सोमबार, ९ असार २०७६
DainikNepal.com
सोमबार, ९ असार २०७६

सिक्किमको विमानस्थलमा उडान ठप्प

दैनिक नेपाल २०७६ जेठ २६ गते १५:००

-जगन दाहाल

गान्तोक, २५ जेठ । भारतको १००औं विमानस्थलको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको पूर्व सिक्किमको पाकिममा निर्मित राज्यको पहिलो विमानस्थलबाट उडान ठप्प भएको छ ।

उद्घाटन गरेको केही दिन पछि नै उडानको अनियमितताको शिकार बनेको पाकिम ग्रीन फिल्ड एयरपोर्टबाट सेवा सञ्चालन गरिरहेको स्पाइस जेटले यसै महिनादेखि चार महिनाको निम्ति सबै व्यवसायिक उडान स्थगित गरेपछि विमानस्थल अचल बनेको हो ।

यस प्रसङ्गलाई सिक्किम उच्च न्यायालयले गम्भिरतासँग लिँदै कारवाही शुरु गरेर चार हप्ताको समय भित्र स्पष्टिकरण बुझाउनुपर्ने सूचना जारी गरेको छ । जसमा उच्च न्यायालयले भारत सरकारको नागरिक उड्यन मन्त्रालय, भारतीय विमान प्राधिकरण, सेवा प्रदाता स्पाइस जेट एयरलाइन्स र सिक्किम सरकारलाई बिहीबार सूचना जारी गरेको हो ।

उच्च न्यायालयले चार हप्ताको समय दिँदै स्पष्टिकरण बुझाउनुपर्ने प्रतिवादीहरूलाई आदेश दिएको छ। आगामी ३० सेप्टेम्बरसम्मको निम्ति स्पापाइस जेटले सम्पूर्ण व्यवसायिक सेवा रद्द गरेको बताएको छ भने राष्ट्रिय समाचार माध्यमहरूले दिएको जानकारी अनुसार मौसमको खराब अवस्था र उज्यालो कम्ति भएको कारण सबै उडानहरू रद्द गरिएको बताएको छ ।

शुरुदेखि नै भिजिविलिटीको समस्या झेल्दै आएको विमानस्थलले शुरुवाति दिनदेखि नै सठिक समयमा सेवा पुऱ्याउन सकिरहेको थिएन । पटक-पटक विमान सेवा रद्द हुने गरेकै थियो। यद्यपी, अनियमित रूपमा भएपनि पाकिमबाट गौहाटी र कोलकाताको उडान चलिरहेको थियो ।

स्वप्रेरित कार्वाही गर्दै उच्च न्यायालयको खण्डपिठका प्रमुख न्यायाधीश विजयकुमार विष्ट र मिनाक्षी मदन राईको खण्डपिठले चार महिनाको निम्ति किन उडान रद्द गरियो त्यसको विस्तृत कारण सहित दस्तावेजहरू बुझाउने निर्देशन दिदै सही ढङ्गमा विमानस्थल सञ्चालन गर्ने निर्देश पनि भारतीय विमान प्राधिकरणलाई दिएको छ ।

यसरी नै न्यायालयले भारत सरकारको नागरिक उड्यान मन्त्रालयलाई विमानस्थलको आवश्यक जमीनको निम्ति अधिग्रहण र त्यसको वित्तीय उपलब्धता बारे पनि निर्देश जारी गर्दै इन्स्ट्रोमेण्ट फ्लाइट रूल्स (आईएफआर)मोड निर्माणको निम्ति आवश्यक जमिनको बारेमा पनि पहल गर्ने निर्देश दिएको छ ।

पाँच किलोमिटर जमिन यसको निम्ति आवश्यक हुन्छ । जसलाई लगाउन राज्य सरकारले इच्छा व्यक्त गरेको पनि बताइएको छ तर, त्यसको निम्ति अझ जमिन चाहिएको छ ।

राजधानी गान्तोकबाट ३० किलोमिटरको दूरीमा रहेको पाकिम विमानस्थलको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गतवर्ष २४ सेप्टेम्बरमा गरेका थिए । त्यसपछि ४ अक्टोबर २०१८ देखि ३१ मई २०१९ सम्म अनियमित रूपमै भएपनि विमानले उडान भरेको थियो ।

पर्यटनको निम्ति महत्वपूर्ण पूर्वाधार मानिएको भएपनि विमानस्थलबाट नियमित उडान सञ्चालन नभएपछि भनेजस्तो सहयोग पुग्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित