मंगलबार, १० असार २०७६
DainikNepal.com
मंगलबार, १० असार २०७६

सिक्किमका मुख्यमन्त्रीविरुद्ध विपक्षी दलको विरोध

दैनिक नेपाल २०७६ जेठ २७ गते १९:११

-जगन दाहाल

गान्तोक, २७ जेठ । सिक्किम सरकारलाई चारवटा विषयमा घेराबन्दी गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले आन्दोलन शुरु गरेको छ ।

एसडीएफको केन्द्रीय प्रवक्ताहरूको उपस्थितिमा युवा तथा चेली मोर्चाका सदस्यहरूले पूर्व जिल्लाको प्रशासनिक केन्द्र परिसरमा आजदेखि चारवटा माग लिएर धर्ना गर्दै आन्दोलन शुरु गरेको छन् ।

एसडीएफले भारतको संविधान र सुप्रिम कोर्टको आदेशको उलङ्घन गरी भ्रष्टाचारका दोषीलाई मुख्यमन्त्री नियुक्त गरेकोमा आक्रोश व्यक्त गरेको छ । देशका वरिष्ठ नेता एवं विपक्षीका नेता पवन चामलिङ विरुद्ध विधानसभामा अपमान जनक व्यवहार गरेर सदनको गरिमालाई खण्डित गरेको भन्दै विरोधमा उत्रिएका हुन् । त्यसैगरी एक परिवार एक नोकरी कार्यक्रमको १० हजार युवाहरूको भविष्यसित खेलवाड गर्ने वर्तमान सरकारको निर्णयको प्रतिवादमा एसडीएफले प्रदर्शन गरेको हो । त्यस्तै सत्तारूढ एसकेएम पार्टीको राज्यव्यापी हिंसा, आगजनी र तोडफोडको प्रतिवादमा धर्ना राखिएको एसडीएफको दावी छ ।

धर्नामा उपस्थित एसडीएफका प्रवक्ता जेबी दर्नालले विधानसभाको घटना देश कै प्रजातन्त्रको निम्ति कालो दिन रहेको बताउँदै सिक्किमलाई सत्तारूड एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेले बदनाम गराएको आरोप लगाए ।

उनले सदनमा एसडीएफका नेता पवन चामलिङ विरुद्ध नारावाजी हुँदा त्यसको प्रतिवाद र खण्डन गर्नका साटो आफूलाई केही थाहा नभएको मिडियामा बयान दिएर उक्त घटना मुख्यमन्त्री पीएस गोलेद्वारा नै सुनियोजित रहेको र भाडाका मान्छेहरू ल्याएर राज्यको प्रजातन्त्रलाई विश्वस्तरमा बदनाम गरेको आरोप लगाए ।

यस घटना बारे सदनबाट अहिलेसम्म कुनै कारवाही नहुनु सदनका अध्यक्षको विद्यता माथि पनि प्रश्न चिन्ह खडा गरिदिएको भन्दै घटनामा संलग्न दोषीहरूलाई तुरन्तै कार्वाही गर्नुपर्ने माग गरे । यसरी नै उनले सदनमा अध्यक्ष पवन चामलिङको प्रतिवाद गर्न उभिएका शहरी विकास तथा आवास मन्त्री अरुण उप्रेतीले राज्यको अनुसूचित जातिको भावना माथि आघात गरेको आरोप दर्नाललाई लगाए । प्रवक्ता दर्नालले एसडीएफ अध्यक्ष चामलिङ एकजना अनुसूचित जातिका व्यक्ति सदनका अध्यक्ष भयो भनेर होइन ।

तर संविधानले नदिएको व्यक्ति सदनको नेता भएकोमा सदनबाट बाहिरिएको कुरालाई निहुँ बनाएर मन्त्री उप्रेतीले साँपको खुट्टा साँपले देखेजस्तो एकजना दलित समुदायका व्यक्ति आफ्नो बुता र योग्यतामा अध्यक्ष हुँदा मनको औडाहा पोखाउने माध्यमकोरूपमा अध्यक्ष चामलिङलाई प्रयोग गरेको बताए ।

विधानसभा अध्यक्ष एलबी दास आफ्नै बुतामा अध्यक्ष बनेको अनि त्यसमा उप्रेती र उनको अध्यक्ष गोलेको कृपा नरहेको दावी गर्दै अनुसूचित जातिको अध्यक्ष बन्दा उप्रेतीलाई सहिनसक्नु भएको आरोप पनि लगाए ।

अर्को्तिर एसडीएफका अर्का प्रवक्ता एमके सुब्बाले एसकेएम सरकारले आफ्नो कार्यकालको १४ दिन भित्रै केही गर्न नसक्ने स्पष्ट पारेको दावी गर्दै मुख्यमन्त्री पीएस गोलेले सरकार गठनको अहिलेसम्म दिएका भाषणहरूमा स्कर्पियो र फर्चुनरको हावा मिठाईमात्र बाँडिरहेको अनि कुनै ठोस कार्यक्रम जनतामा दिन नसकेको आरोप लगाए ।

एसडीएफ सरकारले दिएको एक परिवार एक नोकरीलाई असंवैधानिक सरकारले अवैध भनेर १० हजार युवाहरूको पेटमा लात हान्ने काम गरेको आरोप लगाउँदै चुनावको आचार संहिता देखाएर गलतरूपमा बेरोजगार बनाउने कार्मिक विभागको सर्कुलर १३ तारिक भन्दा अघि फिर्ता गर्नुपर्ने बताए ।

यदी सर्कुलर फिर्ता नलिएको खण्डमा आन्दोलन तीव्र गर्ने अनि न्यायलय जाने चेतावनी दिए ।

यसरी नै उनले मुख्यमन्त्री पीएस गोलेको पद पूर्णरूपमा असंवैधानिक रहेको बताए । भारत कै प्रजातन्त्रको निम्ति खतरा भएको हुनाले मोहमद साहबुदिनहरूले पनि गोलेको कारणले अपराधिक राजनीति गर्ने प्रोत्साहन पाउन सक्ने भन्दै यस्ता क्रियाकलापलाई तुरन्तै रोक्नुपर्ने माग लिएर एसडीएफ पार्टी आन्दोलनमा उत्रिएको बताए ।

प्रवक्ता सुब्बाले एसकेएम सरकारले कुनदिनदेखि लिम्बू तामाङको आसन र अस्थायी कर्मचारीको स्थायी गर्ने प्रक्रिया शुरु गर्ने अनि आफूले सत्तामा आउनलाई गरेको वाचाहरू पूरा गर्नको साटो हावाको कुराहरू गरिरहेको आरोप पनि लगाए ।
यसरी नै सिक्किमको शान्ति सुरक्षा खतरामा परेको अनि नयाँ सरकारले त्यसलाई समाधान गर्न असमर्थ रहेको बताउँदै राज्यभरी भइरहेको राजनीतिक हिंसा बन्द गर्नुपर्ने माग पनि गरे ।

उनले एसडीएफको मागहरू समाधान नभएसम्म आन्दोलन जारी राख्ने अनि आन्दोलन अझ तीव्र गर्ने चेतावनी दिए । धर्नामा एसडीएफका दोस्रो पंक्तिका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित