मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

प्रचण्ड विश्वविद्यालयको नयाँ कोतपर्व !

विनोद ढकाल २०७६ जेठ १५ गते १२:०३

कम्युनिस्ट विचारलाई कुनै बेला प्रबर्द्धन गरेका प्रेम कैदी आजभोली मिडियाका अनेक माध्यम र मञ्चहरूमा जंगिरहेको भेटिन्छन् । नेपालमा कम्युनिस्ट सत्ता स्थापना हुँदा समेत उनको पारो तात्नुको गुह्य कारणचाहिँ अव्यवस्था, विदेशी हस्तक्षेपको अनुमोदन, भ्रष्टाचारले डाँडा काट्नु रहेको उनकै तर्कले देखाउँछ । उनले कता–कता विप्लव माओवादीको कामलाईचाहिँ समर्थन गरेजस्तो पनि प्रतीत हुन्छ । कुन सीमासम्म हो, त्यो कैदीले भन्न सक्लान् । तर उनको पनि निचोड छ– यो प्रचण्ड विश्वविद्यालयले इतिहासमा नमेटिनेगरी संस्थागत गरेको पाठ्यक्रम हो । जहाँ बारुद र बन्दुकले मात्र परिवर्तन हुन सक्छ भन्ने ‘स्कुलिङ’को प्रभाव देखिन्छ ।

विश्वमा हिंसाको राजनीति चलिरहँदा तत्कालिन राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव गरेका थिए । सोही क्रममा भारतीय प्रधानमन्त्री राजीव गान्धी प्रशासनले नेपालको यो प्रस्तावलाई स्वीकार गरेन, अर्कातिरबाट हिंसाको राजनीति सुरु भयो, पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा । बम र बारुद, बन्दुक र गोलीमा क्रान्ति र माओवादको छायाँ देखाउन थालियो, मुक्तिका नाममा विद्यालय शिक्षामा हिँडेका अवोध बालबालिकालाई बारुदको विश्वविद्यालयमा धकेलियो । एक विन्दुमा आएर तिनलाई सत्ताको बाटो बनाइएको प्रमाणका रूपमा लेलिन विष्टहरू देखा परे । जो अहिले प्रचण्डविरुद्ध विश्वका विभिन्न द्वारमा न्यायको पत्र थमाउँदै हिँडिरहेका छन् । त्यसभित्रका नीहित स्वार्थ कुन कुन कैफियतमा राखेर हेर्ने, फरक व्याख्या हुन सक्लान् । तर, यथार्थको धरातलचाहिँ युद्ध नै थियो, प्रयोग नै हो, उपयोग नै हो, शंका छैन ।

लोकतान्त्रिक पद्दती र गणतान्त्रिक मान्यतालाई अंगीकार गरेका हामी नेपाली कुनै पनि हिंसाको विपक्षमा छौं । चाहे त्यो हिजोको भनौं अथवा आज विप्लवले कम्युनिस्ट पार्टीका नाममा गरिरहेको होस् ।

राजनीति र क्रान्तिका नाममा ‘बकाइनो रोपेर टिमुर’ फल्छ भन्ने विश्वास राख्नु गलत हुन्छ । हिंसात्मक राजनीतिका हेडमास्टर प्रचण्डलाई सुझाव छ– आफैंले पढाउँदाको पाठ ठिक र त्यसको बिम्बित अभ्यास गलत भन्न सुहाउँछ ? यदि गलत हो भने हिजोको विद्रोहमा माफी मागी, सत्य निरुपण र मेलमिलाप आयोगको काम अघि बढाएर द्वन्द्व समाधान भएको सन्देश किन दिन सकिएन ?

यस अर्थमा, प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई आतंककारी समूह भन्नु कुनै अस्वभाविक होइन । ओली जति आक्रामक पारामा प्रस्तुत भएर भने पनि त्यसलाई असहज मान्न पर्दैन, किनभने ओलीले बन्दुक र बारुदको राजनीतिलाई सहज मानेकै थिएनन् । हिजो, तत्कालिन माओवादीका गतिविधि विरुद्धपनि उनले कडा शव्द खर्च गरेकै थिए । यसमा नौलो कुरा छैन । ओली आफैंलेचाहिँ टाउको काटेको भन्ने सन्दर्भ पनि त्यसमा आउन सक्ला, प्रश्न खडा हुन सक्ला । १४ बर्ष जेल जीवन बिताएपछि उनले त्यहाँबाट सिकेको पाठ नै अहिंसाको राजनीति थियो, त्यसपछिका दिनमा उनी शाव्दि प्रहारमा कठोर भएको देखिन्छ, भौतिकमा छैनन् । यसको उदाहरण, ओली प्रशासनले प्रतिबन्ध गरे पनि कठोर कदम नचाल्नु हो । अर्थात्, गोलीका बर्षा नगर्नु हो । ओली आक्रामक हुने भए, तिर्थराज घिमिरेमात्र होइन, अनेक नेता इन्काउन्टरमा पर्न सक्थे । यसलाई नजरअन्दाज गरेर बोल्नचाहिँ मिल्दैन । यद्यपि, सरकारका अन्य काम कारबाहीका बारेमा चित्त नबुझोस् ।

बम विस्फोटमा मारिएका विप्लव कार्यकर्ता आफ्नै दोषका शिकार भए । तिनलाई श्रद्धाञ्जली दिँदै गर्दा विप्लवले राज्यमाथि लगाएको आरोपको समर्थन गर्न सकिँदैन । यो केपी–पिके प्रशासनका कारण भएको होइन, विप्लवले हिंसामा लाग्नका लागि दिएको अपूर्ण ज्ञानको कारक थियो । यसलाई उक्त समूहले स्वीकार गर्न सकोस् ।

१३, जेठका दिन विप्लव समूहले बन्द गरेको दिन, विभिन्न ठाउँमा बम फेला परे । बरु, काफल यति सस्तो भएन कि त्यति धेरै बम फेला परे । कयन गाडीमा आगजनी पनि भए । कति ठाउँमा प्रहार पनि भए । यो हिंसाको एउटा परिदृश्य थियो । पक्कै पनि बम पड्काउन पाइँदैन । तर बमको स्कुलिङका आधारमा राजनीति गरेको समूहले के गर्न जानेको हुन सक्ला ? यो एउटा प्रश्न हो ।

अर्को, यहि सन्दर्भमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिराटनगरमा व्यापारीको भेला उद्घाटन गर्न जाँदै गर्दा भने,‘विप्लवले हिंसाबाट, बम राखेर राजनीतिक अभिष्ट पुरा हुन्छ भन्नु गलत हो ।’

आलेखको मूल प्रश्न यहाँबाट सुरु गरौं । प्रचण्डलाई अहिले पनि अंगभंग भएका पूर्व लडाकू, वेपत्ता भएका नागरिकका परिवार, युद्धका नाममा मारिएका परिवारलगायतले प्रश्न गरिरहेका छन् । त्यतिमात्र होइन, नेपालको संक्रमणकालिन न्यायको विषयमा पनि उनीमाथि ठूलो प्रश्न अगाडि नै छ । यहि बेला विप्लव समूहको हिंसाको राजनीति अघि बढ्दै गर्दा उनले गलत भन्ने कि त्यसको व्यवस्थापकीय भूमिकामा आफूलाई उभ्याउने ? प्रचण्डले राजनीतिका नाममा हिंसाको ठूलो आकार र प्रकारलाई रोपेकै थिए । भलै एउटा १२ बुँदे सम्झौताको नाममा त्यो आंशिक अन्त्य भएको विप्लव समूहका हर्कतले पुष्टि गरिरहेकै छ । राजनीति र क्रान्तिका नाममा ‘बकाइनो रोपेर टिमुर’ फल्छ भन्ने विश्वास राख्नु गलत हुन्छ । हिंसात्मक राजनीतिका हेडमास्टर प्रचण्डलाई सुझाव छ– आफैंले पढाउँदाको पाठ ठिक र त्यसको बिम्बित अभ्यास गलत भन्न सुहाउँछ ? यदि गलत हो भने हिजोको विद्रोहमा माफी मागी, सत्य निरुपण र मेलमिलाप आयोगको काम अघि बढाएर द्वन्द्व समाधान भएको सन्देश किन दिन सकिएन ? अन्यथा प्रश्नहरूको थाकले प्रचण्डलाई किच्नेछ ।

यहि प्रसङ्गको निरन्तरता एउटा, बाँदरमुढेमा एकै पटक दर्जनौंको चिहान बनाउँदा नचिमोटिएको मन आफ्नै आँगन जाने बाटोमा लडेको बम देख्दा, हिंसा लाग्न किन थाल्यो ? यो स्कुलिङको हेडमास्टरले आफैंले पढाएको शिक्षा गलत हो भन्दा मन कति भारी बन्यो होला ? प्रचण्डलाई सोध्न चहान्छु– त्यो हृदयको तौल कति भयो होला ? के हामी यो श्रृङ्खलाको सुरुआतलाई पनि नयाँ कोतपर्व भन्न सक्छौं ?

तत्कालिन माओवादी विद्रोहीले दरबार हत्याकाण्डलाई ‘नयाँ कोतपर्व’ भनेका थिए । त्यस क्रममा केही मानिसको हत्या भएको थियो । तर, गणतन्त्र नेपालको सत्तास्वादमा पुगिसकेका प्रचण्डको त्यो बिद्रोह अथवा युद्ध, त्यसैको बाछिटाका रूपमा उदाएको विप्लवको हिंसात्मक गतिविधिलाई किन कोतपर्व नभन्ने ? १७ औं हजारको बली चढाएर सत्तालिनमा हिँडेको अवस्था, यसलाई सबैले मानेको उपलब्धी र नयाँ सत्ताले मुलुकमा देखाएको भ्रष्टाचारको चाङचुलीमाथि विश्लेषण गर्दा भन्न मन लाग्छ, यो प्रचण्ड विश्वविद्यालयको कोतपर्व हो । जसको एक अंशका रूपमा विप्लवहरूको सक्रियता बम र बारुदसँगै हुर्किरहेको छ, अर्को अंश त्यसविरुद्ध गोलीको साहरामा बादलहरूका नाममा सक्रिय छन् ।

यो कोतपर्वका पनि दुई वटा विश्लेषण गर्नैपर्ने पाटा छन् । एउटा प्रचण्डले आफूलाई क्रान्तिबाट उदाएको भनी शान्तिमार्गी बताएको प्रसङ्ग र अर्को त्यहिँ भित्रबाट उदाएको क्रान्ति गरिरहेको बताउने विप्लवको तमासा । यी दुई मध्ये कुनचाहिँ क्रान्ति हुन् ?

प्रचण्ड व्यक्तिका रूपमा होइन, संस्था र विचारका रूपमा स्थापित व्यक्तित्व भएकाले यति व्याख्या गरिएको हो । व्यक्तिगत रूपमा प्रचण्डमाथि विश्लेषण गर्ने हो भने उनी जत्तिको पीडित कोही पनि देखिँदैनन् । एउटा पति, बाऊ र जिम्मेबार अभिभावकको हिसाबमा उनको व्याख्या गर्ने हो भने बेदनाको अर्को प्रारूप देखा पर्छ

अरे, नेकपाका अध्यक्ष ज्यू, क्रान्तिका विषयमा त संसारका भयंकर ठूला शासकले पनि व्याख्या गरेकै थिए । त्यसको उदाहरण हुन्, जर्मनका शासक एडोल्फ हिटलर । हिटलरले भनेका थिए– यदि म क्रान्तिकारी भएर उभिएको छु भने त्यो क्रान्तिकै विरुद्धको क्रान्तिकारीता हो ।

विप्लवले आफ्ना गतिविधिलाई क्रान्ति भनिरहेका छन्, प्रचण्ड त्यो क्रान्ति हुनै नसक्ने बताइरहेका छन् । प्रचण्डले आज हिटलरका जस्ता कुरा गरेको सुन्दा उदेक लाग्दैन त ? खासगरी, हिंसाको बारेमा । हिंसा न हिजो ठिक थियो, न आज ठिक छ । हिंसा भनेको, विध्वंश भनेको हिजो या आज सँधैभरी गलत नै हुन्छ । इतिहासँमा हिंसाको कुनै ठाउँ छैन । त्यसको सँधैभरी अलोचनामात्र भएको थियो र छ । आज हामी जंगबहादुर राणाले मच्चाएको कोतपर्वलाई उत्सव मान्न नसक्नु पनि त्यसैको बिम्ब हो ।

अब के ? 

प्रचण्ड व्यक्तिका रूपमा होइन, संस्था र विचारका रूपमा स्थापित व्यक्तित्व भएकाले यति व्याख्या गरिएको हो । व्यक्तिगत रूपमा प्रचण्डमाथि विश्लेषण गर्ने हो भने उनी जत्तिको पीडित कोही पनि देखिँदैनन् । एउटा पति, बाऊ र जिम्मेबार अभिभावकको हिसाबमा उनको व्याख्या गर्ने हो भने बेदनाको अर्को प्रारूप देखा पर्छ । त्यसतिर अहिले नजाऔं ।

तर विचार र नेताका रूपमा व्याख्या गर्ने हो भने उनको नायकी कति काम लागेको छ, त्यो वर्तमान सत्ताले विश्लेषण गरिरहेको छ । उनको खलनायकीको छायाँचाहिँ आम नेपालीले भोग्न थालेको हिंसाको त्रासले व्याख्या गरिरहेको छ ।

परिवर्तन र सत्ताको जस लिने हो भने, यो मुलुकमा पहिला अमनचयन हुनुपर्छ । त्यसपछि भ्रष्ट, दलाल, बिचौलिया, परिवारवादको छायाँबाट सत्तालाई अलग राखी जनमैत्री बनाउने काममा प्रचण्ड नै अग्रसर हुनुपर्छ । यो सम्भावना पनि उनीबाट मात्र पूरा हुन सक्ने देखिन्छ । परिवर्तनलाई स्वीकार गर्नैै नसक्ने, परम्परावादी सत्ताको स्वादमा रहेका व्यक्ति त अहिले पनि शक्तिमा नै छन् । उनले हिजो देखेको विरासत र शक्तिको दुरुपयोग त निरन्तर गरि नै रहनेछन् । यसकारण सत्ता छाड्न चहाँदैनन् । अब, प्रचण्ड आफैंले सुरु गरेको राजनीतिक विश्वविद्यालयबाट हिंसाको अस्तु नामेट बनाउनुपर्छ । त्यो हो, संक्रमणकालिन न्यायको विषय टुंगो लगाउनु । समाजमा मानवीय चेतको स्थापना गराउनु ।

पहिलो पटक तत्कालिन माओवादीको आम सभा खुलामञ्चमा हुँदा प्रचण्डले भनेका थिए,‘कि यो देशमा जंगबहादुर चाहिन्छ कि बुद्ध ।’ कोतपर्व मच्चाउने जंगबहादुर नेपाली जनतालाई चाहिएको छैन अध्यक्ष ज्यू, शान्तिको मार्गबाट दिव्य उपदेश दिने बुद्ध चाहिएको हो । त्यो बुद्धको खोजी आम नेपालीले गरेका छन् । त्यसलाई खोजेर स्थापित गर्ने जिम्मेवारी प्रचण्डकै हो । त्यसबेला मात्र सम्भव हुनसक्छ– जब यो मुलुकको अबौं रकम स्विस बैंकमा राखेर नेपाली जन–जनको टाउकोमा ३५ हजार ऋण थुपार्ने कालाबजारीका नाइकेहरू खोरमा हाली, अहिलेको पुस्तामा आधुनिक राजनीतिको सञ्चार गर्न सम्भव हुनेछ । भरौटे, हुक्के र ढोकेलाई पाखा लगाई असाधारण क्षमता भएका जनताका छोराछोरीले मौका पाउनेछन् । अन्यथा, फेरि पनि सबै नेपालीले भन्नेछन्– पशुपतिनाथले कृपा गरुन् ।

प्रतिक्रिया
सम्बन्धित