आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

‘धुर्मुस–सुन्तली’ले ‘अपराधी’ भनेका प्रकाश कँडेल रिहा, भरतपुरमा भव्य स्वागत

दैनिक नेपाल २०७६ जेठ २७ गते ८:४२

भरतपुर, २७ जेठ । धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको अभियोगमा पक्राउ परेका स्थानीय युवा प्रकाश कँडेलसहितका चार जना युवालाई स्थानीय प्रशासनले छाडिदिएको छ ।

प्रकाश कँडेलसहितका युवाहरू आइतबार राति छुटेपछि स्थानीयहरूले फूलमाला र अबिरले भव्य स्वागत गरेका छन् । प्रकाश कँडेलसहितका चार जना छुट्ने सूचना पाएपछि सयौँको संख्यामा स्थानीयहरू जम्मा भएका थिए ।

सीताराम कट्टेल, कुञ्जना घिमिर र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको दवावमा पक्राउ परेका प्रकाश कँडेलसहितका युवाहरूले माफी मागेपछि रिहाइ गरिएको हो ।

सीताराम कट्टेल, कुञ्जना घिमिरले प्रकाश कँडेललाई ‘अपराधी’, ‘देशद्रोही’ भनेका थिए ।

स्थानीय जनताको मागलाई बेवास्ता गर्दै धुर्मुस–सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला निर्माणको कामलाई अगाडि बढाएपछि स्थानीयहरूले रंगशालामा लगाइएको बार भत्काइदिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार प्रकाश कँडेल, भैरव बास्टाकोटी, ध्रुब चापागाइँ र सुरेन्द्र बिकलाई आइतबार राति छाडिएको हो । उनीहरूलाई हाजिरी जमानीमा छाडिएको मल्लले बताए ।

मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरूलाई रिहा गरिएको जनाइएको छ ।

प्रहरीको हिरासतमा रहेका चार जनाले आइतबार राति भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचनासमेत मागेका छन् ।

उनीहरूले प्रेस विज्ञप्ति जारी गरेर घटनाले देश विदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रंगशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता गरेसँगै उनीहरूलाई प्रहरीले रिहा गरेको हो ।

जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरूले जस्ताको बार भत्काइदिएका थिए ।

त्यही घटनामा पक्राउ परेका अन्य १४ जनालाई जेठ २० गते प्रहरीले हाजिरी जमानीमा छोडेको थियो ।

उता, रंगशाला निर्माणका लागि सीताराम कट्टेल र कुञ्जना घिमिरेले देश विदेशमा उठाएको रंकमको हरहिसाब पनि स्थानीयले माग गरेका छन् । स्थानीयहरूले चन्दाबाट उठेको रकमको जानकारी सबैलाई हुनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित