मंगलबार, १० असार २०७६
DainikNepal.com
मंगलबार, १० असार २०७६

५६ अर्ब कालो धन झिकाऊ, १७ रंगशाला बनाऊ

विचरा प्रतिपक्ष ! ९९ सयबाट स्वाट्टै २ मा झरेको पल

विनोद ढकाल २०७६ जेठ २१ गते ११:५४

-विनोद ढकाल

केही महिनाअघि खोज पत्रकारिता केन्द्रले नेपालबाट ५६ अर्ब रूपैंया रकम स्विस बैंकमा थुपारेको सार्वजनिक गरेको थियो । यसलाई ‘नेपाललिक्स’ अभियानका रूपमा विश्व समुदायले मानेको थियो । अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्रको सहयोगमा नेपाललिक्स मार्फत पैसा थुपार्नेको विवरणमात्र सार्वजनिक भएन, कसरी त्यहाँ रकम पुग्यो भन्ने तथ्य पनि सार्वजनिक भयो । यत्रो, नेपाली रकमका बारेमा सरकार चुइँक्क गरेको छैन, प्रतिपक्षी दलले जम्मा एक पटक संसदमा औपचारिकताका लागि प्रश्न उठायो । त्यसपछि फलोअप गरेन । जनताले समाचार पढे, एकाध दिन सामाजिक सञ्जालमा चर्का कुरा गरे त्यसपछि यसै सेलायो । यस प्रकरणमा नाम मुछिएका केहीले विज्ञप्ति जारी गरी खण्डन गरे, केहीले तैं चुप मैं चुपको नीति अख्तियारी गरे । विषय विस्तारै सेलाउन थाल्यो, जगाउने कोही पनि निस्किएन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्टमबाट भने– यस विषयमा छानबिन गरिएला तर तथ्य हो की होइन, खण्डन हुने काम जारी छन् !

प्रतिपक्षको काम त, स्वतन्त्र अभियानमार्फत डा. सुरेन्द्र केसी, सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाहीहरूले गरिरहेका छन्, सडकबाट । जसको कुनै राजनीतिक दल छ न वैचारिक लाइन । केही छ त राजनीतिमा इमान ल्याऊ भन्ने आवाज । यी अनुहारहरूले कुर्सीका बंग्याइएका खुट्टालाई सिधा बनाउने कोशीश गरिरहेका छन्, प्रतिपक्ष नभए पनि

सरकार यतिसम्म लाचार बन्यो, उसले त्यति ठूलो रकमको छानबिनका लागि कुनै समिति गठन गरेन । यसका लागि ‘स्पेशियल टास्क’ नै तयार गरेर सरकार कठोर बन्न जरुरी थियो । न प्रतिपक्षी दलले कुनै दबाब दियो । गिरीजाप्रसादको नाम किन हटाइयो, सुशीलको नाम किन हटाइयो भनेर सदन अवरुद्ध भयो, यत्रो रकम झिकाउनका लागि किन पहल भएन भनेर एक दिन पनि बैठक अवरुद्ध भएन । सरकारलाई ध्यानाकर्षण गर्न कुनै पनि मानेमा दबाब दिएन । त्यसैले प्रचण्ड बहुमतसहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीले भन्ने नै भए– विचरा ! कांग्रेस सर्पको खेल जस्तो ९९ बाट स्वाट्टै २ मा झर्यो ।

यसबाहेक एनसेल प्रकरण, वाइडबडी काण्ड, निर्मला पन्तलगायतका हत्याकाण्ड यी विषयमा त प्रतिपक्षको कुनै भूमिका नै देखिएन । संसदीय व्यवस्थामा प्रतिपक्षको काम हो– सरकारलाई झकझक्याउने, दबाब दिने । त्यो पनि सकिएन भने दबाबका लागि जनतामाझ जाने । झारो टार्ने होइन । एकाध नेताले कडा शव्दमा बोलेको सुनिन्छ तर तिनको संसदमा कुनै जोर चलेको छैन । सत्ताले त सँधैभरी पेल्ने नीति लिन्छ । हिजो, कांग्रेसको सत्तामा पनि पेल्ने नीति लिएकै थियो । यस्ता कयन उदाहरण छन् । स्मरणका लागि प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग दर्ता भएको पल !

प्रतिपक्षको लल्लौरी बिल्लौरी

नेपालको राजनीति, सामाजिक राजनीति विभिन्न कोणबाट चलिरहेका छन् । प्रतिपक्ष लल्लौरी बिल्लौरी गाउने र सत्ताका अनेक निर्णयमा साक्षी बसिदिने काम गरेको छ । खासगरी कांग्रेसले प्रतिपक्षमा बस्ने अभ्यास नगरेर होला, उ प्रतिपक्षी हुँदा पनि सत्तापक्षी जस्तो छ । यहाँसम्मकी छिमेकका मुलुकमा प्रधानमन्त्री निर्वाचित हुँदा मात्र होइन, विदेश मन्त्रीलाई पनि बधाई दिन हतारो गर्छ । नेपाल भ्रमणको निम्तो पनि दियो होला, सायद ।

प्रतिपक्षको काम त, स्वतन्त्र अभियानमार्फत डा. सुरेन्द्र केसी, सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाहीहरूले गरिरहेका छन्, सडकबाट । जसको कुनै राजनीतिक दल छ न वैचारिक लाइन । केही छ त राजनीतिमा इमान ल्याऊ भन्ने आवाज । यी अनुहारहरूले कुर्सीका बंग्याइएका खुट्टालाई सिधा बनाउने कोशीश गरिरहेका छन्, प्रतिपक्ष नभए पनि । सरकारी सुविधामा बसेको प्रतिपक्षले भने आफ्ना क्षेत्रको नागरिकको समस्या समेत जोडतोडका साथ राख्न सकेका छैनन्, देशको समस्याबारे बोल्ने हिम्मत कहाँबाट आउँछ ?, यसैले स्वाट्टै २ मा झरेको हो । आफैंभित्रको समस्याग्रस्त रहेको कांग्रेसको बेला मौकाको लल्लौरी बिल्लौरीले समाधान दिन सक्ला त ?

सेतो बनाउने अर्थमा कम्तिमा ३ अर्बको परियोजना रहेका क्रिकेट रंगशालाजस्ता १७ वटा बन्ने रहेछन् । त्यहाँ सेतो बनाऊ । मान्छेका खुन, पसिना एक गरेको श्रमको मुल्यबाट करका रूपमा राज्यलाई तिरेको रकम हो, त्यो

कालो धन सेतो बनाउने मेशिन

५६ अर्ब कालो धन, सेतो बनाउने अनेक मेशिनका प्रयोग भइरहेका छन् । कहिले राष्ट्र बैंक, कहिले अदालत । एउटा गीत जस्तो राजनीतिको भाका चलिरहेको छ, कालो धनको नाता गुञ्जिरहेको छ । ‘चिनेको भन्दा पनि किनेको नै काम लाग्छ’ भन्ने गीत जस्तो किनेका जति काम लागिरहेका छन् । यसैले राज्यका हरेक अंगमा रहेका र स्वनाफामुखि व्यहोरामा हुर्किएकाले कालो धनको रक्षा गरिरहेका छन् ।

कालो धन सेतो बनाउनुपर्छ । त्यसका औजार र मेशिन पर्याप्त छन् । अब सीताराम कट्टेल– कुञ्जना घिमिरेहरूलाई दुख दिन हुँदैन । तिनलाई यो देशको विकास गर्ने गम्भिर सोचबाट मुक्त गरी, कलाकारितामा राज्यले फर्काउनुपर्छ । टेलिभिजनका पर्दामा फर्काउनुपर्छ । त्यसका लागि, कालो धनमाथि गम्भिर छानबिन गरी त्यसलाई भित्राऊ, अनि सेतो बनाऊ । सेतो बनाउने अर्थमा कम्तिमा ३ अर्बको परियोजना रहेका क्रिकेट रंगशालाजस्ता १७ वटा बन्ने रहेछन् । त्यहाँ सेतो बनाऊ । मान्छेका खुन, पसिना एक गरेको श्रमको मुल्यबाट करका रूपमा राज्यलाई तिरेको रकम हो, त्यो । त्यहाँमाथि भावनात्मक खेल भयो, झेल भयो । अब, त्यसलाई भित्राउने काम राज्यले गर्नुपर्छ, त्यहाँ जनताका छोराछोरीले क्रिकेट, फूटबल, कबड्डी, खोखो सबै खेल्नेछन् ।

राज्यले त्यो कालो पैसालाई सेता बनाउन यहि मेशिनको प्रयोग गर्नुपर्छ । यसले सत्ता स्वार्थमा पनि फाइदा गर्छ । अर्को पटक सरकारलाई निरन्तरता दिने काममा । यो, एउटा गम्भिर काम हुनेछ । सत्ताले यति गरे, २ मा झरेको प्रतिपक्ष उक्लिने त परै जाओस् खेलबाटै आउट हुन सक्छ । तर, राजनीतिलाई लुँडो बनाउने होइन, यसलाई व्यवाहारिक प्रयोग गर्ने हो । प्रधानमन्त्री ओली दाबी गर्छन्– मेरा सरकारका पालामा हडपिएका सरकारी जग्गा खोजी गर्न थालिएको हो । हो, बधाई छ । यस्तै, देशबारिह पुराइएको ५६ अर्ब खोजी होस्, प्रधानमन्त्री ज्यू ! अर्को कार्यकाल पक्का ! पार्टीभित्र पनि आलोपालोको हल्ला हुनेवाला छैन । प्रचण्डले भनेकै छन्– प्रभावकारी काम गरे, ओली जी नै ५ बर्ष पक्का ।

आज हाम्रो टाउकोमा रहेको प्रति व्यक्ति ३६ हजार रूपैंयाको ऋणभार भोली हाम्रो पुस्ताको टाउकोमा ३६ लाख बन्न बेर लाग्दैन । त्यसबेला इतिहासमा पुस्ताले धिक्कार गर्नेछन्, हामीमाथि र जायज हुनेछ चाणक्यको अर्को भनाई– ऋण लगाउने बाबु पनि शत्रु हुन् !

जनताको जिम्मेवारी

सामाजिक सञ्जालमा विचारको भन्दा भावनाको बहस गर्ने प्रवित्ति नेपाली जनतामा पर्याप्त छ । जिम्मेवारिता भन्दा पनि पक्ष र विपक्षको बहसमा केन्द्रित हुने चलन छ । विचार भन्दा आवेगको बजार बलियो छ । विश्लेषण र विवेचनाको यथार्थ भन्दा पनि बोक्रो तर्कमा अल्झिने बानी छ । चिया पसलमा राजनीतिका बारेमा तर्कवितर्क गर्ने, धारणा राख्ने रहर पनि छ । तर, पैसा कमाउने चाहना अधिक छ । धनी बन्ने जुनसुकै बाटोलाई स्वीकार गरिदिने परिपाटी पनि छ । चाणक्यको शव्द सापटी लिन्छु– जसले अन्यायपूर्ण हिसाबले धन जोगाएका छन्, यस्ता मान्छेसँग टाढा बस्नू, यस्ता मान्छे आफैंका लागि बोझ हुन्, आफैं पनि शान्तीसँग बाँचिरहेका हुँदैनन् ।

अब परिवर्तनको जिम्मेवारी आम जनताको होइन । सत्ता अख्तियारी, प्रतिपक्षको जिम्मेवारी नियाँल्ने काम आम मानिसको होइन ? ए, यस्तै हो– म एक्लैले परिवर्तनको कुरा गरेर केही सुध्रिँदैन, त्यहि लुट्ने जमातमा मिसिनुपर्छ भन्ने मान्यता राखेर हिँड्यो भने भोलीको पुस्ताले दुख पाउँछ । इतिहासले राजनीति गर्नेलाई मात्र धिक्कार्दैन, इतिहासले त्यसबेलाका जनतालाई पनि धिक्कार्छ ।

आज हाम्रो टाउकोमा रहेको प्रति व्यक्ति ३६ हजार रूपैंयाको ऋणभार भोली हाम्रो पुस्ताको टाउकोमा ३६ लाख बन्न बेर लाग्दैन । त्यसबेला इतिहासमा पुस्ताले धिक्कार गर्नेछन्, हामीमाथि र जायज हुनेछ चाणक्यको अर्को भनाई– ऋण लगाउने बाबु पनि शत्रु हुन् ! त्यति खेर हाम्रा सन्तानले हामीमाथि श्रद्धाभावमा श्राद्ध हैन, कटु भावमा गाली गर्नेछन् । हिजो हाम्रो विगतले बिगारेको व्यवस्थालाई हामी सचेतले सपार्नका लागि कुनै योगदान गरेनौं भने जुन भावनामा हामी बगिरहेका छौं, त्यो पनि बाँकी रहनेवाला छैन ।

प्रतिक्रिया
सम्बन्धित