३० आश्विन २०८३, शुक्रबार

‘सन्ततिको भविष्यका लागि भए पनि नेपालमा लगानी गर्नुस्’

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भियना, १७ जेठ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आग्रह गरेका छन् ।

नेपाली प्रवासी एकता मञ्च, अष्ट्रियाले शुक्रबार साँझ आयोजना गरेको स्वागत समारोहमा बोल्दै मन्त्री बस्नेतले आफ्ना सन्ततिको भविष्यको आत्मसम्मानका लागि भए पनि विदेशमा सिकेको सिप र आर्जन गरेको पूँजी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

‘नेपाल राजनीतिक स्थिरता हासिल गरेर आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणको दिशामा छ । समृद्ध राष्ट्र निर्माणका लागि प्रवासमा रहनुभएका नेपालीहरुको योगदानको खाँचो छ,’ उनले भने, ‘विदेशमा स–परिवार रहनु हुने नेपालीहरुले त झनै आफ्ना सन्ततिहरुलाई भविस्यमा आत्मसम्मानको लागि भए पनि नेपालमा लगानी गरिदिनु होस् ।’

मन्त्री बस्नेतले नेपालको वनजंगल आय स्रोतको एक हिस्सा भएको बताउँदै नेपाली जडिबुटीलाई प्रशोधन गर्न सातवटै प्रदेशमा प्रशोधन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । उनले वन्य जन्तु चोरी सिकारी रोक्न वन्य जन्तुको व्यवसायिक पालनका लागि कानुन बन्न लागेको जानकारी दिए ।

‘वन्य जन्तु चोरी शिकारी हुने कुराको अन्त्य गर्नका लागि व्यवसायिक रुपमै वन जंगलमा हुने जनावर पाल्न कानूनी प्रावधान गरिनेछ,’ उनले भने, ‘तपाईंहरुले यस क्षेत्रमा पनि लगानी गर्न सक्नु हुन्छ ।’ मन्त्री बस्नेतले अष्ट्रियामा रहेका नेपालीहरुले नेपाल र अष्ट्रियाबीचको पुलको काम गर्नुपर्ने बताए ।

कार्यक्रममा मञ्चका संयोजक धर्मराज खतिवडाले समृद्ध नेपाल, सुखी नेपालीको नेपाल सरकारको अभियानमा साथ दिन अष्ट्रियामा रहेका नेपाली समुदाय तयार रहेको बताए । उनले साना साना पूँजीहरुलाई जम्मा गरि लगानी गर्न सजिलो हुने वातावरण बनाई दिन नेपाल सरकारलाई आग्रह गरे ।