमबार कोणसभापछि मसाल जुलस निस्किएको थियो । सो मसाल जुलसमा विभिन्न गुठियार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

लिच्छविकालदेखि धर्म, संस्कृति र अन्य परोपकारको काम गुठीमार्फत सञ्चालन हुँदै आएको छ । करिब १५ सय वर्ष पुरानो गुठी परम्परा समाज सञ्चालनको एउटा संरचना हो । गुठी जग्गालाई मास्ने भूमाफियाको चलखेललाई सरकारले विधेयकमार्फत् वैधानिकता दिन खोजेको सरोकारवालाहरु बताउँछन् ।

सो विधेयकले देशभरका गुठीको एकीकृत विकास, सञ्चालन, व्यवस्थापन र प्रशासनका लागि राष्ट्रिय गुठी प्राधिकरणको परिकल्पना गरेको छ । यस्तो प्राधिकरणले गुठीका चल–अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र आवश्यकताअनुसार बेचबिखन गर्न सक्छ ।

‘यो ऐन लागू भएसँगै गुठीको सम्पूर्ण हक, दायित्व प्राधिकरणमा सर्ने छ । गुठीको जिम्मा गुठीयारको हातबाट खोसिएर प्राधिकरणमार्फत कर्मचारीमा जानेछ’ गुठी संस्थानका पूर्व अध्यक्ष एवं प्रशासक पञ्चलाल महर्जनले राजधानीमा आयोजित सभामा भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित