सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

मेयर रेणुका ‘भष्मासुर’, पितुर्के सीताराम र गैरजिम्मेवार राज्य

विनोद ढकाल २०७६ जेठ १७ गते ११:३३

-विनोद ढकाल

चितवनका निजी विद्यालयले अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रत्येक अभिभावकले सय रूपैंया दिनुपर्ने चिर्कटो विद्यार्थीको हातमा थमाएर समयसीमा लेखेको तथ्य सामाजिक सञ्जालमा राख्नासाथ त्यसका क्रिया र प्रतिक्रिया आए । धेरैले समर्थन जनाए, कतिपयले त्यसको आलोचना गरे, कतिपयले आवेगमा गाली पनि गरे । यी व्यक्तिका विचार हुन् । विकासदेखि बिमुख राज्यप्रतिको रोषका बाछिटाहरू पनि हुन् । सबै स्वीकार्य छन् ।

त्यसअघिका दुई उदेक लाग्दा घटनामा प्रवेश गरौं ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई चुनावका बेला मतपत्र च्यातेर जिताएको भन्दै प्रकाश कँडेल नामका एक पूर्वगुरिल्लाले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण’को नाममा कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापित गरेको ‘धुर्मुस–सुन्तली फाउन्डेशन’ले लगाएको जस्ताको घेरा र तारबार भत्काए । लगत्तै सीताराम भक्कानिए, त्यसको भोलीपल्ट कुञ्जनाको आवेग पनि हेरियो, सुनियो । उनको शव्दवाण त्यति सजिलो र सहज थिएन, जुन एक कलाकारमा हुनुपर्ने थियो । यसबारेमा मध्यतिर तर्क गरौंला ।

पहिला, कँडेलमाथि चर्चा गरौं ।

उनी तिने पात्र हुन् जसले स्थानीय तहको निर्वाचनको मत परिणामका क्रममा मेयर रेणुलाई जिताउनका लागि मतपत्र च्याते, केही समय हिरासतमा पनि बसे । गृहमन्त्री रामबहादुर थापा बादलका असली सिपाही भएको पनि, विभिन्न मिडियामा चर्चा थियो । तर, व्याख्याका हिसाबले हेर्ने हो भने हिन्दु ग्रन्थमा महादेवले खरानी घस्नका लागि उत्पात मच्चाउने शक्तिसहित जन्माएका भष्मासुर जस्ता । भष्मासुरले जस्तै, कँडेलले पनि रेणुलाई जिताउनका लागि अनेक प्रकरण मच्चाए, रेणुले जितिन् । तिनै रेणुले तारबार भत्काएर उदण्ड मच्चाएपछि कँडेललाई पक्राउ गर्न लगाइ, हिरासतमा धकेलिन् । धर्म ग्रन्थमा पनि उदण्ड बनेको भष्मासुरलाई महादेवले अन्त्य गर्नुपर्ने परिस्थिति आयो र भगवान विष्णुको मद्दत लिएको उल्लेख नै छन् ।

यो फाउन्डेशनले अझ यसअघि महत्वकांक्षी योजना अघि सारेको थियो– नेपाल भित्रको नेपाल । जहाँ हरेक जातजाती, भाषाभाषी र भेषभूषाका परिवारलाई प्रत्यक्ष बसोबास गर्ने व्यवस्था मिलाइने । अनेक सुविधा हुने । त्यसको लागत पनि झन्डै दुई अर्ब भन्दा बढी निकालिएको थियो । त्यो परियोजना कहाँ पुग्यो ? किन रोकियो ?

देवी ज्ञवालीलाई पराजित गर्नका लागि उपयोग गरिएका कँडेल रेणुका लागि घातक बन्थे भन्नेमा दुईमत नै थिएन । किनभने उनकै जोखिमका आधारमा रेणुको जित सुनिश्चित भएको थियो । निर्वाचन आयोगले चाहेको भए कँडेललाई लामो समय जेल हाल्न सक्थ्यो । त्यहाँ पनि ‘पावर ब्रोकर’को चलखेल भयो र उनी उदण्डताका साथ बाहिर निस्किए । कँडेलले तारबार भत्काउने मात्र होइन, यसबाहेकका चितवनाका ठेक्कालगायतका अनेक प्रकरणमा पनि उत्पात मच्चाएका सूचनाहरू प्रवाह भइरहेका छन्, भष्मासुर जस्तै । यो हक, प्राधिकार कँडेलले राख्छन् या राख्दैनन् त्यसको व्याख्या होला । विध्वंश मच्चाउनु गलत थियो, त्यसको समर्थन गर्न सकिँदैन ।

प्रश्न केचाहिँ हो भने यसलाई कारण देखाएर फाउन्डेशनले किन काम स्थगन गर्ने हठात् निर्णय लियो ? सीतारामको रोदन र खसेका आँसु यथार्थ थिए होला तर त्यसको असर र प्रयोग के–का लागि थियो ? शंका गर्ने प्रशस्त आधार छन् । कुञ्जनाको आक्रोश किन यति बलियो बनिदियो ? यसमा पनि शंका गर्ने आधार छन् ।

सीतारामको यो पितुर्के दृश्यले एउटा विषय प्रस्ट पार्छ– उनले परियोजना घोषणा गर्ने र थाल्ने होइन । हौसिएर ठूला घोषणा गर्दा त्यसलाई पूरा गर्न कठिन हुन्छ । बाधा र व्यावधानसँग लड्नसक्ने जोखिमको अध्ययन नगरी यी ठूला परियोजनामा हात हाल्ने होइन भन्ने शिक्षा पनि भयो होला । रंगशालाको परियोजना अगाडि आउनासाथ विरोधाभाष नभएको होइन । खाडी, मलेसीयालगायतका मुलुकमा पनि सहयोग गर्ने कि नगर्ने भन्ने ठूलो बहस सामाजिक सञ्जालसम्म पनि चलेको थियो ।

यो फाउन्डेशनले अझ यसअघि महत्वकांक्षी योजना अघि सारेको थियो– नेपाल भित्रको नेपाल । जहाँ हरेक जातजाती, भाषाभाषी र भेषभूषाका परिवारलाई प्रत्यक्ष बसोबास गर्ने व्यवस्था मिलाइने । अनेक सुविधा हुने । त्यसको लागत पनि झन्डै दुई अर्ब भन्दा बढी निकालिएको थियो । त्यो परियोजना कहाँ पुग्यो ? किन रोकियो ? के, फाउन्डेशनले यति ठूलो परियोजना घोषणा गर्न हुने थियो ? यी प्रश्नका उत्तर सीताराम कुञ्जनाले दिन सक्लान या नसक्लान् ? मिडियाबाजीको ठूलो प्रयोगले अति महत्वकांक्षी बन्न सकिएला तर फाउन्डेशनले चुपचाप काम गर्न सक्छ भन्ने उदाहरण श्वेता श्री फाउन्डेशनको काम पनि हो ।

फाउन्डेशनको सीमा र काम

अर्थ र जिम्मेवारीका हिसाबले काम गरी अघि बढ्नुपर्छ । धुर्मुस सुन्तली फाउन्डेशनको सीमा, काम र कर्तव्य के हो ? पहिलो त फाउन्डेशनको अर्थबाट जाऔं । क्याम्ब्रिज डिक्सनरीलाई आधार मान्ने हो भने फाउन्डेशनको अर्थ– एउटा गैरनाफामूलक संस्था जसले केही रकम कुनै खास समूह वा व्यक्तिको सहयोग र अध्ययनका लागि दिने गर्दछ ।

बुझ्न के आवश्यक छ भने, फाउन्डेशनले कस्ता काम गर्छन्, कसरी गर्छन् भन्ने हो । अमेरिकी मुलुकको भन्दा त्यहाँको एउटा कम्पनी एप्पलको बार्षिक बजेट धेरै हुन्छ । सामाजिक कामका लागि उसले पनि फाउन्डेशन स्थापना गरेको छ । तर, मुलुकको कर्तव्यभित्र पर्ने परियोजनामा उसको लगानी हुँदैन । जब, परियोजनामा लगानी हुन्छ त्यो फाउन्डेशन रहँदैन, त्यसले राज्यलाई कर तिर्नुपर्छ ।

यस्ता कर अनेक प्रकारका हुन्छन् । सामग्री खरिद, कर्मचारी, श्रमिकको आयकरलगायतका अनेकथरी । फाउन्डेशमार्फत कर नतिर्ने भएकाले नै त्यो सामाजिक कामका लागि खर्च गर्न सरकारले अनुमति दिएको हुन्छ । जसलाई विश्वका मनग्गे नाफा कमाउने कम्पनीले नाफाको संचित प्रतिशतचाहिँ ‘सोसीयल वेलफेयर’ भनेर फाउन्डेशन मार्फत वितरण गर्छन् । उक्त रकम उपचार नपाएका गम्भिर बिरामी, स्वास्थ्य संस्था निर्माण, कट्टेलले गरे जस्तै भूकम्पपीडित बस्ती निर्माण, मुसहर बस्ती निर्माण, शौचालय अथवा सामाजिक कामका लागि हुन्छ । यस्तो नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि मनग्गे हिसाबले काम गरेको पाइन्छ ।

सीताराम, कुञ्जनाले पनि के बुझ्न जरुरी छ भने राज्यभन्दा लोकप्रिय बन्न सकिएला परियोजनामार्फत तर यसले सफलता पायो भने राज्य विकास र जिम्मेवारीबाट बिमुख हुन्छ । उसलाई जिम्मेबारीको सम्मुखमा ल्याउनका लागि पनि फाउन्डेशको कानुनी सीमामा बाँधिन आवश्यक छ

उदाहरणका लागि संसारकै बलियो उद्योग टाटा कम्पनीको सोसियल वेलफेयर फन्ड पनि टाटा फाउन्डेशनमार्फत यस्तै काममा मात्र लगानी हुने गरेका छन् । उसले नीजि प्रयोजनका लागि कुनै निर्माण सहयोग गर्छ भने फाउन्डेशनको रकममार्फत हुँदैन, कम्पनीको बजेटमार्फत हुन्छ । तर चन्दा उठाउने काम पटक्कै गर्न मिल्दैन । अर्को, सिताराम, कुञ्जनाभन्दा पनि सामाजिक काममा सक्रिय रहेका बलिउड कलाकारलाई हेरम् । सलमान खान फाउन्डेशनले क्यान्सरपीडित बालबालिकालगायतका लागि सहयोग गर्छ । उनको सहयोग रकम कमाईबाट मात्र अपुग हुने भएपछि ‘विइङ ह्युम्यान’को सोसियल फन्ड कलेक्शनका लागि लत्ताकपडाको उत्पादनको प्रयोग गरे । तर, विकासका काममा उक्त फाउन्डेशनले एक रूपैंया पनि लगानी गर्दैन, यहि नियम हो । बलिउडमा त यस्ता कयन उदाहरण छन् । मरिरहेका किसानको कतिपय ऋण सोसियल फन्डमार्फत अमिताभ बच्चनले भर्खरै मात्र तिरिदिएको समाचार धेरैले पढेको हुनुपर्छ । तर, उनले राज्यले गर्नुपर्ने आधारभूत परियोजनामा कुनै सहयोग गरेका छैनन् । बरु, राज्यलाई ठूलो करचाहिँ तिरेका छन्, त्यहि करमार्फत नै परियोजना बन्नुपर्छ भन्ने उनको पनि अवधारणा रहँदै आएको छ ।

सीताराम, कुञ्जना फाउन्डेशनलाई सुझाव पनि छ– राज्यभन्दा माथि कोही पनि हुँदैन । मानवीय संवेदनाको जोडबल भनेको परियोजना निर्माणको घोषणा होइन । यसमा राज्य पनि चुकेको छ । सस्तो लोकप्रियताका लागि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले फाउन्डेशनसँग ‘एमओयु’ नै गरेकी थिइन्, ठूलो कार्यक्रममार्फत । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली त्यसका प्रमूख अतिथि र वेटिङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत त्यसका साक्षी । के, यो परियोजना निर्माणको घोषणा हुनु नै वैधानिक थियो र ? यसको उत्तर खोजौं । आवेश, उत्तेजना र आवेग क्षणिक हुन्छन् । तर, राज्यको दायित्व अलग हुन्छ । यी विषयलाई विश्लेषण गरेरै राज्यको एउटा सीमा कोरिनुपर्छ । सीताराम, कुञ्जनाले पनि के बुझ्न जरुरी छ भने राज्यभन्दा लोकप्रिय बन्न सकिएला परियोजनामार्फत तर यसले सफलता पायो भने राज्य विकास र जिम्मेवारीबाट बिमुख हुन्छ । उसलाई जिम्मेबारीको सम्मुखमा ल्याउनका लागि पनि फाउन्डेशको कानुनी सीमामा बाँधिन आवश्यक छ ।

सीताराम, कुञ्जना फाउन्डेशनले गरेका बस्ती निर्माण, वीर अस्पताल सरसफाई स्वागतयोग्य हुन् । जुन गरिब र आम नागरिकका लागि स्वागत योग्य छन् । यसबाहेक त्यहि वीर अस्पताल अघि मृगौला पीडित, भरतपुरमै पनि उपचार खर्च नपाएका क्यान्सरपीडितका लागि फाउन्डेशनको काम हुनुपथ्र्यो नकी परियोजनामा । अगाडि मरिरहेको मान्छेलाई हेक्का नराखी, परियोजनामा सक्रियता देखाउनु फाउन्डेशनको कर्तव्य र सीमाभन्दा बाहिरको काम हो, यो आलोचना होइन सुझाव हो ।

राज्यको लाचारीपन

नीति तथा कार्यक्रम र बजेट भाषणमै पनि उक्त रंगशालाका निम्ति ‘विशेष बजेट’ राज्यका तर्फबाट छुट्याएको देखिएन । घोषणाका बेला प्रधानमन्त्री ओली नै सहभागी भएको उक्त परियोजनाका निम्ति सरकारले किन रकम छुट्याएन ? यहाँ बुझ्न जरुरी छ । संघीय सरकारले भरतपुर महानगरपालिका र फाउन्डेशनले ‘एमओयु’ साझा समझदारी सम्झौतापत्रमा हस्ताक्षर गरेर जिम्मेवारी लिएका कारणले नै बजेट विनियोजन गरेन ।

विभागीय मन्त्रालयबाट शक्तिको पहुँचका आधारमा बजेट कटौती गरेर केही रकम दिने निर्णय हुन सक्ला । तर त्यो औपचारिकता मात्र हुनेछ । क्रिकेटमा विश्व परिवेशमा उदाइरहेको नेपालका निम्ति अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निम्ति राज्य बिमुख हुन पाउँछ त ? कसका कारणले भयो ? सोच्नुहोस्, यो फाउन्डेशनले पाएको तामझामको प्राधिकार र महानगरपालिकाले देखाएको प्रचारतन्त्रको शिकार भएन ? त्यतिमात्र होइन, राज्यले किर्तिपुर क्रिकेट रंगशाला, मूलपानी रंगशालाका निम्ति पनि बजेटमा उच्च प्राथमिकता दिएन, कसका कारणले राज्य बिमुख भयो त ? यहाँ उत्तर खोजौं ।

रंगशाला बन्नुपर्छ । यो मुलुक विकासको प्रमूख आधार मध्ये एक हो । बनाउन हरेक क्षेत्रका व्यक्तिको जोडबल हुनुपर्छ । सीतारामले पनि गर्नुपर्छ, लेखकले पनि गर्नुपर्छ । पत्रकार वा कलाकारले राज्यलाई घचघच्याउनुपर्छ, कुनै आमुख फन्डको खोजीमा मुलुकलाई बैतर्णी तार्छु भन्ने जोखिम उठाइयो भने, सीतारामहरूले यसैगरी डाँको छाडेर रुनुपर्छ

राज्यले स्थानीय तहका हरेक निकायसम्म खेलग्रामको कुरा ल्यायो तर ठूला र बृहत्तर लगानी हुनसक्ने खेल स्टेडियमका लागि बजेट किन ल्याएन ? राज्यले ठान्यो– यसैगरी फाउन्डेशनलगायतले बनाउनेछन् । यो बिमुख बनाउने काममा योगदान फाउन्डेशनको छैन ? फाउन्डेशनले के गर्ने र नगर्ने भन्ने मैले माथि नै उल्लेख गरिदिएको छु । यस्तो सोच र विचारमा उत्रिने राज्यलाई लाचार, गैरजिम्मेवार र खेलाडीको वृत्तिविकास र आवश्यकमाथि तुसारापात गर्ने तत्व भन्न मन लाग्छ ।

यद्यपि, रंगशाला बन्नुपर्छ । यो मुलुक विकासको प्रमूख आधार मध्ये एक हो । बनाउन हरेक क्षेत्रका व्यक्तिको जोडबल हुनुपर्छ । सीतारामले पनि गर्नुपर्छ, लेखकले पनि गर्नुपर्छ । पत्रकार वा कलाकारले राज्यलाई घचघच्याउनुपर्छ, कुनै आमुख फन्डको खोजीमा मुलुकलाई बैतर्णी तार्छु भन्ने जोखिम उठाइयो भने, सीतारामहरूले यसैगरी डाँको छाडेर रुनुपर्छ । आफ्नो कर्म, जिम्मेवारी र त्यसको सीमाको हेक्का राखी अघि बढ्नुपर्छ भन्ने नै आजको इमानदार मान्यता हो । काम गर्दै जाँदा कमिशनतन्त्र, लुटतन्त्रको अभ्यासमा रमाउनेहरू व्यावधान गर्न आउने जोखिम भोली पनि रहन्छ । यद्यपि, सुरु भएको यो काम सम्पन्न गर्न सक्ने ताकत मिलोस् यसमा राज्य लाचार नबनी सघाउनका लागि तत्पर बनोस् । जे थालियो, त्यो पूरा होस् भन्ने शुभेच्छासहित बिट मार्छु ।

प्रतिक्रिया
सम्बन्धित